रहरले होइन सन्तान दिएको युद्धमा मर्नलाई

  
  प्रकाशित मितिः आइतवार, जेष्ठ १९, २०७०       | 124 Views   ||

Enar Stroggleरहरले होइन सन्तान दिएको युद्धमा मर्नलाई
छुट छैन तिम्लाई शहीद बेपत्ता अपमान गर्नलाई
आधा जिन्दगी गुमाइसक्यौं, घाइतेले के पायौं
निमुखा, गरिब, जनजाति सारा हामीले के पायौं ?

दश वर्षे जनयुद्धपछि बल्झिएका घाउहरुको चित्कार अनि नेताहरुप्रति खबरदारी गरिएका माथिका हरफहरु सामना परिवारको छैटौं गीति एल्वम ‘अन्तरसङ्घर्ष’ मा समेटिएको ओपेरा गीतका हुन् ।

जनवादी गीतसङ्गीतको माध्यामबाट साँस्कृतिक आन्दोलनको नेतृत्व गरिरहेको सामना परिवारले भर्खरै बजारमा ल्याएको गीति एल्वम मा उक्त ओपेरा गीत समेटिएको छ ।

एल्वममा जनयुद्धले ल्याएको सामाजिक परिवर्तन, नयाँ नेपालको सपना र गणतन्त्र प्राप्तिको उत्साह त छन् नै । जनयुद्धले छोडेर गएका घाऊहरु– शहीद तथा बेपत्ता परिवारका पीडा, घाइते योद्धाहरुको चित्कार र उनीहरुको सपना गीतका शब्द–शब्दमा अभिव्यक्त गरिएको छ । त्यस्तै, त्याग, समर्पण र बलिदानबाट प्राप्त उपलब्धिलाई आत्मसमर्पण देख्ने उग्रवाम र सत्ता र शक्तिको उन्मादमा विगतका प्रतिबद्धताहरु भुल्न खोज्नेहरुप्रति पनि कलाकारहरुले गीतका माध्यामबाट खबरदारी गरेका छन् ।

यथार्थतालाई एकातिर छोडी क्रान्तिको सपना बाँड्दै कतिपय चोइटिएर गएको प्रसङ्ग कोट्याउँदै गीतमा सत्य चिन्न, हरेश नखान र नआत्तिन आग्रह गरिएको छ–
सत्य चिन्ने कोसिस गर
संसार बदल्ने हिम्मत गर
हज्जारौं हार हुँदा पनि
हरेश नखाने साहस गर
लाखौं विपत्तिले घेर्दा पनि
नआत्तिने प्रण गर

एल्वममा गरिब, उत्पीडित, उपेक्षित र पछि पारिएका समुदायको हकअधिकार र वर्गीय मुक्तिका लागि वर्गीय एकता आवश्यक रहेको गीतहरुले आह्वान गरेका छन् । त्यस्तै, वर्गसङ्घर्षका क्रममा आफैभित्रको लडाइँ पनि निकै निर्मम हुने भन्दै अप्ठ्यारो, कठिनाइ र आफ्ना भन्नेहरुको अन्तर्घातमा पनि विचलित नभई जनताका पक्षमा लडिरहनुपर्ने गीतहरुले सन्देश दिएका छन् ।

जम्माजम्मी नौ वटा गीत समावेश गरिएको एल्वममा अन्य गीतहरुका साथै देउडा, कौडा, मारुनीलगायत विभिन्न समुदायको लोक संस्कृतिमा आधारित गीतहरु पनि समेटिएको छ ।

एल्वममा बाँचौं हामी युगौंयुग, चिसिएका चुला, हाम्रो बाटो साइला र सत्य चिन्ने कोसिस गर शीर्षकका चारवटा गीत गीतकार बलराम तिमल्सिनाका रहेका छन् भने सामना परिवारका संयोजक भीम कुमाखीले रहरले होइन ओपेरा गीत र श्रीखण्ड थियो शीर्षकका गीतका साथै मारुनी र कौडाको शब्द संकलन गरेका छन् । त्यस्तै, डम्बर रोकायाले देउडा गीतको शब्द संकलन गरेका छन् ।

एल्वममा धनु ज्ञाङ्मी, भीम कुमाखी, चन्द्र अधिकारी र डम्बर रोकायाको संगीत रहेको छ भने शारदा लिम्बू, धनु ज्ञाङ्मी, भीम कुमाखी, कला राई, डम्बर रोकाया, डिपी ढकाल, ललिता पुन, प्रगति हिङ्माङ, विवेक नेपाली, चन्दु गोर्खाली र रुपकुमार राईलगायतको स्वर रहेको छ ।

एक सय २५ रुपैयाँ मूल्य रहेको एल्वमको एरेञ्ज चन्दु गोर्खाली, जुजु गुरुङ, देव राई र अशोक राईले गरेका छन् ।

२०४९ सालमा स्थापना भएको सामना परिवारले यसअघि आँधी आउँदैछ हुरी चल्दैछ, अभिवादन, जलजला, रातो घाम र नयाँ नेपाल गीति एल्वम निकालिसकेको छ । त्यस्तै, २०६४ सालमा राता मान्छेहरु नामक म्यूजिक भिडियो बनाइसकेको सामनाले चाँडै अर्को म्यूजिक भिडियो बजारमा ल्याउने तयारी गरिरहेको संयोजक भीम कुमाखीले बताउनुभयो ।

प्रस्तुति : विवश यात्री
प्रकाशित मिति : २०७० बैशाख ८ गते आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *