जनयुद्धको थालनी आफ्नै हातबाट गर्न पाउ“दा मानिस भएर जन्मिएको सार्थकता महसुस भएको थियो

  
  प्रकाशित मितिः आइतवार, जेष्ठ १९, २०७०       | 149 Views   ||

Pasang_final1-[नन्दकिशोर पुन ‘पासाङ’]
संयोजक, पूर्वजनमुक्ति सेना नेपाल

जनयुद्धका लागि भनेर तपाईंले पहिलोपटक बन्दुक कहिले समात्नुभयो ?

जनयुद्ध जनताले लडिने एउटा युद्धको मोडल भएको हुनाले शुरुमा जनयुद्धका लागि कुनै त्यस्तो आधुनिक हतियार वा तालिमको आवश्यकता पर्दैन । जनतासँग जुन विचार छ, जुन हतियार छ, त्यसैको सहारामा लडिन्छ । युद्धद्वारा युद्ध सिक्ने, लडाइँद्वारा लडाइँ सिक्ने, सङ्घर्षबाट नै बलियो बन्ने, सङ्घर्षको मोर्चाबाटै तालिम प्राप्त गर्ने र दक्ष बन्ने, वस्तुगत राजनीतिक अवस्थालाई पकडेर मानसिक र भौतिकरुपमा आफूलाई तयार पार्ने कुरा नै माओवादी मान्यता हो ।

जब म कम्युनिष्ट प्रभावमा परें र त्यससम्बन्धी अध्ययन गर्दै गएँ, त्यतिखेरदेखि नै वैचारिक, राजनीतिक तथा साङ्गठनिक बन्दुक समातिसकेको थिएँ । ठोसमा भन्नुपर्दा जनयुद्धकै लागि भनेर बन्दुक जनयुद्धको तयारी र थालनी आसपासदेखि नै समातियो । त्यतिबेला ग्रामीण वर्गसङ्घर्ष गर्नुपर्ने अवस्था थियो । त्यो आफैमा तालिम र लडाइँको मोर्चा दुवै थियो ।

पहिलोपटक राज्यसत्ताविरुद्ध बन्दुक बोक्दाको अनुभूति कस्तो छ ?

मानिस सबैभन्दा चेतनशील सामाजिक प्राणी भएको हुनाले ऊ जहिले पनि राम्रो र नयाँ चीज देख्न र गर्न चाहन्छ । राम्रो र सुन्दर वस्तुप्रति उसको ध्यानाकर्षण हुन्छ । साथै ऊ नयाँ काम गर्न उत्सुक पनि हुन्छ । यो कुरा युवा अवस्थामा बढी लागू हुन्छ । पुरानो र सबै हिसाबले कुरुप राज्यसत्ताप्रति आमनेपाली जनताको घृणा थियो । अढाई सय वर्ष पुरानो केन्द्रीकृत सामन्ती राजतन्त्रात्मक राज्यव्यवस्था जसलाई तुरुन्त डम्पिङ साइटमा लगेर पुर्नुभन्दा अर्काे विकल्प नेपाली जनतासामु थिएन ।

आमूल परिवर्तनका लागि नेपाली जनता आफ्नो सङ्घर्ष र बलिदानद्वारा नयाँ मूल्यमान्यता तथा राजनीतिक व्यवस्था स्थापना गर्न चाहन्थे । तर, यहाँका प्रतिगामी र यथास्थितिवादी राजनीतिक शक्तिले राजा तथा पुरानो राज्यसंयन्त्रसँग सम्झौता गर्दै त्यही पुरानो फोहोरको डङ्गुर वरिपरि घुम्ने, जुन राजनीतिक प्रवृत्ति देखा प¥यो, त्यसबाट नयाँ नेपाल निर्माण सम्भव थिएन ।

त्यसकारण पुरानो राज्यसङ्यन्त्रलाई भत्काएर गणतन्त्र, पहिचानसहितको संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी हिसाबले सम्पूर्ण उत्पीडित जाति, क्षेत्र, लिङ्ग र वर्ग नयाँ राज्यसङ्यन्त्रमा समानुपातिक समावेशी प्रतिनिधित्व, आर्थिक, सामाजिक रुपान्तरण, क्रान्तिकारी तथा वैज्ञानिक भूमिसुधार, सम्पत्ति छानविन आयोगजस्ता नयाँ राजनीतिक एजेण्डाका आधारमा शून्यबाट राज्यसंयन्त्रको शुरुवात संविधानसभाद्वारा निर्मित संविधानबाट गरेर जाने साथै जनवादी गणतन्त्र, समाजवाद, साम्यवादको लक्ष्य पूरा गरी सुन्दर मानव संसार निर्माणको प्रणाली बसाउने उद्देश्यसहित बन्दुक बोकेर नेपालमा नयाँ र मौलिक ढंगले क्रान्ति सम्पन्न गर्ने अभिभारा तथा अवसर पाउँदा ज्यादै गर्वको अनुभूति भएकोे थियो ।

जनयुद्धको पहिलो कारबाही होलेरीमा भयो र त्यसमा तपार्इं पनि सहभागी हुनुभएको थियो । त्यो अनुभव कस्तो थियो ?

हो, थुप्रै मुख्य कारबाहीमध्येमा होलेरी प्रहरी चौकीमाथिको रेड एउटा महत्वपूर्ण कारवाही थियो । त्यसमा सह–कमाण्डरका हिसाबले दुइटोलीमध्ये एउटाको नेतृत्व गरेको थिएँ । इतिहास बदल्ने जनयुद्धको थालनी आफ्नै हातबाट गर्न पाउँदा समाजमा मानिस भएर जन्मिएको सार्थकता महसुस भएको थियो । जुन काम आम मानिसले गर्न सक्दैनथे ।

त्यतिबेला मलाई घुँडा दुख्ने बिरामीले सताएको थियो । यसले मलाई कार्वाहीमा सहभागी बन्ने अवसरबाट वञ्चित गर्ने त होइन भन्ने चिन्ता थियो । आफ्नो घुँडाप्रति आफैलाई रीस उठेको थियो । तैपनि मैले खुट्टा खोच्याउँदै ओरालोमा घस्रिदै, पीडालाई पचाउँदै जिम्मेवारी पूरा गरेको थिएँ । कार्वाही सफल भएन भने के गर्ने ? अरु दुर्घटना भयो र योजना खुल्यो भने के गर्ने ? आदि चिन्ता मनमा लागिरहेको थियो । कतिबेला रात पर्ला र निर्धारित समयमा कार्वाही गर्न पाइएला भनेर सेल्टरमा बस्दा ठूलै चिन्ता लागिरहेको थियो ।

भरुवा बन्दुकपछि राम्रो बन्दुक कहिले समात्नुभयो ?

त्यही होलेरी कारबाहीको एकदिनअघि सेल्टरमा पार्टी हेडक्वार्टरले पठाइदिएको थ्रीनटथ्री राइफल समातेर बडो माया र खुशीले छामछुम, मसारमुसुर गरेका थियौं । तेल लगाएर सफा ग¥यौं । तर, त्यो पनि खोका निस्किदोरहेनछ, एक फायर ग¥यो कि बन्दुकको गजले खोका निकाल्नुपर्ने, झण्डै बन्दुकसरह नै भनौं । साथमा एउटा गज राख्नुपर्ने त्यसै भएर पछि हामीले त्यो राइफललाई होलटाइमर गजे राइफल नाम राखिदिएका थियौं ।

तपाईंले सबैभन्दा धेरै ज्ञान कुन तालिमबाट पाउनुभएको थियो ?

सबै तालिम तथा प्रशिक्षण महत्वपूर्ण हुन्छन् नै । पूर्ण बन्नका लागि सबै ज्ञान उपलब्धिपूर्ण हुन्छन् । शुरुमा शहरी गुरिल्ला वारफेयरसम्बन्धी तालिम तथा प्रशिक्षण प्राप्त गरें, त्यसबाट सैन्य ज्ञानको ढोका खुलेको अनुभूति भयो । त्यो मेरो रक्तिम इतिहासको पाइला भन्ने किताबमा पनि उल्लेख गरेको छु ।

तपाईंले नेतृत्व गरेका भिडन्तमध्ये सबैभन्दा ठूलो कुन थियो ?

मैले नेतृत्व गरेका प्रायः लडाइँ चुनौतीपूर्ण र ठूला थिए । वर्गविरोधीहरुको युद्धको स्तरले हाम्रो लडाइँको स्तर विकास गर्न बाध्य पाथ्र्यो । दाङ, अछामको मंगलसेन, अर्घाखाँची, रोल्पा, बेनीको मोर्चा र पछिल्लो चरणको खारा मोर्चा निकै ठूला भिडन्त र आक्रामक थिए । मोर्चाबन्दी युद्धको दृष्टिबाट हेर्दा बेनी मोर्चा र खारा मोर्चा निकै ठूला योजना हुन् । यी ठूला कार्वाही राजनीतिक उपलब्धिको हिसाब–किताब गरेर गरिएको थियो ।

ज्ञानेन्द्रको चुनाव घोषणाको असफलता, शान्ति वार्ताको वातावरण, संगठन विस्तार, प्रचार–प्रसार र आधारइलाका, जनसत्ता निर्माण, वर्गविरोधीको फौजी रणनीति र कार्यनीतिको योजनामा धेरै महत्वपूर्ण राजनीतिक र भौतिक उपलब्धि भएका थिए, जुन अहिलेको गणतन्त्र प्राप्तिको मुख्य आधार हो । क्षतिको दृष्टिले धेरै मानवीय र भौतिक क्षति भएका थिए । धेरै होनहार क्रान्तिकारी योद्धा, कमाण्डर र सदस्यको शहादत भएको थियो यी मोर्चाहरुमा ।

तपाईं आफैले कुन–कुन बन्दुक चलाउनुभयो ?

त्यतिबेला नेपाल प्रहरी, सशस्त्र प्रहरी र शाही नेपाली सेनासँग भएको प्रायः सबै हतियार चलाएको छु । केही त मेरै हातले बनाएको पनि थिएँ ।

२०५८ मा जनमुक्ति सेना घोषणा भएपछि तपार्इंलाई कस्तो महसुस भयो ?

२०५८ मा जनमुक्ति सेनाको ऐतिहासिक घोषणा हुँदा उत्साह र गौरव दुवै अनुभूति भएको थियो ।

शान्तिसम्झौता भएको दिन तपाईंलाई कस्तो महसुस भयो ?

अग्रगामी राजनीतिक निकास, शान्ति, परिवर्तन र स्थायित्वसहित नयाँ नेपाल निर्माण र संघीय गणतन्त्र नेपालको परिकल्पना यथार्थ कार्यान्वयन हुने र जनताले चाहेको संविधान आफैले लेख्न पाउने, पूर्ण परिवर्तन नभए पनि सापेक्षित परिवर्तन अवश्य हुन्छ र त्यसले आमूल परिवर्तनको ढोका खुल्छ भन्ने महसुस भएको थियो ।

शान्तिसम्झौता भएपछि पार्टीले स्थायीरुपमा बन्दुक बिसाएजस्तो लागेको थियो कि थिएन ?

विचार र हतियार, साध्य र साधन, मानिस र वस्तु, राजनीति र त्यसको आधार बुझिसकेपछि सधंैभरि बन्दुक समातिराख्ने र बिसाएपछि बिसाइराख्ने भन्ने कुरा हुँदैन । क्रान्तिको आवश्यकतासँग जोडेर हेर्नुपर्छ । क्रान्तिको आवश्यकतामा साधनको प्रयोग हुन्छ । सेना र हतियार साध्य नभएर साधन हुन् । त्यसलाई विचार र राजनीतिले सञ्चालन गर्नुपर्छ । राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै चीजको निर्धारण हुन्छ ।

जनयुद्धले उठाएका एजेण्डा स्थापित र संस्थागत गर्न शान्तिसम्झौता गर्नुपर्ने आवश्यकता बन्न गयो र शान्तिसम्झौता भयो । हतियार बिसाउनुपर्ने आवश्यकता बन्न गयो, बिसाइयो । भोलि नेपाली जनताले हतियारको आवश्यकता ठान्यो र यो भन्दा अर्काे बाटोबाट परिवर्तन सम्भव छैन यो नै एक मात्र विकल्प हो भन्ने ठान्यो भने फेरि हतियार उठाउँछ । यो कसैको चाहना र इच्छाको कुरा हुँदैन, ऐतिहासिक आवश्यकता बन्न गए त्यसो हुन्छ । जनता नै इतिहासका निर्माता हुन्, यसको फैसला जनताले नै गर्छन् । यो जिम्मा जनतालाई छाडिदिनुपर्छ भन्ने लाग्छ ।

प्रचण्ड प्रधानमन्त्री भएपछि माओवादी सेनाको कमाण्डर तपार्इं हुनुभयो । त्यो जिम्मेवारी पाउँदा के सोच्नुभएको थियो ?

हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष प्रचण्ड सर्वाेच्च कमाण्डर हो । हाम्रो पार्टीको समग्र नेतृत्व उहाँ नै हो । एकप्रकारले गिरिजाप्रसाद कोइरालाको निधनपछि समग्र देशको नेतृत्व पनि उहाँ नै हो । गणतन्त्र नेपालको पहिलो कार्यकारी प्रधानमन्त्री पनि प्रचण्ड नै हो । उहाँ पहिलो प्रधानमन्त्री भएपछि मात्र म माओवादी सेनाको कमाण्डर भएको होइन, म जनयुद्ध थालनीदेखि नै माओवादी सेनाको एक कमाण्डर हुँ ।

हाम्रो जनमुक्ति सेनाको उच्च तहको फर्मेेशनको कमाण्ड गर्दै आएको हुनाले त्यस्तो नौलो जिम्मेवारीको अर्थ मैले बुझिनँ । खाली अध्यक्षले पहिले गर्दै आउनुभएको कोअर्डिनेसन र निर्देशन गर्ने जिम्मामात्र मैले पाएको हो । शान्तिप्रक्रियाको अवस्थामा यसलाई व्यवस्थित गर्न एकताबद्ध तथा केन्द्रीकृत राख्ने कुरा महत्वपूर्ण थियो । राष्ट्रिय सेनाको अवधारणाअनुसार सम्मानजनक समायोजन हुनुपर्छ र शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउनुपर्छ भन्ने सोंच हाम्रो पार्टीको आधिकारिक मान्यता हो ।

लामो समय तपार्इं आफै पनि समायोजनमा जाने कुरा भयो, तपार्इंलाई कुन घटनाबाट मेरो समायोजनमा जाने कोर्श सकियो भन्ने लाग्यो ?

म समायोजनमा जाने, नजाने भन्ने कुरा मेरो व्यक्तिगत कुरा होइन । यो समग्र आन्दोलन, पार्टीको निर्णय, जिम्मेवारी बाँडफाँड र कार्य विभाजनसम्बन्धी कुरा हो । पार्टीले गरेको निर्णयलाई कार्यान्वयन गर्नु मेरो पहिलो कर्तव्य हो । हालसम्म गर्दै आएको पनि छु । विभिन्न हल्ला र कुराका पछि लाग्नु मेरो हैसियतले दिँदैन । पार्टीमा केन्द्रीय समितिका सदस्यदेखि माथि समायोजनमा नजाने र पार्टीको राजनीतिक जिम्मेवारी सम्हाल्ने निर्णय भएपछि मैले सहर्ष स्वीकार गरें र मेरो समायोजनमा जाने कोर्श सकियो ।

तपाईले जम्मा गरेका हतियार सेनालाई बुझाउँदाको दिन कस्तो लाग्यो ?

हामीले हतियार सेनालाई बुझाएका होइनौं, राज्यलाई बुझाएका हौं । त्यो पनि पुरानो राज्यबाट खोसेर गणतान्त्रिक नयाँ राज्यलाई बुझायौं । र, हाम्रो पार्टीको सरकार भएको हुनाले पार्टीलाई नै बुझायौं, अरुलाई होइन । धेरै लामा–चौडा कुरै छैन, दोष भए पार्टीको र राज्यको होला । हामी त राज्यका मान्छे हौं । राज्यको निर्देशन मानेका हौं । जहाँसम्म हतियारलाई सङ्ग्रहालयमा राख्ने कुरा छ त्यो कार्यान्वयन गरिनुपर्छ, त्यो काम गर्न बाँकी छ ।

राजनीतिक जीवनमा सबैभन्दा खुशी र दुःखको दिन ?

मानिस राजनीतिक प्राणी पनि भएकाले उसको जीवनमा आइपर्ने सुख र दुःख, हाँसो र आँसु, सफलता र असफलता, हर्ष र विस्मात, जन्म र मृत्यु, क्रान्ति र प्रतिक्रान्ति, सरकार र प्रतिपक्ष यी सबै समाज विकासको जीवन प्रक्रिया हुन् । यसो नभएको भए समाज र जीवन नै हुने थिएन ।

धेरै बर्ष लगानी गरेको र धेरै मित्र छुट्टिएको दिन अर्थात् पार्टी विभाजन भएको दिन तपाईंलाई कस्तो लागेको थियो ?

म धेरै दुःखी भएको थिएँ । सपनामा पनि तीन÷चार दिन रोएको थिएँ ।

तपाईं सैन्य कमाण्डरबाट राजनीतिज्ञ हुनुभएको छ । चुनावचाहिँ कहाँबाट लड्ने सोंच बनाउनुभएको छ ?

हो, म चुनाव लड्छु । मलाई विश्वास छ– पार्टीले मलाई टिकट दिनेछ । मेरो रोजाइ मेरो जिल्ला, मेरो क्षेत्र हुनेछ । पार्टीले टिकट दिएमा अवश्य जित्छु र केही गर्छु पनि । म कुरौटे होइन, काम गर्ने मानिस हुँ । म श्रममा विश्वास गर्छु ।

जनयुद्धअघि आफ्नै घरमा बंकर (सुरुङ) बनाउनुभएको थियो रे त्यसलाई आजभोलि कसरी सम्झनुहुन्छ ?

हो, जनयुद्ध शुरु हुनुअघि रोमियो अप्रेशनका बेला आत्मरक्षाका लागि २५÷३० मिटर लामो सुरुङ (ट्यानल) बनाएको थिएँ । त्यो मेरो इतिहास पनि हो ।

नेपाली जनयुद्धले समग्र सैन्य विज्ञानमा केही योगदान दियो कि दिएन ?

नेपाली क्रान्तिमा नेपाली जनयुद्धले समग्र सैन्य विज्ञानमा योगदान ग¥यो गरेन भन्ने कुरा ऐतिहासिक समीक्षाको बिषय हो । केही मौलिक विचार अवश्य प्रदान गरेको छ । यसलाई हामीले दोस्रो राष्ट्रिय सम्मेलनबाट प्रचण्डपथमा संश्लेषण पनि ग¥यौं । त्यो अहिले अध्यक्ष कमरेडले नै स्थगित गर्नुभएको छ । समग्र समाज विज्ञान र सैन्यविज्ञानमा थप योगदान र विकास गर्न यसो गरिएको हुन सक्छ । दर्शनशास्त्र, राजनीतिशास्त्र र वैज्ञानिक समाजवादभित्र सैन्यविज्ञान पनि पर्ने भएको हुनाले यसले केही मौलिक योगदान र शिक्षा अवश्य प्रदान गरेको छ ।

प्रकाशित मितिः २०७० बैशाख २२ गते आइतबार

One Comment

  • युद्द कर्मी

    “जनयुद्धको थालनी आफ्नै हातबाट गर्न पाउदा मानिस भएर जन्मिएको सार्थकता महसुस भएको थियो”, जसरि महाभारतको लडाईमा रामले आम जगत लाइ मुक्ति दिलाएर युद्दको फत्ते गरेका थिए ! त्यसै गरि ‘पासाङ’ले आमुल परिबर्तन सहित जनयुद्द अन्त्य गरिदिए को भए “श्री पासाङ भगवान” को स्वरुपमा, जनता जगतमा पुजाको पात्र हुने थिए ! तर डर लाग्छ “मानिस भएर जन्मिएको सार्थकता” कतै कलंक मा साबित नहोस ! कसैको (टाउकेहरुको) कमाइ खाने भाँडो नबनोस !! पासाङले लडेको महायुद्द, केवल टाउके हरुको पेवा नबनोस !!!जय पासाङ’!जय पासाङ’!! जय पासाङ’!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *