गन्तव्यविहीन यात्रासँगै लोकतन्त्रको चीरहरण

  
  प्रकाशित मितिः आइतवार, जेष्ठ १९, २०७०       | 140 Views   ||

pramod dhital final-[प्रमोद धिताल]

दुनियाँका हरेक यात्राहरुको गन्तव्य हुन्छ, लक्ष्य हुन्छ र त्यसको दिशा हुन्छ । जतिसुकै ठूलो मेहनत र लगानी भए पनि यदि त्यससँग गन्तव्य र दिशा भएन भने के हुन्छ ? त्यसले दिने एउटै परिणाम भ्रम, अन्योल, अकर्मण्यता र अन्तमा अनपेक्षित निरासा । आज यो देशमा त्यही भएको छ । राजतन्त्रको पहाड ढलिसकेपछिको देशमा राजनीतिक हिसाबले सर्वाधिक महत्वपूर्ण कार्यसूचीहरु के हुन् भनेर स्पष्ट हुन र पार्न नसक्नुको परिणाम आज देशले भोेगिरहेको छ । जसले गर्दा आम मानिसहरुमा फेरि निर्धारित समयमा संविधानसभाको चुनाव हुन्छ र नयाँ संविधान बन्छ भन्ने कुरामा हुनुपर्ने जति विश्वास छैन ।

तत्कालीन राजा ज्ञानेन्द्रबाट सत्ता ‘कू’ भइसकेपछि अझ विस्तारमा भनौं भन्दा राजतन्त्रको छत्रछायामा दुनियाँको सुन्दर ‘प्रजातन्त्र’ मौलाइरहेको देख्नेहरुको भागभोग पनि निर्मम प्रकारले खोसिएपछि सपनाको भ्रमपूर्ण व्यापारले राम्रोसँग स्थान लिएको थियो । तत्कालीनरुपमा अग्रगामी सोंच राख्नेहरुका त अग्रगामी नारा र सपनाहरु हुने नै भए । विगतका बासी अनुहारहरुले पनि आफूलाई रुपान्तरणको यात्रामा फेरि तरोताजा भएको घोषणा गरे र सच्चिने प्रतिज्ञा गरे । नयाँ नेपालको उपदेशको खेती राम्रोसँग मौलायो । नयाँ नेपालको उपदेश र गणतान्त्रिक बसन्त विद्रोहको यात्रासँगै बासी सोंचबाट प्रेरित बासी अनुहारहरु पनि पुनः गणतन्त्र र नयाँ नेपालका हर्ताकर्ताको रुपधारण गर्दै रङ्गमञ्चमा प्रकट भए । तर त्यो वास्तविक रुपान्तरण नभएर समय, परिस्थिति र बाध्यताको देखावटी रुपान्तरण थियो । विकृत सोंचहरुको सहभागितामा अभ्यास हुने नयाँ नेपालको नयाँ यात्रा गन्तव्यविहीन र विकृत हुने खतरा जतिखेर पनि विद्यमान थियो ।

राजनीतिक परिवर्तनलाई एउटा अवधिसम्म जनताको बीचमा मनचिन्ते झोली बनाउन खोज्ने र अन्तमा आफै निकम्मा सावित हुने रोगलाई नेपालको राजनीतिक नेतृत्वले पुनःपुष्टि गर्न खोज्दैछ । गणतान्त्रिक नेपालको राजनीति त बहुसंख्यक जनताको अभिष्ट, स्वार्थ र मनसायको ग्यारेन्टी हुने दिशातर्फ उन्मुख हुनुपथ्र्यो, त्यसो हुन सकेन । राजतन्त्रलाई बिदाई गरिसकेपछि लोकतन्त्रलाई साँच्चिकै आकर्षकरुपले आकर्षक परिधानमा सजाउने कुरा थिए, त्यसलाई हुर्काउँदै जवान बनाउने कुराहरु थिए । तर त्यसको ठीक उल्टो दिशातर्फ गणतन्त्रले यात्रा तय ग¥यो । जति सकिन्छ गणन्त्रलाई परिधानविहीन बनाउने र नङ्ग्याउने काम हुँदै गएको छ । कुनै बेला राष्ट्रको, जनताको र ती सँग जोडिएका हरेक कुराहरुको फैसला केही मुठ्ठीभर व्यक्तिहरुले गर्थे । बाहिर खोक्रा नैतिकताका कुरा गरेर भित्र भित्रै भ्रष्टाचारको खेती गर्नु नै उनीहरुको नैतिकता हुन्थ्यो । अहिलेको तात्विक अन्तर कहाँनेर हो त ? विगत र वर्तमानको राज्यको स्वरुपमा आएको अन्तरलाई पनि हामीले यहीनेर खोज्नुपर्ने हुन्छ । त्यो अन्तर नभेट्दासम्म गरिने जति पनि आत्मरतिहरु छन् ती मिथ्या मात्र हुन् । यदि अहिले पनि हामीले हे¥यौं भने धेरैको नाउँमा थोरैले मनपरि गरिरहेको पाउँछौं । लोकतान्त्रिक वा जनवादको संस्कार संविधान, दस्तावेज र कागजमा लेखिने शब्दमा मात्र सीमित भएको छ । अरु धेरै पक्षहरु पनि चोखा छैनन् तर मुख्यतः राजनीतिक तहबाट हुने भ्रष्टाचार र ढाकछोपका घटनाहरुले सबै खालका अन्य भ्रष्टाचारहरुलाई संस्थागत हुनमा योगदान दिइरहेका छन् ।

जुन देशका राजनीतिक पार्टीहरु भित्रै नीति निर्माणका प्रश्नहरुमा लोकतन्त्रको खडेरी छ, यदि कहीं कतै भए पनि त्यो औपचारिकतामा मात्र सीमित छ, त्यहाँ समग्र जनताको तहमा लोकतान्त्रिक अधिकार सन्तोषजनक छ भनेर कसरी विश्वास गर्ने ? त्यसैले यतिखेर लोकतान्त्रिक अभ्यास, अधिकार र संस्कारका समग्र परिभाषााहरु लज्जित छन् । कसैका सनक, रहर र महत्वाकांक्षाहरुका पर्दाभित्र त्यसलाई बन्धक बनाउने काम भएको छ । यो देशका भँुई तहका मानिसहरुको नाउँमा गरिने राजनीतिक पार्टी विशेष वा नेतृत्वका नग्न नृत्यहरुलाई लोकतन्त्रको परिभाषा दिने प्रवृत्ति बढ्दै गएको छ । जसको एउटै निष्कर्ष यो हुन जान्छ कि सम्भ्रान्तहरुको ‘लोकतन्त्र’ फलिफाप हुँदै जाने तर भुँई तहका मानिसहरुको लोकतन्त्र धरापमा पर्दै जाने । यस्तो अवस्थामा बहुसंख्यक मानिसहरुमा राजनीतिक पार्टी, नेतृत्व र सिंगो राजनीतिक प्रणालीप्रति नै वितृष्णा जनाउनुलाई कसरी अबुझपना भन्न सकिन्छ ? त्यो  आक्रोश, आवेग र वितृष्णाभित्र तमाम प्रश्नहरु पनि सँगसँगै छन् भनेर बुझ्नुपर्ने हुन्छ । के भुँई तहका मानिसहरुको नाउँमा एकल तन्त्र र लुटतन्त्रको खेती गर्नु नै लोकतन्त्र हो ? के नयाँ नेपालको दुहाई दिंदै हिजोकै बासी संस्कारहरुलाई निरन्तरता दिनु लोेकतन्त्र हो ? के उत्पीडित वर्गको प्रतिनिधित्व गर्ने शक्तिभित्रै चर्को वर्गउत्थानले स्थान लिनु र त्यसभित्रका बहुसंख्यक सहयोद्धाहरु निरीह कारिन्दामा फेरिनुलाई लोकतन्त्र मान्न सकिन्छ ? किमार्थ सकिन्न ।

यद्यपी यी प्रश्नहरु आज ओझेलमा पारिएका हुन सक्छन् । तर यी प्रश्नहरु आजका आधारभूत प्रश्नहरु हुन् । यी प्रश्नहरुलाई हल गर्न गल्ती र भुलचुकहरुका जराहरुसम्म पुगेर आत्मसमीक्षा गर्ने ठाउँबाट राजनीतिक नेतृत्व चिप्लिदै गइरहेका छन् । राजनीति शक्तिहरु र नेतृत्वका लागि यी र यस्ता प्रश्नहरु जीवित एजेण्डाको रुपमा कहिल्यै प्राथमिकता पाएनन् । सत्ता, सत्ता, सत्ता र फेरि पनि सत्ता तर सत्ता के को लागि भन्ने प्रश्न सधैं ओझेलमा रह्यो । सत्ता प्राप्त भए सबै कुराको हल त्यहीबाट निस्किहाल्छ भने भ्रमले ठूलै स्थान लियो । सत्ता हाँसिल गर्नु जति चुनौतीपूर्ण छ त्यो भन्दा चुनौतीपूर्ण छ त्यसलाई घोषित उद्देश्यको निम्ति चलाउने कुरा । विगतका क्रान्तिहरुपछि सत्ता सञ्चालनका कैयन् सवालहरुमा कम्युनिष्टहरु चुकेकाछन के ती अनुभवहरु आजको निम्ति महत्वपूर्ण शिक्षा होइनन् ?

यतिखेर पनि नेपालको आमूल रुपान्तरणकारी यात्रा रक्षात्मक अवस्थामा छ । यसको कारण योे यात्राका अभियन्ताहरुमै रहेको समस्या हो । बाहिरको समस्या होइन । आमूल रुपान्तरणकारी आन्दोलनले मानिसहरु र आन्दोलनमा जुन स्तरको भौतिक परिवर्तन ल्यायो, त्यही स्तरको परिवर्तन सांस्कृतिक–आत्मिक तहमा पनि आउन सकेको भए आज आन्दोलन र सिंगो राजनीतिकै अवस्था अर्को ठाउँमा  हुन्थ्यो । प्रतिक्रियावादी शक्तिहरुमा यो हदसम्मको उत्साह पनि पैदा हुने थिएन । क्रान्तिलाई मात्र राजनीतिक सत्ता र भौतिक परिवर्तनमा सीमित गर्ने प्रवृत्तिको परिणाम यही हुन्छ । दोस्रो कुरा आत्मिक–सांस्कृतिक रुपान्तरणको माध्यमबाट क्रान्तिकारी आन्दोलनभित्र जुन खालको मानसिक वातावरण वा नवीन प्रवृत्तिको विकास भएर जानुपथ्र्यो त्यो हुन सकेन । क्रान्तिकरी आन्दोलनभित्रै क्रान्तिकारी योद्धाहरुको आफ्नो जीवनको दीर्घकालीन संरक्षण हुने कुरामाथि आशंका बढ्दै जानु क्रान्ति र परिवर्तनप्रति नै आशंका बढ्नु हो । आज त्यो अवस्था मौलाउँदो छ । अर्कोतिर प्रतिक्रियावादीहरुको उसमाथिको आक्रमण र प्रतिशोध कायम नै रहने अवस्थामा उसमा आत्मसमर्पण, पलायन वा वैचारिक विर्सजनको खतरा रहन्छ । यसको परिणाम यो भएको छ कि आन्दोलनभित्र भावनात्मक आकर्षणले प्रेरित भएर मानिसहरुको भौतिक र मानसिक श्रमको अत्यधिक लगानी गरे, तर अन्ततः समग्र रुपान्तरणकै अभावले न ध्वंश हुनुपर्ने कुरा ध्वंश हुने न त निर्माण हुनुपर्ने कुराको निर्माण हुन सकेको अवस्था छ । बरु यात्राको बीच–बीचमा वर्गउत्थानहरु भएका छन् । सनकको भरमा कृतिम विवादहरु सृजना गरिएका छन् र विभाजन निम्त्याइएको छ ।  दुनियाँले पचाउन असहज हुने गरी एउटै खेमाभित्र निन्दाको खेती गरिएको छ । एकचरणसम्म मेहनतपूर्वक निर्माण गरिएका विरासतहरुलाई  संस्थागत गर्नुको साटो कुल्चिदैै हिड्ने कामहरु भएका छन् ।

आज देशको अवस्था हेर्दा भुँईं तहका मानिसहरु भुँईं तहमै बेबारिस छन् । त्यहाँका मुद्धाहरु त्यही अलपत्र छन् । अलिपरका विषयवस्तुहरुमा त वहस, विमर्श र वादविवादहरु प्रशस्त भएका छन् तर नाकै सामनेका तर तत्काल सर्वाधिक महत्व पनि राख्ने विषयवस्तुहरु उपेक्षाको शिकार बन्दै गएका छन् । नयाँ नारा, नीति र शक्तिको निरन्तरता भित्रै विकृतिहरुका पहाडहरुलाई उभ्याउने काम राजनीतिमा सँगसँगै गरिएको छ । जसको परिणाम यो हो  कि मानिसहरुमा बढ्दै गएको अनेक्षित राजनीतिक निराशा, आक्रोश, वितृष्णा, विग्रह र विद्रोहको मानसिकता । यसलाई सकारात्मक संकेत मान्न सकिन्न । शक्ति केन्द्रिकरणका नाउँमा चोर र साँधुलाई एउटै मञ्चमा उभ्याएर सम्मान दिने जुन कामहरु भएका छन्, यसका नकारात्मक परिणामहरु सर्वत्र देखिदै जानेछन् । यो यात्रा भनेको लोकतन्त्रको चीरहरणको यात्रा हो । गन्तव्यविहीनतालाई गन्तव्यको भ्रम दिएर राजनीतिक कारोबार सुरक्षित राख्न अभ्यस्त भइसकेका राजनीतिक पात्र र प्रवृत्तिहरुबाट लोकतन्त्रको यात्रामा यो भन्दा समृद्धिको अपेक्षा गर्नु निरर्थक छ । यसको विकल्पमा वास्तविक धरातलमा खुट्टाले टेकेको लोकतान्त्रिक यात्रालाई निरन्तरता कसरी दिने ? यो प्रश्न अत्यन्त जटिल बनेर गएको छ नेपालको राजनीतिमा । यसको निम्ति राजनीतिको पछिल्लो पुस्ता पूर्ण सफल भइहाल्ने अवस्था तत्काल नभए पनि हस्तक्षेपकारी सावित हुन सक्छ ।

प्रकाशित मितिः २०७० जेठ १२ गते आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *