तीनजना शिक्षक–तीन अचम्मका झलक

  
  प्रकाशित मितिः आइतवार, जेष्ठ १९, २०७०       | 123 Views   ||

लेखक : लक्ष्मीकान्त वैष्णव
अनुवाद : महेन्द्र महक

पहिलो झलक : पहिलो शिक्षक

शिक्षक (मास्टर) रित्तो झोला बोकेर खाद्यान्न भण्डार केन्द्रमा लाइनमा लागेको छ । उसका अगाडि र पछाडि थुप्रै मान्छे पनि लाइनमा उभिएका छन् । धेरै बेरदेखि मास्टर लाइनमा उभिएको छ । उसको पछाडिका मान्छेहरु उसलाई ठेल्दै पेल्दै अगाडि बढिरहेका छन् । मास्टर अगाडि बढ्नका लागि रस्साकस्सी गर्छ तर यही बेला अर्को भुसतिघ्रे मान्छेले उसको पेटमा कुहिनाले बजाउँछ । मारको पीडा असहृय भएपछि पेट मिच्दै भुइँमा थचारिन्छ ।

– पेटमा किन हानिस् ?
– त्यसो भए फेरि उठ, म तिम्रो ढाडमा बजाउँछु । मास्टर डराएर चुपचाप बसिरहन्छ ।
– म बुद्धिजीवी हुँ, मेरो पेटमा यसरी मुड्की बजार्न लाज लागेन !
– यहाँ बुद्धिको केही काम छैन । लठ्ठी छ भने भैंसी हकारे हुन्छ, नत्र भने रित्तो झोला बोक्ने जाने !
– तर, ममाथि भावी पींढी निर्माणको दायित्व छ । मैले खाद्यान्न पाइनँ भने मैले खाने के ? खाइनँ भने के पढाउने ?
– बकबास बन्द गर ! दायित्वको कुरा गर्छ । दुइ कौडीको मास्टरले पनि पींढी निर्माणको कुरा गर्छ बा ! अहिलेको पींढीलाई तेरो आवश्यकता नै छैन । उसले आप्mनो निर्माण आपैmले गरिरहेको छ । पींढी निर्माणको कुरा गरेर तैंले आप्mनो औकात बिर्सिदै छस् । तेरो औकात नै के छ– यही पींढीले दिएको फीसको बलमा तेरो गुजारा चल्छ ।
पछाडि उभिएका दुइजना सज्जनहरु आएर मास्टरलाई उभिन सघाउँछन् । उसले अझैं पनि हातले आफ्नो पेट थिचिराखेको छ । पेट सुम्सुम्याइरहेको छ ।

– के हो मास्टर सा’ब तपाइँ मास्टर भएर पनि नाटक गर्नुहुन्छ ? –धर्मात्मा नम्बर एकले भन्यो ।
– नाटक कसले गर्दैछ र ? मेरो पेटमा मुड्कीले हानियो । एउटा शिक्षकको पेटमा यसरी हान्न लाज लाग्नुपथ्र्यो ।
– लात्तीले हानेको होइन क्यारे । पेटमा लात हान्नु पो पाप हो, कुहिनाले हान्नु त पाप होइन । –मार्ने मान्छेको स्वर ।
– अब लात्तीले हिर्काउने इच्छा मनमा बाँकी रहेको छ भने त्यो पनि गरिहाल न । –मास्टरले गान्धीवादी बोलीमा भन्यो ।
मार्ने मान्छेले लात्तीले हिर्काउनका लागि लात्ती उठाउँछ ।
– ए ! ए ! के गर्दैछौ ? –धर्मात्मा नम्बर एकले भन्यो ।
– मार ! मार ! गरीब मास्टरलाई जसले पनि लात्ता हान्छ । मास्टरको दयनीय स्वर ।
–अब आपैmले भनिरहेको छ भने बिचरालाई लात्ता पनि हिर्काइहाल । धर्मात्मा नम्बर दुइको बोली ।
मार्नेवालाले लातले हिर्काउँछ । मास्टर पेटमा लात पर्नेबित्तिकै चित्त खाएर भुइँमा पछारिन्छ । मार्ने मान्छे र दुवै धर्मात्मा मिलेर उसलाई घिसार्दै लाइनभन्दा बाहिर पु¥याउँछन् । तीनै जनाको मुहारमा लाइनमा एक जना कम भएकोमा प्रसन्नताको भाव छ ।
– यो त बेहोस भएजस्तो छ । मार्नेवालाले भन्छ ।
– पींढी निर्माणको दायित्व बेहोस पल्टिएको छ । धर्मात्मा एकको आवाज ।
– बिचरो ! धर्मात्मा दुइले मुख बनाउँछ ।
– ए ! ए ! धेरै बिचरो बिचरो न भन । धेरै दया देखायौ भने फेरि लाइनमा आएर उभिएला नि ! मार्नेवालाले भन्यो ।
बेहोस मास्टर कराउँदै आँखा खोल्छ । मार्नेवाला, धर्मात्मा एक र धर्मात्मा दुइ तीनै जना मरिमरि हाँसिरहेका हुन्छन् ।

झलक दुइ : दोस्रो शिक्षक

स्थान : मास्टरको कोठा ।
समय : दिउँसोको बाह्र बजेको छ ।
तापमान : पसिना बगिरहेको छ ।
वातावरण : कोठाबाहिर हावाको लू अनि कोठाभित्र पसिनाको बू (दुर्गन्ध) ।
पात्र : मास्टर र एक जना बीमा एजेन्ट भुइँमा गुन्द्री ओछ्याएर कुरा गरिरहेका छन् ।
– बीमा गराउनुभयो ?
– छैन ।
– केटाकेटी कति छन् ?
– सात ।
– सात ! सात–सात जना किन ?
– के गरुँ ? अब बच्चा हुन पनि बन्द भइसक्यो ।
– श्रीमती त एउटी मात्रै हो ?
– हो, एउटी मात्रै । तर त्यही पनि अब पूरा बचेकी छैन, अधमरी भइसकी !
– उसो भए कतिको बीमा बनाऊँ ?
– मलाई बीमा गराउनु छैन ।
– किन ?
– पैसा नै बच्दैन । प्रिमियम कहाँबाट दिउँला ?
– तर पनि, सात–सात जना छोराछोरी अनि एउटी मात्र स्वास्नीको तपाइँपछिको अवस्था के होला ?
– मेरो जबमा कुनै रिस्क छैन ।
– अचम्म छ ! पढ्दा–पढ्दा तपाइँ बहुलाउनुभो भने, या तपाइँको दिमागको नसा फुट्यो भने…।
– कसरी फुट्छ ? मैले पढ्नै छोडिसकें ।
– तर मास्टरी काम त नपढेर चलाउनै सकिदैन त !
– चलाइहाल्छौं, नपढेरै चलाइहाल्छौं ।
– कसरी ?
– ‘ट्रेड सिक्रेट’ बताउनु हुँदैन के ?
– ए ! अनि कतिको बीमा बनाऊँ त ?
– मैले भनिसकें नि ! मेरो जबमा कुनै रिस्क छैन ।
– रिस्क छैन ! अचम्म छ बा ! अहिले भर्खरै एकजना मास्टरलाई चिट खोसेको अपराधमा एउटा केटाले परीक्षा हलमा नै छूरी रोपिदियो ।
– तपाइँलाई गलत जानकारी रहेछ, केटाले केवल चप्पलले हानेको थियो ।
– होइन, होइन । जानकारी तपाइँको गलत रहेछ । जुत्ता खाने शिक्षक अर्कै हो । मैले जसको कुरा गरिरहेको छु उसलाई चक्कुले नै हानिएको हो ।
– अनि के भयो ?
– अनि के ? मास्टरले दाँत बाँधिहाल्यो ।
– भनेको ?
– भनेको मास्टर म¥यो ।
– ठ्याक्कै मरिहाल्यो !
– हजुर ! तत्काल यमराजकहाँ पुग्यो । ‘इट वाज एन इन्स्टान्टेनियस डेथ ।’ मास्टर क्षणभरका लागि अचम्ममा प¥यो ।
– ल भन्नुहोस् अब, कतिको बीमा बनाऊँ ?
– मैले भनिसकें नि मेरो जबमा कुनै रिस्क छैन ।
– अचम्म पर्छु म त ! भगवान नगरोस् कि तपाइँलाई पनि कसैले चक्कु पेटमा …।
– कसरी चक्कु रोप्छ ? म त्यस्तो अवस्थाको सिर्जना नै हुन दिन्न ।
– आप्mनो नैतिक दायित्व पनि पूरा गर्नुहुन्न ? दुनियाँले तपाइँमाथि थुक्ने छ ।
– उसो भए के जुत्ता खानु वा चक्कु रोपिमाग्नु नैतिक दायित्व हो ?
– मैले त्यस्तो कहाँ भने र ? यी त नैतिक दायित्व पूरा गर्नुका परिणाम हुन् ।
– मैले यस्तो काम गर्न सक्दिनँ ।
– तर, तपाइँमाथि भावी पींढी निर्माणको दायित्व छ… तपाइँ कस्तो गैरजिम्मेवारीपूर्ण कुरा गरिरहनुभएको छ ?
– अहिले भर्खरै तपाइँले भन्नुभयो कि एकजना नैतिकताको दावेदारी गर्ने शिक्षकलाई छूरा हानेर मारियो !
– हजुर ।
– उसको नाममा कुनै रुने मान्छे छ ?
– हजुर । उसको श्रीमती ठूलो–ठूलो आवाजमा रोइरहेकी छ ।
– श्रीमतीबाहेक अरु कोही ?
– अरु कोही किन पो रुन्थ्यो ?
– उसो भए, आउनुहोस्, त्यस बिचराको नाममा हामी एकैछिन रोइदिऊँ !
– तर, रोइसकेपछि तपाइँले बीमा बनाउनुपर्छ ।
– पहिला नैतिकताको मृत्यु भएकोमा त रोइदिऊँ । त्यसपछि बीमाको विषयमा सोचौंला ।
– सोचौंला ! रोइसकेपछि पनि केवल सोचौंला ! हुन्न हुन्न । (भावुक बन्दै जान्छ) मास्टर सा’ब तपाइँ बीमा गराइहाल्नुहोस् । तपाइँमाथि भावी पींढी निर्माणको दायित्व छ । तपाइँले आप्mनो दायित्व पूरा गर्न सक्नुहुन्छ । चिट खोस्नु तपाइँको अधिकार हो, कर्तव्य हो, त्यो काम तपाइँ गर्न सक्नुहुन्छ । तपाइँ अनैतिक काम रोक्नुहुनेछ ।
स्वर दयनीय हुँदै जान्छ ।) र… उता केटाहरु चक्कु लिएर घुमिरहेका छन् मास्टर सा’ब । उनीहरुले… पक्कै पनि तपाइँलाई पनि चक्कु हान्न सक्छन् । तपाइँ पनि यमराजकहाँ पुग्न सक्नुहुन्छ । यस मास्टर, इट वील वी अ केस अफ इन्स्टान्टेनियस डेथ । अनि यसपछि… तपाइँका सात–सात अनाथ, अबोध, निर्दोष छोराछोरी र तपाइँकी एउटी मात्र निरीह, बेसहारा, अबला श्रीमतीको तपाइँको मृत्युपछि के होला ? सोच्नुहोस्, मास्टर साहब, सोच्नुहोस्… मेरा पनि सात–सातवटा छोराछोरी छन्, एउटी एकमात्र श्रीमती छिन् । तपाइँले त बीमा बनाउनैपर्छ मास्टर साहब !

बीमा एजेन्ट बेसरी रुन थाल्छ । चिच्याइ–चिच्याइ रुन थाल्छ । उसको भावभंगीमाबाट यस्तो लाग्छ कि आप्mनै दुःख बाट दुःखी भएर रोइरहेको छ । मास्टर पनि उसको अँगालोमा आएर रुन्छ । दुवै जना धेरै बेरसम्म रोइरहन्छन् । अनि बीमा एजेन्ट आप्mना कागज, फाइल आदि बोकेर चुपचाप मास्टरको कोठाबाट बाहिरिन्छ ।

झलक तीन : तेस्रो शिक्षकको कथा

मास्टर पालथी मारेर बसेको छ । उसको चारैतिर परीक्षाका कापीहरुको थुप्रो लागेको छ । उसले पाना गनेर नम्बर दिइरहेको छ । उसको नजिकै एसएलसी फेल उसकी श्रीमती र नौ कक्षामा पढ्ने उसको ठूलो छोरा पनि बसेका छन् । सबैले कापी जाँचिरहेका छन् । परीक्षाका कापीहरु आइए, बीएदेखि लिएर एमएसम्मका छन् ।
ढोकामा आफू आएको कुनै संकेत नगरेरै दुइटा प्रतिबिम्ब कोठामा देखिन्छन् । एक जना प्रौढ मान्छे छ, अर्को फिल्मी नायकको जस्तो देखिने आवरणमा सजिएको बीस–बाइस वर्षको युवक छ ।
– हामी आउन पाउँछौं ?
– अभ्यागतहरुलाई स्वागत छ !
– के हुँदैछ ?
– आलु ताछ्दैछु । –मास्टरले यस्तो भन्न चाहन्थ्यो तर पनि उसले भन्यो, ‘हजूर, कापी जाँच्दैछु ।’
– कति कक्षाको ?
– हजूर, बीए को हो ।
– यसलाई चिन्नुहुन्छ ? ठूलो मान्छेले युवातिर संकेत गरेर भन्यो ।
– सबै ऐरेगैरेलाई चिन्नैपर्छ भन्ने के छ ? मास्टरले यस्तो भन्न चाहन्थ्यो । तर विनम्रतापूर्वक भन्यो, ‘यो भन्दा पहिला कहिल्यै भेटघाट हुने सौभाग्य प्राप्त भएन ।’
– उहाँले बीए पढ्दै हुनुहुन्छ ।
– तपाइँको दर्शन पाएर म धन्य भएँ ।
– उहाँको कापी त निकाल्नुहोस्, सर ।
– र यिनका कापीहरु पनि ! केटाले आठ दश जना थप नम्बर लेखिएको कागजको टुक्रा मास्टरको हातमा राखिदियो ।
– ए ! यिनी के तिम्रा बाऊका कापी हुन् ? मास्टरले भन्न चाहन्थ्यो । तर विनम्रतापूर्वक भन्यो, ‘यिनी सायद तपाइँका साथीहरुका कापी होलान् ।’
– हजूर । लङ्गौटिया साथीहरु हुन् ।
– अच्छा ! मैले सोचेंको थिएँ ‘फूल पेन्टीहरु’का हुन् । मास्टर सानो आवाजमा बोल्यो । अनि भन्यो– ‘तर नम्बर बढाउन अनैतिक काम हो ।’
– बढाइदिनुहोस् न ! तपाइँको के जान्छ !– साम नीति ।
– यो अनैतिक काम हो ।
– तपाइँलाई एउटा कापी जाँच गरेको कति मिल्छ ?
– हामीबाट सय रुपैयाँ लिनुहोस् । तर नम्बर बढाउनुहोस् । –दाम नीति ।
– अहँ, यो काम अनैतिक हो र म अनैतिक काम गर्न सक्दिनँ ।
–तपाइँलाई थाहा छ, यदि तपाइँले हामीले भनेको काम गर्नुभएन भने बीच चौराहामा तपाइँको छाला काढिन सक्छ । कलेजको अध्यक्ष मेरो मामा हो, तपाइँको जागिर जान सक्छ । एक–एक पैसाका लागि तपाइँले तड्पिनुपर्ने हुन सक्छ । तपाइँका छोराछोरी भीख माग्नका लागि हातमा टिनको कटौरा लिएर गल्ली–गल्ली चहार्नुपर्ने अवस्था सिर्जना हुन सक्छ ।–दण्ड नीति ।
–ज्यान जाला तर यस्तो अनैतिक काम गर्दिनँ । मेरो शरीरको चाहे टुक्रा–टुक्रा पार, मेरो शरीरको सबै रगत बगाइदेऊ तर मबाट यस्तो काम हुँदैन ।
ठूलो मान्छेले पासा पल्टियो । अब उसले भेद नीतिको अनुसरण गर्न थाल्यो ।
– अनि तपाइँले गगनको नम्बर त थपिदिनुभएको थियो नि !
– कसले भन्यो ? के प्रमाण ?
– प्रमाण त दिदै गरुँला । अनि, तपाइँले छात्रा कृष्णालाई परीक्षा हलमा चिट पु¥याइदिनुहुन्थ्यो हैन ?
– प्रमाण ?
– प्रमाण दिदै गरुँला । अनि, छात्रा रामकली र लक्ष्मीबाइसँग तपाइँको माया पिरती धेरै लामो समयसम्म चल्यो हैन ?
मास्टरको श्रीमती र छोरा उठेर भित्र जान्छन् ।
–अनि, छात्रा रामकलीका गाला सुम्सुम्याउँदै उसको कपालमा गुलाफ लगाइदिदै गर्दा चङ्गीलाल र मङ्गीलालले तपाइँलाई रङ्गेहात समातेका हुन्, होइन ?
मास्टर साहब साष्टाङ्ग दण्डवत्को मुद्रामा ठूलो मान्छेको सामु उभिन्छ ।
– पुग्यो–पुग्यो दयानिधान । अब अरु नखोल यी राजका कुराहरु ।
– उसो भए कापी खोल्नुहोस् । मास्टरले रोलनम्बर लियो र कापी खोतल्न थाल्यो ।
– अरे, यी त हिन्दीका कापी हुन् ! मसँग हिन्दीका कापी छैनन् ।
– किन ? हिन्दी त तपाइँ आपैmले पढाउनुहुन्छ, होइन र ?
– हो, तर कापी अंग्रेजीका जाँचिरहेको छु ।
– त्यस्तो किन ?
– हिन्दीको ‘इग्जामिनरशिप’ पाइएन ।
– अनि अंग्रेजीको चाहिँ पाउनुभयो !
–हजूर, मैले अंग्रेजी पनि पढेको छु । यसपछि मास्टर ‘नरो वा कुञ्जरो वा’ को स्टाइलमा विस्तारै बोल्यो– खासमा कुरा के भने नि मेरो फूपाज्यू अंग्रेजीको डिपार्टमेन्ट चीफ हुनुहुन्छ । मास्टर चार इञ्च अग्लो बिछ्यौनामा बसेको थियो । झूठो बोलेर बिछ्यौना एकातिर सर्कायो र भूँइमा नै बस्यो ।
–अचम्म छ ! पढाउने एक थोक, जाँच्ने अर्को थोक !
मास्टर अनकनायो, लाज पचाउने उपाय खोज्न थाल्यो ।
–धन कमाउने एक मात्र उपाय यही त हो । यो पेशामा रिश्वत, घुस केही पनि चल्दैन । साह्रै अनेस्ट जब हो यो । आगन्तुक दुवै जना उठेर हिड्छन् । मास्टर फेरि पन्ना गनेर नम्बर दिन थाल्छ ।

हिन्दी भाषाबाट अनुवाद गरिएको यस कथाका कथाकार लक्ष्मीकान्त वैष्णव (१९४०–१९८९) भोपाल भारतका हुन् ।
प्रकाशित मिति : २०७० बैशाख ८ गते आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *