इच्छुक

  
  प्रकाशित मितिः आइतवार, जेष्ठ १९, २०७०       | 150 Views   ||

Udasi jeeवि.सं. २०३० पुस १५ गते रोल्पाको गर्पा गाउँमा जन्मिएका टीकाराम उदासी समकालीन नेपाली कविता, गजल र समालोचना क्षेत्रमा सक्रिय प्रतिभा हुन् ।
साढे दुई दशकदेखि नै नेपाली साहित्यमा निरन्तर लागिरहेका उदासीका अनुरोध (कवितासङ्ग्रह–२०४८), वर्तमान बाँच्न खोज्दा (गजलसङ्ग्रह–२०५०), परिवेशका धुनहरु (गजलसङ्ग्रह–२०५६), अनुभूतिका बाछिट्टाहरु (हाइकुसङ्ग्रह–२०५८), मौसमका हरफहरु (कवितासङ्ग्रह–२०५९), गजलसिद्धान्त र नेपाली गजलको इतिहास (समालोचना–२०५९) र बोल्दैछ आफै मौसम (गजलसङ्ग्रह– २०६८) प्रकाशित कृतिहरु हुन् । विभिन्न साहित्यिक पत्रपत्रिकाहरुको सम्पादन तथा साहित्यिक संघ संस्थाको नेतृत्व गरिसकेका उदासीले कवि कृष्ण सेन ‘इच्छुक’ स्मृतिमा लेखेको कविता यसपालिको अंकमा–

 

विश्वास गर
इच्छुक
कुनै ईश्वरका अवतार थिएनन्
त्यसैले
नगर कसैले उनको पूजाआराधना
इच्छुक
कुनै निरङ्कुश शासक पनि थिएनन्
त्यसैले
नगाऊ कसैले उनको स्तुतिगीत
इच्छुक
कुनै दन्त्यकथाको राक्षस पनि थिएनन्
त्यसैले
नगर कसैले उनको निन्दाप्रवचन
इच्छुक
कुनै भान्साका परिकार पनि थिएनन्
त्यसैले
नगर कसैले उनलाई भागबन्डा
इच्छुक
कुनै बजारको वस्तु पनि थिएनन्
त्यसैले
नगर कसैले उनलाई खरिदबिक्री

नबिर्स
बाँचुन्जेल जीवनको वासलातमा
इच्छुक
पल–प्रतिपल
यो देशको साक्षी बसिरहेका
एउटा साधारण मानिस थिए
मान्छेजस्तै स्वाभिमानी
र, मान्छेजस्तै इमान्दार भएर बाँच्ने मानिस
मान्छेकै दुनियाँका बारेमा कविता लेख्ने कवि
मान्छेकै नाममा चिन्तनशील विचारक
न्याय र स्वतन्त्रताका कुशल प्रवक्ता

सत्य हो
उनीसँग थियो
कहिल्यै ननिभ्ने एउटा उज्यालो विश्वास
सत्य हो
उनीसँग थियो
कहिल्यै नमर्ने एउटा कालजयी आस्था
र, थियो उनीसँग
मानव सभ्यताकै एउटा सुन्दर चेतना

बाँच्ने क्रममै इच्छुक
भए एक दिन सहिद देशका नाममा
त्यसपछि
आँखामा भएको एउटा पावरदार चश्मा
काँधमा झुण्डिएको एउटा सानो झोला
र एउटा पातलो शरीरबाहेक
उनले गएका छन् छाडेर हामीलाई सबै–सबै
जीवनजस्तै काव्यिक सौन्दर्य
दर्शनजस्तै कविताका हरफ
र यो देशको एउटा उज्यालो सपनायात्रा

फेरि एकपल्ट
जानु छ हामीलाई नबिर्सेर
एउटा बूढो समयको मलामी
र, गर्नु छ अझैं उज्यालो सपनायात्रा ।

प्रकाशित मितिः २०७० जेठ १२ गते आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *