पुस्तकमा शैक्षिक गन्तव्यको खोजी

  
  प्रकाशित मितिः आइतवार, जेष्ठ १९, २०७०       | 135 Views   ||

Hukum Budhathoki lekhak-[हुकुम बुढाथोकी]

‘शैक्षिक गन्तव्य’ पुस्तकका लेखक जीतबहादुर शाह दाङको शिक्षा अधिकारी हुनुहुन्छ । शाहले दाङबाट प्रकाशित हुने नयाँ युगबोध दैनिकमा नियमित स्तम्भका रुपमा २०५९ सालभरि प्रकाशित र छिटपुटरुपमा शिक्षक मासिक, नौलो जनउभार साप्ताहिक, आजको शिक्षा साप्ताहिक र नागरिक दैनिक पश्चिमेलीमा प्रकाशित ४५ वटा चिट्ठीहरुलाई समेटेर पुस्तकाकाररुपमा पाठकमाझ ल्याउर्नुभएको छ ।

पुस्तकमा लेखिएका चिट्ठीहरु प्यारा विद्यार्थी भाइबहिनीहरुलाई सम्बोधन गरेर शुरुवात गरिएको छ भने प्रत्येक चिट्ठीको अन्त्यमा विद्यार्थीहरुलाई समग्र चिट्ठीको सन्देश संश्लेषितरुपमा दिइएको छ । दुइ पृष्ठदेखि चार पृष्ठसम्मका आकारका चिट्ठीहरु साहित्यका अन्य विधाका रचनाहरुको तुलनामा छोटा देखिए पनि विषयवस्तुको उठान, समसामयिक सन्दर्भ, दृष्टान्तहरुको प्रस्तुति, लाक्षणिकता, वस्तुपरक विश्लेषणका दृष्टिकोणले निकै खँदिला र मोटा सावित भएका छन् । लेखकले चिट्ठीको संरचनामा कैद गर्न खोजे पनि धेरै रचनाहरुले निबन्धको बासना पस्किरहेका छन् । आफ्ना आमाबुवा, विद्यार्थी भाइबहिनीहरु र शिक्षा क्षेत्रका सारथिहरुप्रति समर्पित पुस्तक राजनीतिज्ञ, समाजसेवी, नीतिनिर्माता, राष्ट्रसेवक कर्मचारी, अभिभावक र जो कोही सर्वसाधारणलाई समेत शिक्षामूलक, सन्देशमूलक, प्रेरणामूलक रहेको छ ।

Jeet_b_shah_bookलेखकले हाम्रो समाजमा व्याप्त विकृति, विसंगति, नकारात्मक सोंचहरुलाई अत्यन्त सावधानीपूर्वक तीखो प्रहार एवम् पटाक्षेप गरेका थुप्रै दृष्टान्तहरु पाइन्छन् । बोली र व्यवहारमा तालमेल नमिलाई गुहेखोलीमा बसेर पूर्वेबोली बोल्नेहरुले समाजमा Double Standard देखाएका कारण बालबालिकाको सिकाइ प्रक्रिया अवरुद्ध भएको तीतो यथार्थ पस्किएको पाइन्छ । पुस्तकमा राजनेता, नीतिनिर्माता, शिक्षक, अभिभावक, आदिले बालबालिकाहरुका लागि  Role Model को भूमिका खेल्नुपर्नेमा जो अगुवा उही बाटोमा हगुवाको भूमिका देखाएकोप्रति अत्यन्त रोष प्रकट गर्दै लेखकले भ्रष्ट, अनैतिक, लापरवाही, लाछी, कपटी वर्तमानबाट  सुन्दर भविष्य निर्माण नहुने तीतो सत्य पस्किएका छन् । वर्तमान समाजले काँशी पुग्नका लागि कुतिको यात्रा थालेकोप्रति तीखो व्यङ्ग्य प्रहार गर्दै सही गन्तव्यमा पुग्नका लागि उचित मार्ग अपनाउन उद्घोष गरिएको छ ।

लेखकले आफ्नो पदीय दायित्वका कारण धेरै प्रसङ्गहरुलाई गुपचुप राखेको र कुनै तह पदकालाई सिधै प्रहार गर्न नसकेको भएतापनि अभिव्यक्तिलाई लाक्षणिक ढंगले ठीक–ठीक स्थानमा प्रहार गरेकोमा कुनै सन्देह छैन । सर्वसाधारणहरुप्रति विशेष सहानुभूति राख्ने लेखकले पढेलेखेका विद्वान भनाउँदाहरुबाटै विकृति, विसंगतिहरु हुने गरेका, समाज सुधारका खोक्रा भाषण गरेतापनि तिनैबाट आज सर्वसाधारण त्रसित र आतंकित हुनुपरेको अर्थात् समाजमा भुस खाएर नून बोक्ने वास्तविक गधाहरुभन्दा घुस खाएर सुन बेच्ने छद्मभेषी गधाहरुको हालीमुहाली भएको, ठूला माछाले साना माछालाई खाएसरह माथिल्ला तहका कर्मचारीले मातहतकालाई निलिरहेको तीतो यथार्थ बडो मार्मिक ढंगले ओकलिएको छ ।

विद्यार्थी वर्गले सिकाइलाई मनोवृत्तिको तहबाट आर्जन गर्नुपर्ने र शिक्षाले उनीहरुमा चरित्र निर्माणमा योगदान पु¥याउनुपर्ने कुरालाई उधृत गर्दै बालबालिकाहरुले संगतगुणाको फल प्राप्त गर्ने भएकाले खराब व्यक्तिको संगत गर्नुभन्दा गैंडासरह एक्लै बस्नसमेत लेखकको सुझाव आएको छ ।

पुस्तकमा समाजलाई कैची प्रवृत्तिले विग्रह र विखण्डनको दिशातर्फ उन्मुख भइरहेको वर्तमान परिवेशलाई नियाल्दै समाजका विविधतालाई एउटै मालामा उन्नका लागि सियोको भूमिका आवश्यक परेको, भाँचिएका मन र फाटेका विचारहरुलाई जोड्नका लागि शिक्षाको पुनःसंरचनाको अपेक्षासमेत गरिएको छ । बालबालिकाहरुमा निहित प्रतिभाको पहिचान नगरी व्यक्तिगत भिन्नता र बालमनोविज्ञानका सिद्धान्त नबुझी शिक्षण गर्ने शिक्षक, स्वयम् परिवर्तन नभई शिक्षाको संरचना, पाठ्यक्रम, भौतिक सुविधा जति बदले पनि शिक्षण सिकाइ उपलब्धिमूलक नहुने दृष्टान्त प्रस्तुत गर्दै सर्वप्रथम शिक्षक नै बदलिनुपर्ने, शिक्षकले आफू बलेर अरुलाई उज्यालो प्रकाशले दिप्त तुल्याउनुपर्ने पुस्तकमा गहकिला तर्क पेश गरिएको छ ।

शिक्षा क्षेत्रमा क्रियाशील व्यक्ति भएको नाताले केही परिवर्तन ल्याउनुपर्छ भन्ने सोंचले ओतप्रोत लेखक कुनै बेला गान्धीको अहिंसात्मक आन्दोलनमा पंक्तिबद्ध भएको पाइन्छ भने कुनै बेला संसार बदल्नु छ भने शुरु आफैबाट गर्नुपर्छ भन्ने योगी बिकासानन्दको भनाइप्रति लहसिएको पाइन्छ । तर, लेखकले आफ्नो विचार र व्यवहारलाई ओमशान्तिको मूल्यकृत शिक्षाबाट प्रेरणा लिएर परिमार्जन गरेको प्रष्ट पार्नुभएको छ । विद्यालयलाई बालसुलभ, रमणीय, बन्द निषेधित क्षेत्र बनाई बालअधिकारलाई सुनिश्चित गर्नुपर्नेमा विद्यालयलाई राजनीतिक दलका भातृ संगठनहरुले परेड खेल्ने, आफ्ना आसेपासे, अरौटे–परौटे, नातागोताका व्यक्तिहरुलाई विचरण गर्ने गन्धास्थलमा परिणत गरेकोप्रति लेखकको ठूलै चित्त दुखेको पाइन्छ । यस कार्यबाट सार्वजनिक विद्यालयहरु सीमित व्यक्तिको स्वार्थमा प्रयोग भएको, चरम राजनीतिकरण भएका कारण सर्वसाधारण र अभिभावकहरु किंकर्तव्यविमूढ बनिरहेको परिवेशको चित्रण गरिएको छ ।

सरकारको नून खाएर कुनै एक राजनीतिक दलको गुण गाउने, कक्षामा झारा टारेर ट्यूसन सेन्टरमा ज्यूज्यान सुम्पने वर्तमान शिक्षकको प्रवृत्ति अत्यन्त लज्जास्पद र घृणालायक भएको जिकिर गरिएको छ । शिक्षकको नियुक्ति गर्दा सक्षमलाई पाखा लगाई नियुक्ति गर्न दबाब दिने दल र व्यवस्थापन समिति, खाजा, छात्रवृत्ति र पाठ्यपुस्तकको रकम दुरुपयोग गर्ने हेडमास्टर, डर–त्रास, भयआतंक सिर्जना गरेर कक्षामा सिर्जनशीलताको खडेरी पारी दासताको खेती गर्ने शिक्षक र आफ्ना कलिला बालबालिकाहरुको भविष्यप्रति अनभिज्ञ अभिभावकप्रति पनि तीखो व्यङ्ग्य प्रहार गरिएको छ ।

बालअधिकारका हिमायती लेखकले प्रत्येक विद्यालयमा बाल क्लव गठन गर्न आह्वान गर्नुका साथै परिवर्तन नहुने विद्यालयका सन्दर्भमा पर्खालहरु भत्काऊ, पुस्तकहरु जलाऊ र विद्यार्थीलाई प्रकृतिको न्यानो काखमा लिएर फ्याँक भन्ने रुसोको प्रकृतिवादी चिन्तनलाई शिरोधार्य गरेको पाइन्छ । सिकाइ प्रक्रिया र अनुभव निर्माणका सन्दर्भमा लेखक जोन डिबे, जिन्पियागे, जेरुम बु्रनर र लेभ भिगोत्सकीको प्रगतिवादी, निर्माणवादी दर्शनको फेरो समात्न पुगेको अनुभूति हुन्छ । कतिपय सन्दर्भमा यथास्थितिमा विद्यालय सञ्चालन गर्न दिनुभन्दा इमान इलिचको Deschooling Society तर्फ उन्मुख हुन खोजेको हो कि भन्ने छनक पनि भेटाउन सकिन्छ ।

आफूले निर्दयी र निष्ठूर भएर ढुङ्गा प्रहार गर्दा रुखले आँप दिएको, बाँदरहरु समूहमा मिलेर बसेको, बच्चाहरुलाई राम्रोसँग स्याहार गरेको, सडकका किनाराका रुखहरुले पैदलयात्रीहरुलाई आफ्ना हाँगा र पात हल्लाएर अभिनन्दन गरेको, पत्र बर्साएर पुष्पवृष्टि गरेको प्रकृतिका अनुपम दृष्टान्तहरु ओकल्दै मानिसले प्रकृतिप्रति जति संवेदनाहीन गतिविधि गरे पनि प्रकृतिले सबै आहातहरु स्वीकारेर मानिसलाई उल्टै राहत दिएको प्रकृतिवादी सुन्दर व्याख्या गरिएको छ ।

चुम्बकका अणुहरु एकत्रित भएर चुम्बकीय वस्तुहरुलाई आकर्षण गर्ने क्षमता आर्जन गरेजस्तै समाजमा सबैले एक अर्कालाई स्वीकार गरेर मिल्न सके अदम्य क्षमता आर्जन गर्न सकिनेतर्फ सबैको ध्यानाकर्षण गराउनुको साथै घरलाई विद्यालयजस्तो र विद्यालयलाई घरजस्तो बनाई दुवै स्थानमा बालमैत्री वातावरण सिर्जना गर्न शिक्षक एवम् अभिभावकलाई निवेदन गरिएको छ । त्यस्तै, गुरुदेवो भवःको सट्टा विद्यार्थी देवो भवःको भावनाअनुसार शिक्षक सधैं विद्यार्थीका समस्याप्रति सचेत हुने गरेमा शिक्षक र विद्यार्थीको आत्मीयता बढ्ने, विद्यार्थीले आफूलाई Looking Good बनाउने भन्दा Being Good बनाउन अग्रसर हुनुपर्ने Pleasure क्षणिक सुखभन्दा आनन्दानुभूति (Happiness) लाई जीवनदर्शन बनाउन निर्देश गरिएको छ ।

पुस्तकमा लुगा फिट नसिलाएमा टेलरिङ सेन्टरको दोष हुने दृष्टान्त कोट्याउँदै विद्यार्थी असफल भए विद्यार्थीको सर्टिफिकेटमा असफलता लेखिने उल्टो प्रवृत्तिप्रति जेहाद छेड्दै लेखकले त्यसको दोष शिक्षकले ग्रहण गर्नुपर्ने धारणा राखेको पाइन्छ । वर्तमान पुस्ताका नेता, पत्रकार, शोधकर्ता, शिक्षक, अभिभावक, कर्मचारी, संघ संस्था सबैले नजानिदो पाराले नकारात्मकतालाई पक्षपोषण गरिरहेकोप्रति चिन्ता व्यक्त गर्दै यसबाट समाजका हरेक क्षेत्रमा नराम्रा असरहरु देखापरेकातर्फ सचेत गराइएको छ । माया, स्नेह, प्रेम एवम् सहानुभूति पाए समाजमा बरालिएकाहरुलाई पनि सत्मार्गमा ल्याउन सकिने भएकाले समाजमा शान्ति, सद्भाव, प्रेम र स्नेहको खेती गरिनुपर्ने लेखकीय दृष्टिकोण पाइन्छ ।

शिक्षक तथा प्रशासनिक व्यक्तिहरुका तालिमलाई अकबरका बिरालासँग तुलना गर्दै तालिममा मात्र सीमित भएको र कार्यान्वयन गर्दा मुसा खोज्दै हिड्ने बिरालो प्रवृत्ति यथावत रहेको दृष्टान्तलाई लेखकले अत्यन्त मननीय किसिमले पस्किएको पाइन्छ । बालबालिकालाई जो होचो, उसैका मुखमा घोचोको व्यवहार गरिनाले उनीहरुमा सिर्जनशीलता गुम्दै गएकोतर्फ लेखकले सबैलाई सचेत बनाउन खोजेको देखिन्छ ।

इच्छाशक्ति भयो भने सरकारको मुख ताक्नु नपर्ने दृष्टान्तहरु पस्कदै लेखकले सिनर्जीको सिर्जना गरी विद्यालयहरुलाई हिलोको बीचबाट फुलेको कमल तथा विकट पहरामा फुलेको सुनगाभाजस्तै विषम परिस्थितिमा पनि फुल्न, फक्रन सक्ने बैशालु युवतीजस्तै जवानीले धपक्कै बल्न सक्नेतर्फ सबै सरोकारवालाहरुको ध्यान आकृष्ट गर्न सफल भएको महसुस हुन्छ ।

‘शैक्षिक गन्तव्य’ पुस्तक चिट्ठीहरुको संकलन मात्र नभई समाजलाई नयाँ दिशामा लैजाने परिवर्तनकारी सोंच, विचार र अनुभूतिहरुको सङ्ग्रहजस्तो लाग्छ । शिक्षक र विद्यार्थीहरुको लागि मात्र नभई सबै सचेत नागरिकहरुका लागि यो पुस्तक निकै ज्ञानप्रद रहेको छ । सीमित कमीकमजोरीका बाबजुद यो पुस्तकले समाजका विकृति र विसंगतिलाई बढार्न र शिक्षण सिकाइका क्षेत्रमा नितान्त बालकेन्द्रित अवधारणा भित्र्याउन तथा विद्यालय क्षेत्रलाई सुधार गर्नका लागि अचुक अस्त्रको रुपमा आएको यो पुस्तकले अतुलनीय योगदान पु¥याउने कुरामा कुनै सन्देह छैन ।

लेखककी जीवनसङ्गीनी पद्मा शाहले प्रकाशन गर्नुभएको पुस्तकको सम्पादन डिल्ली मल्लले गर्नुभएको छ भने आकर्षक र पुस्तकको भाव सुहाउँदो आवरण डिजाइन उदय जीएमले गर्नुभएको छ । आवरणबाहेक १ सय ४६ पृष्ठको मध्यम आकारको पुस्तकको मूल्य १ सय ५० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २०७० बैशाख २२ गते आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *