उदासीलाई हतार छैन रे

  
  प्रकाशित मितिः आइतवार, जेष्ठ १९, २०७०       | 111 Views   ||

Udasi_new_final-[टीकाराम उदासी]
साहित्यकार

पछिल्लोपटक कुन पुस्तक पढ्नुभयो ?
–राप्तीकै लेखक जीतबहादुर शाहको शिक्षासम्बन्धी पुस्तक शैक्षिक गन्तव्य ।

शैक्षिक गन्तव्यमा खास कुरा के रहेछ ?
–त्यसमा उनले मूलतः नेपालको शैक्षिक अवस्थाका विविध आयामका बारेमा चर्चा गर्दै अबको शिक्षालाई सैद्धान्तिकभन्दा पनि प्रयोगात्मक बनाउनुपर्ने प्रस्ताव गरेका छन् । साथै यस क्षेत्रको शिक्षामा रहेका उज्याला र अँध्यारा पक्षहरुमाथि पनि आफ्ना चिन्तन प्रस्तुत गरेका छन् । जम्मा पैंतालीस रचना समेटिएको पुस्तकमा थाइल्यान्ड र फिनल्याण्डजस्ता देशका शैक्षिक प्रणालीबारे पनि आफ्ना अनुभव लेखेका छन् ।
समग्रमा नेपालको विद्यालयीय शिक्षाबारेमा नवीन र सकारात्मक विमर्श हुनुपर्ने धारणा रहेको छ पुस्तकभित्र, जुन नेपालको शैक्षिक पुनःर्संरचनाका लागि एउटा सान्दर्भिक कुरा हो ।

अहिलेसम्म पढेका पुस्तकहरुमध्ये धेरै प्रभावित भएको कुनै पुस्तक ?
–पाकिस्तानी उपन्यासकार सिद्धिक सालिकको उपन्यास प्रेसर कुकर । उपन्यासको प्रमुख पात्र छ फितरत । ऊ आजको हामै्र समाजको एउटा इमान्दार, स्वाभिमानी तर राज्यका सबै अवसरबाट वञ्चित रहेको गरिब तर प्रतिभावान् युवाको प्रतिबिम्ब हो । उपन्यासमा ऊ एउटा चित्रकारको भूमिकामा छ, जुन उपन्यासको अन्त्यमा समाजकै कारण समाजबाट नै पलायन भएर जंगलतिर लाग्छ ।

कस्ता पुस्तक पढ्नुहुन्छ नि ?
–पाएसम्म सबै प्रकारका पुस्तकहरु पढ्छु तर पछिल्लो समयमा समय अभावका कारण साहित्यका कविता, गजल, आख्यान, जीवनी, आत्मकथा, नियात्रा, संस्मरण अनि गैरसाहित्यमा शिक्षा र संस्कृतिसम्बन्धी पुस्तकहरु मेरा रोजाइभित्र पर्ने गरेका छन् । बढी सैद्धान्तिकभन्दा व्यवहारिक चिन्तन भएका पुस्तकहरु नै अलि धेरै हेर्छु ।

पुस्तक किन्न मासिक खर्च ?
–खासै हिसाब राख्ने गरेको छैन । आवश्यकता अनुसार कहिले एकदुई हजारमात्र पनि खर्च हुन्छ, कहिले अलि बढी पनि । खास गरी काठमाण्डौं गएको बखत वा पुस्तक प्रदर्शनीका बेला बढी खर्च गरिन्छ ।

के लेख्दै हुनुहुन्छ आजभोलि ?
–फुटकर कविता, गजल र केही समालोचनाहरु लेखिरहेको छु । हप्तामा एकदिन त नयाँ युगबोध दैनिकको अक्षरयात्रा स्तम्भका लागि नै समय निकाल्नु परिरहेको छ ।

लेखनमा तपाईंलाई केले ऊर्जा दिन्छ ?
–लेखनमा ऊर्जा दिने मुख्य चीज भनेको आजको देशको अवस्था, भविष्यबारेको चिन्तन, बदलिइरहेको समय र त्यसले सिर्जना गर्ने भाव वा कुनै विषयवस्तु नै हो मेरा लागि ।

आफूलाई राम्रो लागेको आफ्नै कुनै रचना ?
–मलाई आफ्ना सबै रचना उत्तिकै मन पर्दैनन्  । एक पाठक भएर हेर्दा केही रचनाहरु भने मन पर्नु स्वाभाविकै हो । कृतिगत रुपमा भने कुनै एउटालाई म छान्न असमर्थ छु ।

आशा गरेजति उदासीले नयाँ कृतिहरु ल्याएनन् भनेर कतिपय पाठक उदास छन् के हो ?
–यदि यो जिज्ञासामा सत्यता छ भने मलाई लाग्छ यो पाठकहरुले मप्रति गरेको माया र स्नेह हो । जहाँसम्म नयाँ कृतिको  कुरा छ, पाण्डुलिपिका रुपमा मसँग धेरै कृतिहरु छन् तर मेरो विचारमा आजको सिर्जना र प्रकाशनको समय धेरै अनुपातको होइन, बरु स्तरीय सिर्जनाको हो भन्ने दृढ विश्वासका कारण नै मेलै आफ्ना धेरै कृतिहरु हतारमा प्रकाशन नगरेकै हो ।

मेरो पछिल्लो कृति ‘बौल्दैछ आफै मौसम’ नामक गजलकृति हो, जुन २०६८ सालमा प्रकाशित भएर पाठकसमक्ष आएको छ । यो एक दशकपछि आएको कृति हो । सायद अर्को कुनै कृति आउन अझैं समय लाग्ला नै ।

अनि एउटा कवितासङ्ग्रह आउँदैछ भनेको पनि दुई वर्ष भएन र ?
–अझैं हतार नगर्ने पक्षमा छु म । तैपनि, हेरौं समयले साथ दियो भने अर्को सालसम्म कतै पाठकहरुको कठघरामा उभिन आइहाल्छ कि ।

कोही तपाईंकहाँ नयाँ कृति लिएर समीक्षा गरिदिन भन्यो भने जस्तासुकै रचनालाई पनि समयसापेक्ष, उत्कृष्ट र सशक्त छ भनेर गफ लगाइदिनुहुन्छ रे !
–सबैलाई त होइन होला, केही केहीलाई भने हो किनभने ती कृतिहरु यी विशेषणका लागि लायक पनि हुन्छन् । म नयाँ स्रष्टाहरुलाई सधैं प्रोत्साहित गर्छु किनकि भविष्य त उनीहरुकै हो नि ।

प्रस्तुति : विवश
प्रकाशित मिति : २०७० बैशाख २२ गते आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *