सेल्टर घर भनेर प्रहरी चौकीमा पुग्दा

  
  प्रकाशित मितिः आइतवार, जेष्ठ १९, २०७०       | 1665 Views   ||

Ajayashakti-[अजयशक्ति]

२०५४ चैत्र २१ गते । दैलेखको रखनी गाविसमा कमरेड यदुलगायत त्यस एरियाका कमरेडहरु र कालिकोटबाट हामीलाई लिन आउनुभएका कमरेड आकाशसँग भेट भयो । उहाँहरुसँग समसामयिक परिस्थिति र भौगोलिक जानकारी एवम् जिल्लामा भएका अनुभवहरु साटासाट ग¥यौं ।

भोलिपल्ट स्थानीय कमरेडहरुसँग बिदाई भएर हामी आफ्नो गन्तव्यतर्फ लाग्यौं । हामी कुन स्थानमा पुग्ने हो, कस्तो भुगोल प्रयोग गरेर गन्तव्यमा पुग्ने हो, कहाँ बिकट छ, कहाँ सुगम छ, कहाँ दुश्मनको पोष्ट छ, कहाँ छैन इत्यादि हामीलाई केही थाहा थिएन । थाहा थियो त केवल– हामी कालिकोट पुग्ने हो ।

हामीलाई थाहा थियो– हामी आफ्नो कार्यक्षेत्रमा पुग्ने हो । जहाँ हामी पार्टीको निर्देशन र योजनामा छापामार युद्धद्वारा महाभारत पर्वत श्रृंखलालाई झकझक्याउने र आफ्नो लक्ष्य पूरा गर्ने । यही लक्ष्य उद्देश्यका साथ इतिहासको एउटा कालखण्डमा रोल्पा, रुकुम अर्थात् अग्रभागबाट पृष्ठभागमा आउन पाउँदा हामी सबै गौरवान्वित भएका थियौं । हामी सबै जनयुद्धको इतिहासमा फौजीरुपले लामो समय र धेरै टाढा जान पाउँदा अत्यन्त भाग्यशाली ठान्थ्यौं । किनकि यस्तो महान् अवसर कहिलेकाँही निश्चित व्यक्तिलाई मात्र आउने गर्दछ, त्यो महान् र गौरवमय अवसर रोल्पाबाट कमरेड हितमानको कमाण्डमा कमरेड मदन, तमिल, महेश र रुकुमबाट अभिवादन, विजय, दिन, तिलक, सौजन्य र म गरी १४ जनाले पाएका थियौं ।

हिड्दै जाँदा घनघोर जंगल र टुप्पी नै खस्ने पहाडको डाँडामा पुग्यौं । त्यो पहाड कालिकोट, दैलेख र जुम्लाको सिमानामा पर्दोरहेछ । त्यस पहाडको नाम गुराँसे रहेछ । त्यो गुराँसे लेक हिउँले सेताम्यै थियो । घाम हाम्रो थाप्लाबाट पश्चिमतिर ढल्किसकेको थियो । चीसो हावा सरर चलिरहेको थियो । हामी चीसो हावा खाँदै एकछिन आराम ग¥यौं । आहा ! कति रमाइलो ठाउँ ! उत्तरतिर हिमाल लहरै लस्कर लागेको देखिन्थ्यो । पहाडका फेदीमा गाउँबस्ती देखिन्थ्यो भने पश्चिम र दक्षिणतिर गहुँ, जौं पाकेर पहेंला देखिन्थे । कतै हरियो बनपाखा र बाक्लो बस्ती देखिन्थ्यो । कति मनमोहक, रमणीय ठाउँ ! मनै लोभ्याउने त्यो पहाडबाट चारैतिर धित मर्नेगरी भौगोलिक सुन्दरतालाई नियाल्यौं ।

गुराँसे पहाडको चुचुरोमा केहीछिन आराम गरेपछि हामी ओरालो झ¥यौं । सेताम्य हिउँ सात÷आठ फुटजति परेको थियो । शुरुमा हामी हिउँसँग जिस्किदै हिड्यौं । कोही साथीहरु चिप्लिएर ढल्दा रमाउँथ्यौं र एक आपसमा हिउँका डल्लाले हानाहान गर्ने र साथीहरुले थाहा नपाउने गरी हिउँका डल्ला झोलामा राख्ने गथ्र्यौं । हिउँमा कयौंपटक कम्मरसम्म चुर्लुम्म डुब्दा हातखुट्टा कठ्याङ्ग्रिए, लाटिए । चीसोले लुगलुग काँप्ने भइयो । हामी तेर्सो बाटो हिड्नु थियो । चीसोले हामी न अगाडि बढ्न सक्ने भयौं न पछि नै हट्न । बीचैमा बस्न पनि सम्भव थिएन । हिउँबाट छुटकारा पाउन जस्तोसुकै जोखिम उठाउनुबाहेक हामीसँग अरु केही विकल्प बाँकी रहेन । समस्याले मानिसलाई जुक्ति निकाल्न प्रेरित गर्दोरहेछ । मदन मितज्यूले आफ्नो कम्मरबाट खुकुरी निकालेर उचाल्न सकिने रुख काट्नुभयो । अनि त्यसलाई हिउँमाथि तेर्सो पार्नुभयो र हिड्नुभयो । काठ हिउँमा डुबेन । त्यसपछि कसैले रुख ढाल्ने र कसैले तेर्सो पार्ने गर्दै दुई सय मिटरजति भुगोल पार ग¥यौं । मदन मितज्यूलाई राम्रो उपाय निकालेमा सबैले धन्यवाद दियौं ।

हिउँ अझैं समतल देखिन्थ्यो । कमाण्डर हिमाल र हितमानले चिप्लेटी खेल्दै जाने प्रस्ताव राख्नुभयो र हामी सबै सहमत भयौं । त्यसपछि झोलाहरु मिलायौं, बन्दुक पड्केला भनेर छुचीबाट केप निकाल्यौं । सेताम्य हिउँमा बसेर चिप्लेटी खेल्दै झण्डै पाँच सय मिटरजति दूरी पार गरियो । हिउँ भएको ठाउँ पार गरेपछि बल्ल बचियो भन्दै लामो सास फे¥यौं । दुश्मनसँग लडेर मर्नेहरु झण्डै हिउँमा मरिने थियो भन्दै कमाण्डर हिमालले सबैलाई हँसाउनुभयो । हामी खुसीले हाँस्यौं तर हाम्रो हँसाई हिजो अस्तिको जस्तो थिएन । किनकि हाम्रो जीब्रोसमेत चीसोले लाटिएको थियो ।

साँझ ६ बजेतिर हामी ओभानो ठाउँतिर पुग्यौं । भोकले हैरान परेसान भएका थियौं । हामीसँग केवल एक–एक पोका चाउचाउ थियो । सबैले त्यही खायौं । चाउचाउ खाएपछि हामी ओरालै–ओरालो झर्दै गयौं । अनकन्टार जंगलको बाटो हिड्दा हिड्दै झमक्कै रात प¥यो । हामी कहाँ पुग्छौं, केही थाहा थिएन । जंगलको बाटो अनुमान गर्दै हिड्दै जाँदा एउटा गोठ भेटियो र त्यही गोठमा भोकै सुत्यौं ।

बिहान मिर्मिरे उज्यालोमा हामी गोठबाट जंगलको बीचमा लुक्न गयौं । कमरेड आकाश र एकजना स्थानीय साथी गाउँतिर लाग्नुभयो । दुइघण्टापछि उहाँहरुले तीन मानाजति कोदोको पिठो ल्याउनुभयो । पात्लो ढुङ्गा खोजेर कोदोको रोटी हाल्यौं । रोटी जम्माजम्मी सात वटा भए, हामी १३ जना थियौं । सात वटा रोटीलाई आधा–आधा बाँडीचुँडी पेटका किराहरुलाई शान्त पा¥यौं र फेरि अनकन्टार जंगल छिचोल्दै अघि बढ्यौं । जंगलै जंगलको बाटो कहिले भयंकर चट्टानहरुमा फस्न जान्थ्यौं त कहिले हिमश्रृंखलाहरुमा । कहिले टाउकै छिराउन नसक्ने घना जंगलमा फस्थ्यौं । यस्तै यात्रा गर्दा गर्दै दोस्रो दिन पनि जंगलमै रात प¥यो ।

भोकै सुतियो– अनकन्टार जंगलको बीचमा । भियतनामी जनताले नूनको सट्टा सिरु खाएको, चिनियाँ लालसेनाले जापानविरोधी प्रतिरोध संघर्षका क्रममा छालाका जुत्ताको सुप बनाएर खाएको सम्झना दिलाइदियो हाम्रो भोकले । पेट कटकटी खाइरहेको थियो तर कहाँबाट लिनु पेट भर्ने चीज । पेट कस्दै जंगलकै बीचमा सबै सुत्यौं ।

उज्यालो हुनेबित्तिकै उठ्यौं । हामी सुतेको सिधै तल गाउँ देखियो । त्यो गाउँलाई कालिकोट भन्दा रहेछन् । ऊ पारिको डाँडाको बजार कालिकोट सदरमुकाम मान्मा हो भनेर कमरेड आकाशले देखाउनुभयो । कालिकोट सदरमुकाम हामीभन्दा सिधै पश्चिमतिर देखिन्थ्यो । हामी कालिकोट गाउँमा जाने निर्णय ग¥यौं । हिड्दा भोकले हाम्रा तिघ्राहरु लुगलुग काँप्ने भइसकेका थिए । केही तल झदा हामी ठूलो भीरमा फस्यौं । भयंकर भीरमा बाटो पहिल्याउँदै हामी अलि राम्रो भुगोलमा झ¥यौं । गाउँको नजिकै पुगेपछि दिनभरि जंगलमा छिपेर रात परेपछि हिड्ने सल्लाह भयो । केही खाना किन्न कमाण्डर हिमाल र महेश जाने हामी सबै कमाण्डर हितमानको कमाण्डमा जंगलमै बस्ने र कमरेड आकाशलाई हाउरीको सम्पर्कमा स्थानीय साथीहरुसँग सम्पर्क गरेर हामीलाई लिन आउने सल्लाह भयो । त्यसपछि कमरेड हिमाल, महेश र आकाश हामीलाई जंगलमै छोडेर हिड्नुभयो ।

आकाशमा कालो बादल मडारिन थालिसकेको थियो । बादलले ढाकेर दिउँसै अँध्यारो भयो । जोड–जोडले हावाहुरी चल्न थाल्यो । क्षणभरमै नराम्रोसँग चैते झरी बर्सियो । हामी झोला र बन्दुक लिएर रुखको ओतमा बस्यौं । पानी थामिएन । कमरेड दिन ‘ढल्के रोका’ (पछि कैलालीको हापुरमा शहीद हुनुभयो) ले नजिकै ओढार भेटाउनुभएछ, त्यही गएर ओतियौं । भोक मेटाउन लालीगुराँसको फूल टिपेर खायौं, त्यसले पनि भोक शान्त पारेन । वास्तवमा मानिसको पर्खाइमा बस्नु छोटो समय पनि निकै लामो लाग्दोरहेछ । दुई जना कमरेडहरु कालिकोट गाउँमा गएको पनि घण्टौं भइसकेको थियो । दिन ढल्किन लागिसक्यो । तर, फर्किनुभएन । हामीलाई भोकको छटपटीभन्दा कमरेडहरु कतै गिरप्तारीमा परे कि भन्ने चिन्ता पो लाग्न थाल्यो ।

ओढारमा केही साथीहरु सुत्नुभएको थियो । तर, कमाण्डर कमरेड हितमान भने ठूल्ठूला आँखाले गाउँ गएका साथीहरु आउने बाटो कुरिरहनुभएको थियो । साँझ पर्नै लाग्दा गाउँ जानुभएका कमरेड हिमाल र महेश आइपुग्नुभयो । त्यसपछि कमरेड हितमानले अब बच्यौं कमरेडहरु भन्दै खुसीले नाच्नुभयो र हिमाल र महेशलाई दुई हात जोडेर ढोग्नुभयो । भोकले सुकेका ओठहरु खुसीले मुस्कुराए । कमरेडहरुले सबैलाई खाजा र चाउचाउ बाँडिदिनुभयो । साथै कालिकोट गाउँमा प्रहरी चौकी नभएको हिमालले जानकारी गराउनुभयो ।

साँझ अँध्यारो नहुँदै हामी कालिकोट गाउँतिर झ¥यौं । गाउँको माथि सिरानमा रहेको गोठमा आकाश कमरेड बस्नुभएको रहेछ, उहाँ हाउरीको सम्पर्कमा जानुभएको रहेनछ । सबै साथीहरु एकैपटक आक्रोशित भयौं र रीसको झोकमा आकाशलाई धेरै भन्यौं– ‘तिमी दुश्मनको सिआइडी हो, नत्र यतिका दिनसम्म हामीलाई जंगलमा भोकै हिडाल्ने र पार्टीको सम्पर्कमा पनि नजाने, तिमी पक्कै दुश्मन हौं ।’ कमरेड आकाशको झोला खानतलासी ग¥यौं, त्यहा पार्टीको दस्तावेज र एउटा राइफलको गोली खाने कट्टा भेटायौं । कमाण्डरहरुले अगाडि नै बढ्ने र दुश्मन आयो भने पूरै लडेर जाने भन्नुभयो ।

हामी कालिकोट गाउँबाट अगाडि जाँदै थियौं तीन जना मानिसले हामीलाई हकारे । तिनीहरुलाई तत्कालै कब्जामा लिएर अनुसन्धान ग¥यौं, ती सर्वसाधारण भएको थाहा भएपछि उनीहरुलाई नै हाउरीसम्म बाटो सिकाउन सँगै लग्यौं र गाउँको नजिक पुगेपछि फिर्ता पठाइदियौं ।

झमक्कै रात परिसकेको थियो । आकाशमा बिजुली चम्किदा कमेरोले पोतेका घरहरु र बाटो देखिन्थ्यो । त्यही अँध्यारो रातमा अनुमान गर्दै हिड्यौं हामी । हाउरी गाउँमा पुगेपछि कमरेड आकाशले १०÷१२ वटा घरमा लग्नुभयो तर पार्टीसम्पर्क घर भेटाउन सक्नुभएन । अन्तिममा त्यही घर हो कि भनेर जाँदै थियौं त्यो त प्रहरी चौकी पो रहेछ, हामी केही पछि हट्यौं । उज्यालो हुन लागिसकेको थियो, कमाण्डर हिमाल र हितमानले फर्किने कुरा गर्नुभयो । हामी सबै सहमत भयौं र फर्कियौं । हामी फर्किने बेला कमरेड आकाश धुरुधुरु रोइरहनुभएको थियो । मुसलधारे पानी, त्यसमाथि असिनाको चुटाइमा हामी पहिले आएको बाटैबाटो फर्किरहेका थियौं ।

पार्टीले दिएको जिम्मा पूरा गर्न सकिनँ भनेर कमरेड आकाश एउटा घरको आँगनमा बसेर रोइरहेको बेला सन्जोगले त्यही घर नै पार्टी सम्पर्क रहेछ र सम्पर्कमा परिचय गरेपछि दुवैजना हस्याङफस्याङ गर्दै हामीलाई फर्काउन आउनुभयो । बिहान भइसकेको र गाउँमा जान सम्भव नभएपछि नजिकैको जंगलको एउटा ओढारमा बस्यौं । बिहान र साँझको खाना त्यही ओढारमै ल्याउनुभयो साथीहरुले । साँझको खाना खाइसकेपछि करिब चार घण्टा हिडेर कालिकोटको मान्मा गाविसको निपाने गाउँमा सेल्टर लियौं ।

निपाने गाउँमा दुई दिन बसेपछि कमरेड हितमानको स्क्वाइड जुम्लातिर लाग्ने भयो । हाम्रो हिमालको स्क्वाइड कालिकोट हुँदै अछामतिर लाग्ने भयो । १ नं. जिल्ला रोल्पाबाट गएका कमरेडहरुसँग दरिला क्रान्तिकारी हात मिलाउँदै हामी आ–आफ्नो कार्यक्षेत्रतिर लाग्यौं । एक सेल्टरपछि हामी मान्माको तल कर्णाली पुल तरेर कोटबारा गाउँमा पुग्यौं ।

२०५४ चैत २६ गते कोटबारा मालकोट र लालुगाउँको सिमानामा सशस्त्र प्रहरीहरुमाथि निशस्त्र जनताले प्रतिरोध गर्दा १ जना प्रहरीको मृत्यु भएछ भने दर्जन बढी घाइते भएछन् र एउटा राइफल कब्जा गरेका रहेछन् जनताले । उक्त घटनामा कमरेड कालीबहादुर विकले सहादत प्राप्त गर्नुभएको रहेछ भने कमरेड मनकला विक गम्भीर घाइते हुनुभएको रहेछ । शहीद कमरेड कालीबहादुरको शोकसभा र घाइते योद्धालाई स्वागत गर्ने कार्यक्रम चैत्र २८ गते मालकोटमा राखिएको रहेछ । हामी त्यही कार्यक्रममा सहभागी भयौं । कार्यक्रममा वक्ता कमरेडहरुले नेपाली जनयुद्धको इतिहासमा पहिलोचोटी जनताले संगठित भएर दुश्मनको हतियार कब्जा गरेको पहिलो घटना भएको बताउनुभयो । उक्त घटनाले साहस भएपछि हरेक मोर्चाहरु सजिलै जित्न सकिन्छ भन्ने कालिकोटे महान् जनताको साहसबाट शिक्षा लियौं ।

२०५५ जेठ १६, कालिकोट
प्रकाशित मिति : २०७० जेठ ५ गते आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *