हामी एकदमै मिल्ने साथी थियौं

  
  प्रकाशित मितिः आइतवार, जेष्ठ १९, २०७०       | 233 Views   ||

Amar_giriकृष्ण सेन ‘इच्छुक’बारे

कवि अमर गिरी

कृष्ण सेन इच्छुकसँग तपाईंको पहिलो भेट कहाँ र कहिले भयो ?
–इच्छुकसँग मेरो पहिलो भेट २०३६ को आन्दोलनका क्रममा घोराहीको कारागारमा भएको हो । त्यो भन्दा पहिले उहाँसँग पत्रका माध्यमबाट चिनजान थियो, सशरिर भेट भएको थिएन ।

कारागारभित्रको पहिलो भेटको त्यो क्षण यहाँले कसरी सम्झिनुहुन्छ ?
–पहिलो भेट एउटा स्मरणीय भेट थियो । दुवैले कविता लेख्ने, कविता त्यसबेलाको युगबोधमा छापिन्थ्यो, एकले अर्काको कविता मन पराउँथ्यौं । भेट्न पाए कस्तो हुँदो हो भन्ने उहाँलाई पनि लागिरा’थ्यो, मलाई पनि लागिरा’थ्यो । तर, भेट भएको थिएन । आन्दोलनका क्रममा मलाई पक्रेर लग्यो, त्यही जेलमा हाम्रो भेट भयो । पहिलेदेखि भेट हुन खोजिरहेको साथीलाई जेलमा भेट्दाको त्यो क्षणलाई मैले अविस्मरणीयरुपमा लिएको छु ।

जेलमा सँगै कति समय बस्नुभयो नि ?
–सेनसँग जेलमा त्यतिबेला करिब–करिब चार महिना बसियो ।

सेनको व्यक्तित्वका रुपमा उहाँलाई कसरी लिनुहुन्छ ?
–सेनजी राम्रो कवि त हुँदै हुनुहुन्छ, उहाँ प्रगतिवादी कविका रुपमा स्थापित हुनुहुन्छ । साथै उहाँ नेपाली कम्युनिष्ट आन्दोलनको एक प्रतिबद्ध व्यक्तित्व हुनुहुन्छ । परिवर्तनका निम्ति संघर्ष गर्दागर्दै, लड्दा–लड्दै उहाँ सहिद हुनुभयो । नेपाली इतिहासमा परिवर्तन र देशका निम्ति लड्दालड्दै जीवन बलिदान गर्नेहरुको पंक्तिमा उहाँ पनि उभिनुभयो । सम्माननीय व्यक्तिका रुपमा उहाँ रहनुभएको छ ।

यसरी कृष्ण सेनलाई सम्झिदाखेरि एक साहित्यिक व्यक्तित्व, एक राजनीतिक व्यक्तित्व, सङ्घर्षशील व्यक्तित्वका रुपमा र देश र जनताको परिवर्तन एवम् मुक्तिका निम्ति आफूलाई उत्सर्ग गर्ने व्यक्तित्वका रुपमा लिन सकिन्छ ।

सहकार्यका क्रममा सेनसँग तपाईंको खटपट वा विवाद भएन ?
–लामो समयसम्म सहकार्य गर्ने क्रममा कयौं विषयमा विमति र वैचारिक सङ्घर्ष त भयो नै । तर, व्यक्तिगतरुपमा उहाँ र मेरो बीचमा कुनै झगडाचाहिँ भएन । हामी अत्यन्तै मिल्ने साथी थियौं । एकले अर्कालाई बुझ्थ्यौं अनि त्यस्तो क्षण आउन थालेको अनुभूति भयो भने हामी आफै रोकिन्थ्यौं । तर, वैचारिकरुपमा उहाँका र मेरा कयौं विमतिहरु थिए, हामी घण्टौंसम्म छलफल, बहसमा उत्रिन्थ्यौं । एकले अर्कालाई कन्भिन्स गर्न नसकेर छुट्टिएका पनि थुप्रै क्षणहरु छन् ।

सेनका रचना तपाईंलाई कस्तो लाग्छ ?
–मूलतः सेनजी कवि हुनुहुन्छ । उसो त गद्यमा पनि उहाँको कलम चलेको पाइन्छ । उहाँका कविताहरु नेपाली प्रगतिवादी साहित्यका महत्वपूर्ण प्राप्ति हुन् भन्ने मेरो निष्कर्ष छ । प्रगतिवादी साहित्यमात्रै होइन, सिंगो नेपाली कविताका क्षेत्रमा उहाँको आफ्नो स्थान छ, मूल्य छ । उहाँका कविता विषयवस्तुका हिसाबले विविधतापूर्ण, भाव र विचारका दृष्टिले प्राञ्जल, खँदिला र गहिरा छन् । त्यस्तै, कलाका हिसाबले पनि उहाँका कविता सुन्दर छन् । सेनजी नेपाली काव्यपरम्पराका एक सशक्त शिल्पी हुनुहुन्छ । एक सशक्त शिल्पीका रुपमा नेपाली कविता साहित्यमा उहाँलाई सम्झिरहनुपर्छ ।

सेनको हत्याको खबर तपाईंले कहिले कहाँ सुन्नुभयो ?
–सेनजीको हत्याको खबर मैले दाङमा सुनेको हुँ । म त्यतिखेर घरमै थिएँ, उहाँको हत्या भएको करिब एक हप्तापछि हो सायद । मेरा लागि असाध्यै दुःखद क्षण थियो त्यो– बिजुलीको झट्काजस्तै । उहाँ पत्रकारिता क्षेत्रमा काम गरिरहेको वैधानिक मान्छे । धेरैपटक जेल पर्नु भो, छुट्नु भो, चर्चित मान्छेलाई मारिहाल्ला जस्तो मलाई लागेको थिएन । पछिल्लो पटक उहाँको गिरप्तारीको खबर सुनें, तर कारागारमा राख्ला, छुटिहाल्नुहुन्छ, मारिहाल्ला भन्ने मैले सोचेकै थिइँन । तर, मेरो अनुमान गलत भयो, राज्यले उहाँलाई मा¥यो ।

हिजो राज्यले सेनको हत्या ग¥यो, त्यही बलिदानीको जगमा देशमा ठूलो परिवर्तन भयो, अहिले सेनको ११ औं स्मृति दिवस मनाइरहँदा बलिदानीपूर्ण विगत र वर्तमान अनि इच्छुकलाई कसरी सम्झनुहुन्छ ?
सेनलाई सम्झिने भनेको उहाँको योगदान र उहाँले ग्रहण गरेको आदर्श र अंगालेको मूल्यलाई सम्झिने हो । नत्र भने उहाँलाई सम्झिनुको कुनै अर्थ छैन । जुन आदर्श र मूल्य, जुन स्वप्नका निम्ति उहाँ सहिद हुनुभयो, उहाँको त्यो आदर्श, मूल्य र स्वप्न साकार पार्ने दिशातिर नेपालको आमूल परिवर्तनकारी शक्ति बढ्नुपर्छ ।

अहिले प्रश्न उठिराखेको छ, इच्छुकहरुको आदर्श, मूल्य र त्यागलाई बिर्सिइने त होइन ? इच्छुकहरुको आदर्श, मूल्य र त्याग देखाउने, भाषण गर्ने चीजमात्र हुने त होइन ? अब यो स्थितिबाट नेपालको कम्युनिष्ट आन्दोलन मुक्त हुनुपर्छ ।

खास गरेर उहाँ जुन कम्युनिष्ट आन्दोलनसँग प्रतिबद्ध भएर आउनुभयो, त्यही आन्दोलनभित्र आज गम्भीर प्रकृतिका समस्याहरु देखा परेका छन् । कृष्ण सेनहरुको आदर्श र त्यागलाई त्यो आन्दोलनले बिर्सिदै जान थालेको हो कि भन्ने पर्न थालेको छ । त्यस्तो स्थिति नआओस् । कृष्ण सेन जुन आदर्श, मूल्य र स्वप्नका निम्ति सहिद हुनुभयो, आफूलाई बलिदान गर्नुभयो, त्यो आदर्श, मूल्य, स्वप्नलाई बिर्सिनुहुन्न । त्यसको प्राप्तिका लागि आन्दोलन अघि बढ्नुपर्छ ।

प्रस्तुति : विवश
प्रकाशित मितिः २०७० जेठ १२ गते आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *