-[कृष्णबहादुर महरा]
नेता, एकीकृत नेकपा (माओवादी)
असारमै हुने भनिएको संविधानसभाको चुनावको अहिलेसम्म मिति नै घोषणा हुन सकेको छैन । यसरी चुनावको तिथिमिति घोषणामै किन ढिलाइ भइरहेको छ ?
हामीले राजनीतिक सहमति गर्दा असारको पहिलो साताभित्रै चुनाव होस् भनेका थियौं तर सरकारको तयारी नपुगेका कारणले उक्त समयमा चुनाव हुन सकेन । अबचाहिँ चुनावको तयारी पूरा हुँदैछ । र, निकट भविष्यमै निर्वाचनको मिति घोषणा हुनेछ । त्यो भन्दा पहिले दुइवटा मूलभूत कामहरु बाँकी छन्, पहिलो– निर्वाचन ऐन बनाउने । निर्वाचन ऐनमा देखिएको थे्रसहोल्डसम्बन्धी समानुपातिकको कुरा र निर्वाचन आयोगमा दर्ता गर्दा चाहिने मतदाता संख्याको कुरामा विवाद थियो, अहिले छलफल बहसकै क्रममा छ र निष्कर्षमा पुग्दैछ । यो टुङ्गिनेबित्तिकै सरकारले ऐन पास गर्नेछ ।
दोस्रो कुरा, केही समयभित्र क्षेत्र निर्धारण आयोग बन्दैछ । त्यसका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रबाट परामर्श लिएर सरकारले आयोग बनाउँदैछ । त्यसलगत्तै चुनावको मिति घोषणा हुन्छ । सरकारको तदारुकता र प्रतिबद्धता हेर्दा चुनावको मिति घोषणामा अब ढिलाइ नहुने मैले देखेको छु ।
थ्रेसहोल्डबारे, फौजी अभियोग लागेका व्यक्तिलाई उम्मेदवार नबनाउने लगायतका निर्वाचनका ऐन कानूनमा सहमति भइसकेपछि पनि एमाओवादी र मधेशवादीहरुले अड्को थापिरहेका छन् भनेर एमाले कांग्रेसहरुले आरोप लगाइरहेका छन् नि ।
एमाले र कांग्रेसले लगाएको आरोपमा कुनै सत्यता छैन । हामीले निर्णय गरेको कुरा साँचो हो तर निर्णय गरिसकेपछि चार दलभन्दा बाहिर रहेका अन्य दलहरुले तीव्र विरोध गरे । त्यो विरोध र आलोचनाको पनि त सम्मान गर्नुपर्छ । त्यो आलोचना र विरोधको सरकारले पनि सकारात्मकरुपमा लिएको छ । त्यसलाई मध्यनजर गर्दै हामीले यो निर्णयलाई बदल्नुपर्छ भन्नेमा पुगेकै हो ।
यसमा हाम्रो तर्क के हो भने यो संविधानसभाको चुनाव हो, सामान्य संसद्को चुनाव होइन । संविधानसभाको चुनाव सधैं हुँदैन, खास–खास समयमा हुने हो । यस्तो बेलामा थे्रसहोल्ड वा समानुपातिक प्रतिनिधित्वको कुरालाई घटाउने वा नराख्ने भन्ने विषय नराख्दा नै हुन्छ । त्यसमा सबै प्रकारका मनोविज्ञान लिन सकियो, समावेश गर्न सकियो भने संविधान बनाउन सहज हुन्छ भन्ने आधारले यो कुरालाई हामीले नयाँ ढंगबाट सोच्नुपर्छ भनेका हौं । अरु दलहरुलाई पनि चुनावमा ल्याउन थ्रेसहोल्ड नराख्दा मद्दत गर्छ भन्ने हामीले देखेका छौं । यसकै कारण ठूलो शक्ति बाहिर रहेर जनता, सरकार र निर्णयका विरुद्ध हुने स्थिति नआओस् र चुनाव नविथोलियोस् भन्ने हाम्रो मनसाय हो ।
चुनावको कुरा गरिरहँदा साना दलहरु आन्दोलित छन्, अझ तपाईंहरुबाटै फुटेर गएको वैद्य माओवादी अहिलेकै अवस्थामा चुनाव सम्भव छैन भनेर बहिस्कार नै गर्ने बताइरहेको छ, के वैद्य माओवादीले चुनाव बहिस्कार नै गरेर जान्छ ?
मैले त्यस्तो देख्दिनँ । उहाँहरुभित्र पनि अहिले गम्भीर छलफल भइरहेको छ । अहिले उहाँहरु चुनाव बाहिर गएर, बहिस्कार गरेर के गर्ने भन्ने ठोस कार्यक्रम नै छैन । कुनै राजनीतिक अभियान वा आन्दोलनको कार्यक्रम नदेखिएको हुनाले उहाँहरु ढिलो या चाँडो चुनावमा कुनै न कुनै प्रकारले भाग लिनुहुन्छ । मैले उहाँहरुमा ठूलो समस्या देखेको छैन ।
कार्तिक वा मंसिरभित्र चुनाव हुन्छ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
मेरो बुझाइमा चुनावका लागि जनता तयार छन्, अधिकांश राजनीतिक दलहरु तयार छन् र सरकार पनि तयार छ । त्यसकारण संविधानसभाको निर्वाचन कार्तिक मसान्तभित्र वा मंसिरमा हुन्छ भन्नेमा म विश्वस्त छु ।
कांग्रेस, एमाले चुनावी अभियानका साथ देश दौडाहामा लागिसकेका छन्, एमाओवादीले किन चुनावी अभियानको तयारी नगरेको त ?
हाम्रो पार्टी एकीकृत माओवादी पनि चुनावी अभियानमा लागेको छ । चुनावी अभियान घोषणै गरेर लागेको नहोला तर चुनाव हुनुपर्छ भन्ने राजनीतिक निर्णयदेखि आन्तरिक पार्टी संगठन सुदृढीकरण एवम् महाधिवेशनको वैचारिक राजनीतिक उद्देश्यलाई राज्यस्तरसम्म कार्यक्रम नै गरेर लगिसकिएको छ । अब जिल्ला जिल्लामा पनि भाव सम्प्रेषणका कार्यक्रमहरु भइरहेका छन् । हामी आन्तरिक सुदृढीकरणसहित पार्टीका सबै गतिविधिलाई चुनावी अभियानसँग जोड्छौं । चुनावको मिति घोषणा भइसकेपछि चुनावी अभियान औपचारिकरुपमा तीव्रतामा जान्छ ।
अख्तियारमा लोकमानसिंह कार्कीको नियुक्ति निकै विवादास्पद बन्यो, सिफारिस गर्ने दलहरुमध्ये कांग्रेस एमालेले त सार्वजनिकरुपमै गल्ती भयो भनिसके, कतिपयले कार्कीको सिफारिस एमाओवादीले गरेको हो पनि भन्छन्, एमाओवादीले लोकमानसिंहकै पक्षमा अडान लिएको हो ?
स्पष्ट कुरा, कार्कीको नियुक्ति एमाओवादीको सिफारिस होइन । यो त चार दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रमा छलफल हुँदै जाँदा साझा उमेदवारको रुपमा लोकमानसिंह कार्कीको नाम आयो, यसमा सबै सहमत भए र हस्ताक्षर गरे । आ–आफ्ना उमेदवारहरु एकले अर्कोलाई नमान्दाखेरि कार्कीमा सहमति भएको हो । सहमति भएर निर्णय भइसकेपछि फेरि पछाडि फर्किएर अनावश्यक विवाद गर्नुको कुनै अर्थ छैन । संयन्त्रमा सहमति भो, निर्णय भो र राष्ट्रपतिकहाँ गइसक्यो । यदि राष्ट्रपतिले फर्काएको भए अर्को छलफलको विषय हुन्थ्यो, राष्ट्रपतिले पनि पास गरिसके । अब फर्काउने एउटा मात्र कानूनी उपाय छ– त्यो हो महाअभियोग लगाएर संसदले फिर्ता लिन सक्छ । महाअभियोग लगाउनलाई अहिले संसद्, संविधानसभा नै छैन । त्यसैले निर्णय गरिसकेको कुरा सबैले मानेर जानुपर्छ ।
दोस्रो कुरा, हिजो कसको पक्षमा को थियो भन्ने कुरा आज आग्रह पूर्वाग्रह राखेर हेर्नुहुँदैन । मान्छे बदलिन पनि त सक्छ । हिजो राजाको समयमा हामीले नै राजालाई मानेका थियौं । राजतन्त्र गइसकेपछि अब कोही पनि राजा छैन, सबै गणतन्त्रवादी छन्, गणतन्त्रको धारभित्र यदि कसैले आफ्नो क्षमता प्रयोग गर्न खोज्छ भने त्यसलाई अवसर दिनुपर्छ, पूर्वाग्रह राख्नुको कुनै अर्थ छैन । यो राजनीतिकरुपले सही छ भन्ने मलाई लाग्छ ।
लोकमान प्रकरणसम्म आइपुग्दा एमाओवादी विदेशी शक्तिकेन्द्रको गुलाम बनिसक्यो भन्ने आरोप पनि छ नि ?
यसको पुष्टि हुनुपर्छ । राष्ट्रवादको कुरा गर्दाखेरि हामीले छिमेकी देशहरुको सम्बन्धको कुरालाई पनि महत्वका साथ हेर्नुपर्छ । हामी कुनै देशको गुलाम वा कुनै देशसँग आत्मसमर्पण गरेकै छैनौं, गर्नु पनि हुँदैन । हाम्रो देश, स्वतन्त्र, स्वाधीन र सार्वभौमसत्तासम्पन्न मुलुक हो । हामी सार्वभौम मुलुक र नयाँ नेपालको पक्षमा रहेको हुनाले कुनै विदेशी शक्तिराष्ट्रको पुच्छर बनेका छैनौं । यो आरोप लगाउनेहरुको निराधार आरोप बाहेक अरु पनि केही होइन । आरोप लगाउनेहरुले पनि सत्तामा पुगिसकेपछि राजनीति गर्दा, नयाँ उँचाईमा सम्बन्ध स्थापित गर्नुपरेपछि बुझ्दै जान्छन् । नबुझेकाहरुले लगाउने आरोप हो यो ।
पछिल्लोपटक एमाओवादी अध्यक्ष प्रचण्डले चीन र भारतको भ्रमण गर्नुभयो र भ्रमणका क्रममा दुवै देशसँग त्रिदेशीय सम्झौताको विषयमा कुरा गरेको बताउनुभएको छ, यो त्रिदेशीय सम्झौता भनेको के हो ?
नेपालको उत्तरतिर चीन र दक्षिणतिर भारत दुई ठूला शक्तिशाली राष्ट्रहरु छन् । यी शक्तिशाली छिमेकी देशहरु आर्थिक उन्नतिमा तीव्र गतिमा बढिरहेका छन् । चीन त निकै अघि बढ्या छ, भारत पनि क्रमशः अघि बढ्दैछ । आर्थिक प्रगतिमा छन् दुवै देशहरु । यी दुवै आर्थिक विकासका दृष्टिले निकै अघि बढेका देशको बीचमा गरिब नेपाल रहनु उहाँहरुका निम्ति सुहाउने विषय होइन । उहाँका विरोधी तत्वहरुले खेल्ने ठाउँ पनि रहन्छ । उहाँहरुको सबभन्दा चासोको विषय सुरक्षाको छ, सुरक्षाको भ्यूप्वाइन्ट झन् कमजोर हुन्छ, त्यसकारणले झन् नेपाललाई बलियो बनाउनका निम्ति अझै पनि दुवै देशले नेपालमा लगानी बढाउनुपर्छ, नेपालको विकासमा मद्दत गर्नुपर्छ भन्ने उद्देश्यमा आधारित छ यो त्रिदेशीय सम्झौता । यही विषयमा यही तथ्यका साथ हामीले दुइटै देशसँग कुरा राखेका छौं ।
एमाओवादीको हेटौंडा महाधिवेशनले आर्थिक उत्पादनका लागि सङ्घर्ष भन्ने कार्यदिशा नै पारित गरेको छ, यसको मर्म के हो ?
राजनीतिक परिवर्तनको मुद्दाले मात्रै जनताको समग्र पाटो छुँदैन । राजनैतिक मुद्दालाई अगाडि बढाउँदै गर्नुपर्छ, त्यसलाई छोड्नु हुँदैन । साथै जनताको जीवनस्तर उठाउने कुरालाई पनि सँगसँगै लानुपर्छ । समाजको विकास गर्ने कुरा, भौतिक रुपले गाउँ समाज, क्षेत्रको विकास गर्ने कुराले पनि जनताको जीवनस्तर उठ्दै जान्छ र विचार पनि नयाँ बन्दै जान्छ । जनताको भौतिक स्थितिको सुधारसहितको कार्यदिशा बनाएको हो हामीले । राजनीतिक परिवर्तन र आर्थिक विकास दुवै सँगसँगै जानुपर्छ । यसलाई नै हाम्रो पार्टीले नयाँ कार्यदिशा लिएको छ ।
हेटौंडा महाधिवेशन भएको चार महिना बितिसक्दा पनि पार्टीका सांगठनिक कामदेखि अन्य गतिविधि त्यति उत्साहित रुपमा भइरहेको देखिदैन नि !
तपाईंले भनेको कुरा सही हो । राजनैतिक र वैचारिक हिसाबले हामीले महाधिवेशनबाट छलाङ हानेकै हो । तर, सांगठनिकरुपमा जति छिटो बढ्नुपथ्र्यो केही कमी भएको छ । तैपनि काम भइरहेको छ, महाधिवेशनपछि बसेको केन्द्रीय समितिको बैठकले केही केन्द्रीय सदस्यहरु थपेको छ । पार्टीभित्र अन्य अंगहरु स्थायी समिति, पोलिटव्यूरो बनेको छैन, त्यो निर्माण गर्न र जबस÷मोर्चाका इन्चार्जहरु ठोस गर्नलाई हामी यही जेठ २५ गतेदेखि केन्द्रीय समितिको बैठक बस्दैछौं, त्यसबाट सबै समस्याको हल गर्छौं ।
अहिले एमाओवादीमा प्रवेशको लहर नै चलेको छ तर पार्टीको आन्तरिक सांगठनिक संरचना भने छिन्नभिन्न र अस्तव्यस्त छ, तपाई संगठन विभाग प्रमुखको हैसियतले के भन्नुहुन्छ ?
हैन, तपाईंले भनेजस्तै गरी संगठन छिन्नभिन्नै भएको अवस्था होइन । बरु विभिन्न पार्टी तथा अन्य क्षेत्रका महत्वपूर्ण व्यक्तिहरु एमाओवादीमा प्रवेश गरिहनुभएको छ । हाम्रो संगठनको तल्लो निकायसम्म संगठन सुदृढीकरण गर्न योजना र कार्यक्रमसहित जान बाँकी छ । यसलाई नै सबै छिन्नभिन्न, अस्तव्यस्त भइसक्यो केही पनि छैन भन्ने निष्कर्ष निकाल्नुहुँदैन । राजनीति पनि छ, संगठन पनि छ । अलिकति त्यसलाई क्रियाशील बनाउने कुरा मात्र बाँकी हो । त्यो काम पनि अब हामी केन्द्रीय समितिको बैठकपछि ठोस योजना र कार्यक्रम बनाएर हल गर्छौं ।
एमाओवादीबाट फुटेर गएको वैद्य माओवादीका नेता विप्लवले नेतृत्व सच्चिएर आए पार्टी एकताको सम्भव छ भन्नुभएको थियो, पछिल्लो समयमा तपाईंसँग नियमित भेटघाट पनि भइरहेको छ रे उहाँसँग । के पार्टी एकताको कुरा सम्भव छ ?
हामीले जुन राजनैतिक कार्यदिशा लिएका छौं त्यो सही छ त्यसमा हामीले अहिले सम्झौता गर्न सक्दैनौं । बरु उहाँहरुको कार्यदिशा नै छैन अहिले । उहाँहरु कार्यदिशाविहीन हुनुहुन्छ । बरु कार्यदिशाविहीन भएको अवस्थामा यही पार्टीमा फर्किनुस् भन्ने हाम्रो आग्रह र अपेक्षा हुन्छ । उहाँले जुन एकताको भाव देखाउनु भो त्यसका लागि उहाँलाई धन्यवाद छ, उहाँले राम्रै कुरा गर्नुभएछ ।
एकताको निमित्त राजनैतिक वैचारिक भिन्नताले मद्दत गर्दैन । अरु प्राविधिक विषयहरुमा हामी सबै सच्याउन सक्छौं । तर, राजनैतिक वैचारिक हिसाबले हाम्रो पार्टीको हेटौंडा महाधिवेशनले लिएको लाइन ठीक भएको हुनाले यो लाइनै परिवर्तन गरेर एकता गर्नुपर्छ भन्नेतिर हामी छैनौं । म के भन्छु भने अहिलेको राजनीतिक कार्यदिशालाई समर्थन गरे पनि नगरे पनि राजनीतिक मुद्दामा न्यूनतम सहमति भयो भने हामी पार्टी एकता वा मोर्चा बनाएर जान सक्छौं ।
एउटा व्यक्तिगत प्रसंग कोट्याएँ, यहाँ पार्टीभित्र इमान्दार र शालीन नेताका रुपमा परिचित हुनुहुन्छ । तर, तपाईंमाथि कहिले चिनियाँ व्यापारीसँग पैसा मागेको, कहिले घर किनेकोजस्ता आरोप लागिरहेका छन्, यथार्थता के हो ? यस्ता विषयलाई तपाईंले कसरी लिनुभएको छ ?
मैले यी विषयलाई धेरैपटक धेरै ठाउँमा खण्डन गरिसकेको छु । मलाई दुःख लागेको छ, किन मेरो विरुद्धमा यति धेरै दुस्प्रचार गरिएको छ । यसमा कुनै तथ्य छैन । बरु मैले तपाईंका माध्यमबाट यो अपील गर्छु कि स्वतन्त्र नागरिकहरुले कसैको हस्तक्षेपबिना मेरो सम्पत्तिको छानविन गरुन् र सत्यतथ्य बाहिर ल्याऊन् । यो कुराले नै वास्तविकता के हो भन्ने पुष्टि हुन्छ ।
मैले फेरि भन्छु– ती कुनै आरोपहरु तथ्यसंगत छैनन् । मेरो राजनीतिक चरित्र हत्या गर्ने उद्देश्यले प्रायोजित गरिएको छ ।
अलि फरक प्रसङ्गमा कुरा गरौं, पत्रकार एवम् साहित्यकार महान शहीद कृष्ण सेन ‘इच्छुक’को ११औं स्मृति दिवस मनाइदैंछ, तपाईं यस क्षणमा इच्छुकलाई कसरी सम्झनुहुन्छ ?
कृष्ण सेन ‘इच्छुक’ नेपाली प्रगतिवादी साहित्यको क्षेत्रमा एक सशक्त प्रतिभा हो । साथै उहाँ समाज रुपान्तरणका निम्ति अहारोत्र खट्ने राजनीतिक व्यक्तित्व पनि हो ।
सरल स्वभावको भएर पनि समाजमा भएका विकृति विसंगति र खराबीका विरुद्ध खरो उत्रिने उहाँको स्वभाव थियो । उहाँ दृढ विचार र लचिलो व्यवहारका धनी हुनुहुन्थ्यो । उहाँमा सर्वहारावर्गप्रति दह्रो विश्वास, क्रान्तिकारी राजनैतिक कार्यदिशा र क्रान्तिकारी पार्टीप्रतिको निरन्तरता तथा सर्वहारावर्गीय जीवनशैली उहाँको विशेषता थियो । उहाँको ११औं स्मृति दिवसको यो क्षण उहाँप्रति म हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।
तपाईंले सेनसँग लामो समय नजिकबाट सहकार्य गर्नुभयो, सेनसँग पहिलोपटक भेट हुँदाको क्षण बताइदिनुस् न ।
सेनसँग मेरो पहिलो भेट २०३५ सालमा दाङको कोइलाबासमा भएको हो । भेट हुनुअघि हामीबीच दुई वर्षसम्म पाँच दर्जन बढी पत्रहरु नियमित आदान–प्रदान भएको थियो ।
हाम्रो पहिलो निकै रोमाञ्चक र अद्भुत थियो । म उहाँलाई भेट्न कोइलाबास गएको थिएँ । त्यसबेला भौतिकरुपमा परिचित नभएको र भेट गराउने तेस्रो माध्यम पनि नभएको स्थितिमा हामी एक–अर्काका काल्पनिक अनुहार एवम् कद खोज्दै केही समय भौतारिएका थियौं । हामीले फोटोहरु पनि आदान–प्रदान गरेका थिएनौं, आवश्यक पनि ठानेनौं ।
केही समय एकै ठाउँ, एकै गोरेटोमा ओहोर–दोहोर चल्यो तर भेट हुन सकेन । कैयौंपटक म सेनजीको कोठासम्म पुग्दथें तर सेनजी मलाई लिन बाटोसम्म निक्लिएको हुनुहुन्थ्यो, म बाटोमा फर्किदा उहाँ कोठामा । यो क्रम केहीबेर चलि नै रह्यो । अन्तमा एकजना साथीलाई माध्यम बनायौं र हाम्रो भेट भयो । त्यसपछि दुई दिनसम्म कहिले कोठामा त कहिले खोलाको ढुङ्ग्यानमा छहारी खोजेर लगातार विगत, वर्तमान र भविष्यबारे लामो अन्तरक्रिया ग¥यौं । यही नै सेनसँगको मेरो पहिलो भेटको ज्यादै रोमाञ्चकारी, अविस्मरणीय क्षण हो । उहाँसँगको त्यतिबेलाको पत्राचार, भेटघाट र सहकार्यले मलाई अहिले पनि ऊर्जा प्राप्त हुन्छ ।
अन्त्यमा, यहाँ आफ्नो क्षेत्रमा अलि कम आउनुहुन्छ भन्ने दाङबासीको गुनासो पनि छ, नौलो जनउभारमार्फत् आम पाठक र दङाली जनतालाई केही भन्नु छ कि ?
पहिलो कुरा, दाङ मैले संविधानसभाको निर्वाचनमा चुनाव जितेको क्षेत्र हो । म फेरि जित्छु वा जित्दैन, म यही क्षेत्रबाट उठ्छु या उठ्दैन भन्ने निश्चित गरेको पनि छैन । तर, एकपटक चुनाव जितिसकेपछि मैले यो क्षेत्रलाई मेरै क्षेत्रको रुपमा लिएको छु । मैले यहाँका जनतालाई कुनै आग्रह पूर्वाग्रह नराखेर मेरो तर्फबाट हुने सहयोग गरिरहेको छु– गरिरहन्छु, यो मेरो प्रतिबद्धता हो । म यही पत्रिकामार्फत् पनि त्यो विश्वास दिलाउन चाहन्छु ।
दोस्रो कुरा, म अलि केन्द्रीय भूमिकामा बढी व्यस्त हुनुपर्ने भएकाले निर्वाचन क्षेत्रमा कम आउने गरेको सत्य हो । तर, मेरो सहयोगको भावना सधैं रहिरहनेछ । अब अरु विशेष अभियान वा चुनावी अभियानका क्रममा अलि छिटो जनताका बीचमा जाने प्रतिबद्धता जनाउँछु ।
प्रस्तुति: डिल्ली मल्ल
प्रकाशित मितिः २०७० जेठ १२ गते आइतबार