अनि शुरु हुनेछ नयाँ इतिहास

  
  प्रकाशित मितिः आइतवार, जेष्ठ १९, २०७०       | 103 Views   ||

dangi sr lekhak-[यज्ञबहादुर डाँगी]

एउटा धर्ती छ
जसमा अचम्मको इतिहास बस्दै आएको छ
आँसु र पसिनाको दुइ नदीका दोभानमा बस्ने
गाउँका श्रमहरु के तिमीलाई थाहा छ ?
त्यस इतिहासमा अचानक आउँछन् सरकारहरु
जति आउँछन् सत्ताको उर्वरभूमिमा
दुवै हात फैलाएर खेती गर्छन्
र, पिएर जम्मै खुसीहरु भूमिको
पीडा पस्केर श्रमको थालमा
बोसो बढाउँछन् आफ्नो गाथमा
र, पल्टाएर आफ्नो आलस्यपन राजधानीमा
चोर औंलाले कोट्याउँछन् आफ्नो बहिरो कान

एउटा अनौठो इतिहास बस्दै आएको छ
त्यस इतिहासमा इतिहासदेखि
पृथ्वीको गतिका विरुद्ध ठाउँहरुलाई
अविरल त्यहीं राखिएका छन् यथावत
कहिलेकाँही कम्बल डुलाउन आए पनि बाँके–बर्दियातिर
जुम्ला– जुम्लामै छ
कहिलेकाँही भेडा डुलाउन आए पनि महाभारतको पाखातिर
कालिकोट– कालिकोटमै छ
कहिलेकाँही दुःख डुलाउन आए पनि इलाम झापातिर
ताप्लेजुङ– ताप्लेजुङमै छ
कहिलेकाँही घाउ डुलाउन आए पनि अखबारको पृष्ठतिर
कालापानी– कालापानीमै छ
कहिलेकाँही पीडा डुलाउन आए पनि हाम्रो छातीको नरम भागतिर
टनकपुर– टनकपुरमै छ
यी सबै–सबैको
मङ्गलको लागि विद्रोह गरेर
जङ्गल पसेको रोल्पा पनि
मङ्गललाई जङ्गलमै छोडेर
अहिले उही पुरानै ठाउँमा यथावत् छ
आँगनमा आएकै छैन धारो
खोल्साको खोल्सामै छ खानेपानी

राम वनबास जानु
रामको खराऊ राखेर गद्धीमा
भरतले राज गर्नुजस्तै
भर्खर–भर्खरै वनबास लेखिएको भए पनि तानाशाहको
वर्षौंदेखि उही गद्धीमा राखिएको छ उसको खराऊ

एउटा सौतेनी इतिहास बस्दै आएको छ
जब एकदिन जरुर बन्नेछ यो
एउटा अचुक लोककथा
तब सबभन्दा बढी महत्व दिएर पढ्न पाउनेछन्
संसारभरका असंख्य–असंख्य पीडितहरुले
अनि शुरु हुनेछ नयाँ इतिहास ।

प्रकाशित मिति : २०७० बैशाख ८ गते आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *