दाङ । नेपाली भाषा बोल्न र बुझ्नसमेत नसक्ने मौरेसियन लेखक एवम् गायक देव राखाले दङ्गाली स्रोतामाझ मज्जाले नेपाली भाषामै गीत गाएर सुनाउनुभयो । मदानी साहित्य समूह नेपालले गत बुधबार दाङको घोराहीमा आयोजना गरेको कार्यक्रममा देवले आफूले भर्खरै बजारमा ल्याएको नेपाली म्यूजिक भिडियो एल्बम ‘जिन्दगीको झलक’मा समेटिएका ६ वटा गीतहरु गाउनुभएको हो ।
एउटा बाटो हिड्दै गए अर्को बाटो खुल्छ
हिम्मत गरी अघि बढे साथ पनि मिल्छ
कार्यक्रममा बोल्दै देवले आफूले गीत खाली रमाइलोका लागि मात्र नगाएको बताउनुभयो । नेपाली भाषा बुझ्न र बोल्न नसके पनि साथीहरुको सहयोगले गीतको नेपालीमा उच्चारण गर्न सिकेको हुँ उहाँले भन्नुभयो । आफूले सकारात्मक सोंचको विकास गराउन, भविष्यप्रति आशा र उत्साह जगाउन गीत गाएको उहाँको भनाई छ । आफ्ना गीतहरु मायापिरतीमा भन्दा पनि जिन्दगीप्रतिको आशा, विश्वास र भविष्यप्रतिको सकारात्मक चिन्तन व्यक्त भएको उहाँले दावी गर्नुभयो । अंग्रेजीमा मन्तव्य दिनुभएका उहाँले नेपाली भाषामै गीत गाउँदै जिन्दगी सङ्घर्षको बाटो भएको बताउनुभयो–
पानीमाथि तैरिएको डुङ्गा रहेछ जिन्दगी
सङ्घर्षको बाटो हिड्ने यात्रा रहेछ जिन्दगी
कार्यक्रमका प्रमुख अतिथि कवि तथा गीतकार रमेश क्षितिजले नेपाली समाज चरम निरासाको बीचबाट गुज्रिएको बेला फरक समाजको मान्छे आएर आशा र विश्वासका गीत गाउनु ठूलो कार्य भएको बताउनुभयो । ‘हामी विगत केही वर्षदेखि चरम निरासामा रुमल्लिरहेका छौं, विछोड र निरासाका मात्रै गीत गाइरहेका छौं, क्षितिजले भन्नुभयो– ‘तर, हामीभन्दा कति हो कति टाढाको मान्छे नेपाली भाषामै आशा, उत्साह र विश्वासका गीत गाउँछ, जीवनका गीत गाउँछ ।’
नेपाली भाषामै गीत गाएर म्यूजिक भिडियो नै निकाल्ने आँट गरेकोमा राखाको प्रशंसा गर्दै क्षितिजले सकारात्मक चिन्तन, आशा र जिन्दगीको सार्थकताका बारेमा गीत गाएर नेपाली गीतसङ्गीतको क्षेत्रमा नयाँ आयाम थपेकोमा खुसी व्यक्त गर्नुभयो ।
जिन्दगीको झलक एल्वमको संगीत गरेका संगीतकार सन्तोष श्रेष्ठले देव राखाले माया पिरतीका भन्दा दार्शनिक र आशावादी गीतहरु गाउन रुचाउने बताउनुभयो । राखाको सोचाई समाजमा सकारात्मक सन्देश जाओस्, परिवर्तन होओस् भन्ने हेतुले काम गर्ने गरेको श्रेष्ठको भनाई थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष एवम् गीतकार के. एल. पीडित र राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनालले विदेशबाट आएर पनि नेपाली भाषा र नेपाली गीतसङ्गीतप्रति देखाएको सद्भावको प्रशंसा गर्नुभयो ।
मदानी साहित्य समूहका संयोजक बसन्त विवश आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक डिल्ली मल्ल, सर्जन गौतम र सहजकर्ता विकास भण्डारीले गर्नुभएको थियो । ६ वटा गीतहरु समेटिएको जिन्दगीको झलक एल्वमको संगीत संगीतकार सन्तोष श्रेष्ठले गर्नुभएको छ भने एल्वममा मिठ्ठु रावल, मञ्जुल र माधव निर्दोषका गीतहरु समावेश गरिएका छन् ।
प्रस्तुति : विवश यात्री
प्रकाशित मिति : २०७० बैशाख २२ गते आइतबार