यस्ता नेताबाट के आशा गर्ने ?

  
  प्रकाशित मितिः आइतवार, जेष्ठ १९, २०७०       | 144 Views   ||

Dipak_sapkota-[दिपक सापकोटा]

विघटित संविधानसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसका सभापति सुशील कोइराला र तेस्रो ठूलो दल नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनाल अहिले लोकमानसिंह कार्कीको नियुक्तिमा गल्ती भयो भन्दै हिडिरहेका छन् । सुशील कोइराला आफू परिबन्दमा परेको बताइरहेका छन् भने झलनाथ खनालले उच्चस्तरीय समिति विदेशीको दबाबमा परेर निर्णय गरेको बताएका छन् । तर, यी दुवै नेताहरु सम्मिलित उच्चस्तरीय राजनीतिक समितिले सिफारिस गरेबमोजिम शाहीकालका मुख्यसचिव लोकमानसिंह कार्कीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राष्ट्रपतिबाट नियुक्ति भएका हुन् । यसले नेपालका केही नेताको लोकतान्त्रिक अभ्यासको टिठलाग्दो अवस्थामात्रै प्रतिविम्बित गर्दैन बरु उनीहरुको नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न खडा गर्छ । आगामी निर्वाचनमा सबैभन्दा ठूलो दल बन्ने दावा गर्दै हिडेका दुवै दलका नेताको यस्तो रुवाबासीले नेपालका केही दलका नेताहरुको विजोग मात्रै देखाउछ ।

लोकमानसिंह कार्कीलाई संवैधानिक परिषद्ले नियुक्तिको लागि सिफारिस गर्दा, सरकारले त्यसलाई अनुमोदन गरी राष्ट्रपतिकोमा पठाउ“दा र राष्ट्रपतिले उक्त नियुक्तिलाई अनुमोदन गर्दा उक्त समितिका संयोजक सुशील कोइराला नै थिए । हप्तौं दिनसम्म माथापच्ची गरेपछि दलहरु लोकमानसिंह कार्कीको नाम सिफारिस गर्न एकमत भएका थिए । तर, जसै लोकमानसिंहको नाम चर्चामा आयो तब नेपाली जनमतको एउटा हिस्सा विरोधमा उत्रियो । केही समूह तथा व्यक्तिले अभियानै बनाएर कार्कीको विरोध गर्न थालेपछि यी नेताहरु हिल्न थाले र आफैले गरेको निर्णयबाट पछि हट्न थाले । उनीहरुले आफ्नो पार्टीपंक्ति तथा सार्वजनिक रुपमा नियुक्ति गल्ती भएको बिलौना त गर्दै हिड्न थाले तर त्यसलाई रोक्न प्रभावकारी कदम चालेको देखिएन । बैशाख महिनाभरि उच्चस्तरीय राजनीतिक समितिको संयोजक सुशील कोइराला थिए तर उनले यो निर्णय पुनःविचार गर्न समितिको बैठक समेत डाकेनन् । बरु, सम्पूर्ण दोष एमाओवादीको थाप्लोमा हालेर पानीमाथिको ओभानो बन्ने कोशिश गरे र आज आफ्नो निर्णयको स्वामित्व लिनुको सट्टा त्यसमा प्रायश्चित गर्दै बिलौना गरिरहेका छन् ।

यी दुवै नेताले लोकमानसिंह कार्कीको नाम सिफारिस गरेको केही सातासम्म आफ्नो निर्णयको बचाऊ गर्दै थिए । तर, विस्तारै उनीहरुको अडान फितलो हु“दै गयो । एमालेका अध्यक्ष खनालले त कार्की अख्तियार प्रवेश गर्नु केही दिनअघि मात्रै आफ्नो पार्टीनिकट पेशागत महासङ्घको प्रतिनिधिमण्डललाई भेट्दा कार्कीको नियुक्तिका विषयमा विरोधमा उत्रनुको अर्थ नरहेको बताएका थिए । त्यसक्रममा खनालले कार्कीको सिफारिस गर्दा शुरुमा आफूले पनि सहमति दिएको स्वीकार गरेका थिए । तर, कार्कीलाई राष्ट्रपतिको उपस्थितिमा कामु प्रधानन्यायधीशले शपथ ख्वाएपछि खनालले कार्कीको नियुक्तिमा विदेशी हस्तक्षेप भएको अत्यन्त गम्भीर अभिव्यक्ति दिए । आफै संलग्न रहेको समितिले गरेको निर्णयमा विदेशी दबाब आएको बताएर खनालले आफ्नै नेतृत्वमाथि प्रश्नचिन्ह खडा गरेका छन् । उनको पार्टीले त कार्कीको नियुक्तिलाई ‘राष्ट्रियतामाथि उत्पन्न संकट’ का रुपमा सैद्धान्तीकृत गरिसकेको छ । यहा“ उल्लेखनीय छ जेठ १ देखि ‘विदेशी दबाबमा’ आएको त्यही उच्चस्तरीय समितिको संयोजकत्व खनालले गरिरहेका छन् ।

एउटा ल्याटिन उखान प्रचलित छ, कुनै व्यक्ति जो आफैमाथि शासन गर्न सक्दैन, त्यसले अरुमाथि शासन गर्छु भन्नु विसंगत मात्र हुन्छ । यो ल्याटिन उखानलाई नेपाली नेताका पछिल्ला अभिव्यक्तिस“ग दा“ज्ने हो भने केही शीर्ष नेताको नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न उठ्छ । महिनौं दिन लगाएर आफैले गरेको निर्णयको स्वामित्व लिई कार्यान्वयन गर्नुको सट्टा जब उनीहरु बिलौना गर्दै हिड्छन् वा आफैमाथि विदेशी दबाब परेको रुवाबासी गर्छन् भने सर्वसाधारण जनताले उनीहरुबाट के अपेक्षा गर्ने ? हप्तौं, महिनौं लगाएर  निर्णय गर्ने र निर्णय गरेपछि त्यसमा अडिग हुन नसक्ने नेताहरुले कसरी संक्रमणकालको दल–दलमा फसिरहेको नेपाललाई उद्दार गरेर प्रगति र समृद्धितर्फ लैजान सक्छन् ? के कोइराला वा खनाललाई लोकमानसिंह कार्कीको पृष्ठभूमि थाहा थिएन ? निर्णय लिनका लागि अन्य नेताले जबरजस्ती गरेका थिए ? के उक्त सहमति हतारमा गरिएको थियो र ?

एउटा मान्यता व्यावहारिकरुपमै खुबै प्रचलित छ– सातचोटी नाप, एकचोटी काट । यो नेतृत्वको एउटा गुण पनि हो । तर, नेपालका अधिकांश नेता पहिला काट्छन् अनि त्यसपछि नाप्न थाल्छन् । कार्कीको नियुक्तिमा प्रायश्चित गरिरहेका कांग्रेस र एमालेका सय जनाभन्दा बढी केन्द्रीय सदस्य रहेको समिति छ । दर्जनौं विज्ञ रहेका अनेकानेक विभाग छन् । कुनै निर्णय गर्नुअघि त्यसबारे पर्याप्त छलफल गर्नु, आफ्ना पार्टी कमिटीहरुमा राय लिनु यी दलले दाबी गर्ने जस्तै लोकतान्त्रिक प्रक्रिया हुन् । तर, आफैले गरेका निर्णयमा अडान लिन नसक्ने रवैयाले उनीहरुको लोकतान्त्रिक अभ्यासको पनि बिचल्ली भएको छ । आफैले गरेको निर्णयलाई बाह्यशक्तिको प्रभावमा गरिएको प्रतिक्रिया दिएर त केही नेताले आफ्नै नेतृत्व क्षमताप्रति नै अविश्वास व्यक्त गरे । यो भन्दा बिडम्बना के हुन सक्छ ? आफूलाई लोकतान्त्रिक भनेर कहिल्यै नथाक्ने नेताहरुले गम्भीर विषयबस्तुमा पार्टीले सामूहिकरुपमा निर्णय लिने, राष्ट्रिय महत्वका एजेण्डाहरुबारे बौद्धिक तप्का तथा जनताका राय सुझाव माग्ने तथा अन्य राजनीतिक शक्तिस“ग पनि त्यसबारे अन्तरक्रिया गर्ने संस्कारको विकास कहिले गर्लान् ?

नेपाली राजनीतिको अहिलेको एउटा ठूलो समस्या भनेको नेतृत्व संकट पनि हो । नेपालको झण्डै तीन सय वर्षको इतिहासमा एक हातको औंलामा गन्न मिल्ने मात्रै नेता देखिएका छन्, जसले देशलाई संकटको घडीमा पार लगाउने आँट गरे र सफल भए । नेपाली कांगे्रसका नेता गिरिजाप्रसाद कोइरालाले पार्टीभित्रको असहमतिका बाबजुद शान्तिप्रक्रियालाई अगाडि बढाउने साहस गरे । एमाले नेता मदन भण्डारीले पनि संकटका बेला पार्टीलाई स्पष्ट दिशा दिएका थिए । तर, अहिले खासगरी यी दुई दलमा स्पष्ट नेतृत्व संकट देखिएको छ जसको कारण देश गोलचक्करमा फसिरहेको छ । यी दलमा न त ‘पिरामिड’ संरचनामा नेतृत्व छ न आफ्ना समकक्षीलाई सम्मान गर्ने संस्कार । बरु, शीर्ष स्थानमा बसेकाहरुमा निर्णयहीनता, अडानविहीनता र दिशाहीनता व्याप्त छ । धेरैजसोमा न पार्टी हाँक्ने स्पष्ट लाइन छ न देशलाई नेतृत्व दिने स्पष्ट दृष्टिकोण नै ।

के नेताहरुलाई पटक–पटक आफ्ना निर्णयमाथि पुनःविचार गर्ने अधिकार हुन सक्छ ? सक्दैन । अलोकतान्त्रिक पद्दति अपनाएर हतारमा निर्णय गर्ने तर पछि भिड सिद्धान्तको पछि लागेर आफैंले गरेको निर्णयको स्वामित्व लिन डराउने व्यक्तिहरुलाई कसरी नेता भन्न सकिन्छ ? देशलाई संकटबाट निकास दिन चिन्तन नगर्ने, जनताको जीवनमा प्रगति ल्याउन ल्याकत नभएका आफ्नो मतमा अरुलाई ‘कन्भिन्स’ गर्न नसक्ने पनि कसरी नेता हुन सक्छन् ? संकटका बेला जनतालाई आश्वस्त पार्न सक्ने, अभिभावकत्व दिन सक्ने, बाटो हराएका बेला गन्तव्यतिर डो¥याउन सक्ने मात्रै सच्चा नेता हुन सक्छ । कुनै व्यक्तिको कार्यले अरुलाई बढी सपना देख्न प्रेरणा दिएन भने वा बढी क्रियाशील हुन उत्प्रेरित गरेन भने त्यो के नेता हुन्छ ?

नेपालका अधिकांश नेतामा रहेको लोकतान्त्रिक प्रक्रियामा बसेर निर्णय गर्ने, निर्णय गरेपछि दृढ भएर कार्यान्वयन गर्नुको सट्टा पछि फर्कने प्रवृत्तिले उनीहरुको विश्वसनीयतामा त आँच आएको छ नै, राष्ट्रलाई पनि घाटा पुगिरहेको छ । भनिन्छ, ज्यान जाओस् तर बचन खेर नजाओस् । तर, नेपालका केही नेता वचनसँगै आफ्नो साख पनि खेर फालिरहेका छन् । पार्टीहरुले निर्णय गरिसकेपछि, समझदारी बनेपछि वचनमा पक्का रहने संस्कारको पनि विकास गर्नुपर्छ । अन्यथा, आफूले गरेका निर्णय तथा समझदारीप्रति अडिन नसक्ने नेताले कसरी करोडौं जनताको नेतृत्व गर्न सक्छ ? नेता भनेको अडान, साहस र बलिदानको पर्याय हो । साहसी तथा सिपालु नेताले जब अवसरहरुलाई अझ राम्रोका लागि उपयोग गर्छ, त्यसबेला मात्र प्रगति सम्भव हुन्छ । आफ्नै निर्णयमा बिलौना गर्ने व्यक्तिहरुबाट समाज र राष्ट्रले के आशा गर्न सक्छ ? बरु स्टेफन हकिङ्सले भनेजस्तै एउटा कायर नेता सबैभन्दा खतरनाक मानिस हुन्छ ।

प्रकाशित मिति : २०७० जेठ ५ गते आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *