समय र युगअगुवा

  
  प्रकाशित मितिः आइतवार, जेष्ठ १९, २०७०       | 153 Views   ||

6itiz Magar newबन्दुक र कलम सँगसँगै चलाएर एकदशक लामो जनयुद्धमा जनमुक्ति सेनाका साथै कलमको सिपाहीको रुपमा नाम दर्ज गर्न सफल कविको नाम हो– क्षितिज मगर ।
कविता, कथा र संस्मरण अनुभूतिमा नियमित कलम चलाइरहने क्षितिजको आस्थाका पर्खालहरु कवितासङ्ग्रह– २०६२, सुनछहरीको ऐनामा कथासङ्गह–२०६६ र गण्डक अभियान डायरी– २०६८ प्रकाशित छन् ।
रोल्पाको जेलवाङमा जन्मिएका कवि क्षितिजले जनयुद्धकालमा जनमुक्ति सेनाको व्रिगेड सहायक कमाण्डरसम्मको जिम्मेवारी सम्हालेका थिए । क्यान्टोनमेन्टबाट निस्किएपछि सक्रिय राजनीतिबाट अलि टाढा रहेका क्षितिजको कविता यसपालि–

यो वा त्यो, ऊ अथवा कुन ?
यसरी वा त्यसरी, उसरी अथवा कसरी ?
दुविधै दुविधाको झाङमा अल्झिएको यो समय !
प्रश्नै प्रश्नको आङमा उभिएको यो समय !

चौबाटोमा अल्मलिएका
एक हुल सपनाका लस्कर
एक पल बिपनाका रहर
अपरिपक्व यात्रीझैं
दोधार–दोधार, दोमन–दोमन
प्रश्न गरिरहेछन्–
‘खोइ हाम्रो भाग्यरेखाको बाटो ?’

चौपारीमा सुस्ताएका
एक जमात चाहनाका बैंशहरु
एक समूह कल्पनाका ऐसहरु
भत्केको पुल तर्ने बटुवाझैं
भयभित–भयभित, आतङ्कित–आतङ्कित
जवाफ खोजिरहेछन्–
‘कसरी सुखी बन्छ हाम्रो जोवन ?’

चौबाटोमा या चौपारीमा
घुम्तीमा अथवा मोडमा
आँखाबाट बिछोडिएका विचलित सपनाहरुलाई
जीवनबाट छुट्टिएका दुखित विपनाहरुलाई
उनेर पुनर्मिलनका डोरी भरि–भरि
भरेर पुनर्जीवनका स्पन्दन
पर अघिल्लो भञ्ज्याङबाट
एउटा युगअगुवा
उदाउँदो सूर्यको लालीमय आभासित
सबै सपनाका भाग्य नापिरहेछन्
निर्मल हिमाली मुस्कानको क्षितिजसित
सबै विपनाका भविष्य कोरिरहेछन्
र, एउटा खुल्ला मार्ग देखाइरहेछन्
हो, त्यही युगअगुवाले
चाहनाका उजाडिएका बैंशमा बसन्त रोपेर
कल्पनाका उदासिएका ऐसमा हिमाल जोडेर
दिइरहेछन् एउटा सटिक जवाफ
त्यहाँको परिवेशमा
जहाँ जसको जीवनबाट औंशी अस्ताइरहेछ
जहाँ जसको आँखाबाट खुशी उदाइरहेछ ।
–रोल्पा

One Comment

  • Durga Magar

    चैाबाटोमा अल्मलिएका
    एक हुल सपनाका लस्कर
    एक पल बिपनाका रहर
    अपरिपक्क यात्री झै
    दोधार दोधार, दोमन दोमन
    प्रश्न गरिरहेछन्
    खोइ हाम्रो भाग्य रेखा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *