पत्रकारितामा नैतिक मूल्यको प्रसङ्ग

  
  प्रकाशित मितिः आइतवार, जेष्ठ १९, २०७०       | 157 Views   ||

-[लक्ष्मी आचार्य] (अध्यक्ष) महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल, दाङ

-{लक्ष्मी आचार्य}

सानो छँदा कुनै शब्द सही गलत छुट्याउनुपर्दा हामी साथी–साथीबीच निकै विवाद हुन्थ्यो । ह्रश्व, दीर्घ, मोटो ‘श’ पातलो ‘स’ जस्ता विषयमा हुने विवाद छिनोफानो गर्न निकै गाह्रो पथ्र्यो । जानेर होइन तर जिद्दी भने कसैले नछोड्ने । विवाद भएको कुरा टुङ्गोमै पुग्दैनथ्यो । हामीमध्ये कुनै दिन कसैले त्यही शब्द कतै छापिएको रुपमा देखाउन सक्यो भने त्यो सर्वस्वीकार्य हुन्थ्यो । बालापनमा सही गलत छुट्याउने हाम्रो एउटै आधार थियो त्यो कतै छापिएको छ कि छैन भनेर यकीन गर्ने । कतै भेटियो भने त्यो भन्दा बलियो प्रमाण केही चाहिँदैनथ्यो । छापिएको अक्षरले सत्यताको लालमोहर लगाइदिन्थ्यो ।

सम्झिँदा लाग्छ, आमरुपमा रहेको प्रेसप्रतिको जनविश्वास हाम्रो त्यो बालापनमा समेत झल्किएको रहेछ । आज पनि हामी सडक, बजार या सार्वजनिक ठाउँ जहाँ जाऔं मिडियामा आएको कुरालाई विश्वास गर्ने जमात ठूलो छ । पत्रिकामा आएको थियो, रेडियोमा बजेको थियो, टीभीमा आएको थियो भन्ने विषय प्रायः सत्यको रुपमा नै बुझिन्छ । कुनै पनि विषयको पक्ष विपक्षमा जनमत निर्माणको सवालमा यो अत्यन्तै महत्वपूर्ण कुरा हो । मिडियाको यही शक्तिलाई कसरी बहुसंख्यक जनताको हितमा प्रयोग गर्ने भन्ने विषय नै पत्रकारिताको नैतिक मूल्यसँग गाँसिएर आउँछन् ।

पत्रकारिता क्षेत्रले निर्वाह गर्नुपर्ने भूमिकाको आधारमा यसले राज्यको चौथो अंगको मान्यता पाएको छ । तर आजभोलि यो ‘चुत्थो’ अंग बन्दै गरेको आरोप लाग्ने गरेको छ । त्यस्तै पत्रकार बिग्रे, समोसामा अलमलिए, पेट्रोलमा बिके, यतिधेरै भ्रष्टाचार हुँदा पनि पत्रकारले लेख्नै सकेनन्, कुनै सूचना लुकाउनु प¥यो भने पत्रकारको गोजी गरम गरिदिए पुग्छ, पत्रकारहरु अमुक पार्टीका कार्यकर्ता भएजस्ता गुनासो सर्वत्र सुनिन्छ । आर्थिक प्रसंगमा मात्रै होइन, अर्को डरलाग्दो कुरा स्थापित पत्रकार नै नैतिक रुपमा भ्रष्ट भए, कसैको जीवन जोगाउन सहायक बन्नुपर्ने बन्ने पेशा अंगालेकाहरु नै कसैको जीवन बर्बाद पार्दै हिँडेको भन्ने विषयहरु यही समाजमा चर्चाका विषय बन्दैछन् ।  मानवीय मूल्यमा नै आएको यो ह्रास कमल समाउनेहरुका जीवनमै छरपष्ट हुनेगरी देखिनु यो क्षेत्रमा काम गर्ने हरेकका लागि शीर निहुराउने विषय बन्दैछन् । प्रेसप्रतिको त्यो जनविश्वासमा खिया लाग्दैछ ।

त्यसो त नैतिकता भन्ने शब्दको धेरै फराकिलो परिभाषा लगाउन सकिएला । तर मानवीय मूल्यको जगमा उभिएर सामान्यतया एउटा सामान्य मान्छेले गर्न हुने र नहुने विषयलाई नैतिक र अनैतिकको रुपमा यहाँ यी कुरा राख्न खोजिएको हो । त्यही विषय एउटा आम व्यक्ति र पत्रकारको हकमा केही फरक हुन्छ । पत्रकारको कर्मले बहुसंख्यक व्यक्तिको जीवनलाई प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पार्ने हुनाले ती व्यक्तिको नैतिकताको सवाल सामान्य व्यक्तिको भन्दा फरक हुनुपर्छ भन्ने मान्यतालाई सबैले आत्मसात गर्नैपर्ने हुन्छ । दुई÷चार सय भत्तामा बिक्ने, चिया समोसामा अल्मलिने, केही लिटर पेट्रोलमा बिक्नेहरुले यो क्षेत्रमा जति नैतिक मूल्यको ह्रास गराएका छन् त्यो भन्दा कैयौं गुणा बढी पेशाको आडमा, संगठनको आडमा पर्दा पछाडि अनेकौं खेल खेल्न उद्दतहरुले गराएका छन् । ती स्थापित छन्, तीनलाई ठूलठूला पार्टी, नेता र संगठनको आर्शिवाद छ त्यसैले सामुन्नेमा तीनका बिरुद्ध कोही बोल्न सक्दैनन् तर पिठ्यूँ पछाडि जे जसरी तीनका क्रियाकलापमा प्रश्न उठेका हुन्छन् ति देख्दा सिंगो प्रेसको गरिमामा गहिरो चोट लाग्दै गरेको महशुस हुन्छ । तर बिडम्बना नै भन्नुपर्छ, नैतिक रुपमा भ्रष्ट भएकालाई उनीहरु आबद्ध संगठनले गर्ने सम्मानमा कुनै कमी आएको छैन । ती त्यसरी नै प्रमुख अतिथि र प्रमुख सल्लाहकारको रुपमा विराजमान हुन्छन् । मञ्चबाट खोक्रो आदर्श छाँट्छन् । अनुयायीहरु घोसे मुन्टो लगाएर तीनका हरेक गलत क्रियाकलापलाई पखालिदिन्छन् ।

व्यवसायिकताको कुरा गर्नेहरुको त के कुरा, मुनाफाका लागि ती जे गर्न पनि उद्यत छन् । जो मिसनको कुरा गर्छन् तिनको मिसन भनेको अमुक पार्टी या अमुक नेताको पछि लाग्नु हुन्छ । मिसन जनता होइन, मिसन नेता बन्दैछ हाम्रो पत्रकारिता । पक्कै पनि बहुदलीय मुलुकमा बहुदलका आ–आफ्नै एजेण्डा हुन्छन् । ती एजेण्डामा हाम्रो गहिरो ध्यान जाँदैन, ती एजेण्डा बोल्ने व्यक्तिको, पार्टीको प्रचारलाई हामी मिसन पत्रकारिता भनिरहेका छौं । गरीब जनताको एजेण्डा बोकेको दाबी गर्ने पार्टीले ती एजेण्डा संस्थागत गर्न के गर्दैछ, कहाँनेर चुक्दैछ भन्ने सिंगो परिस्थितिको यथार्थ चित्रण हाम्रो प्राथमिकता बन्दैन तर अमुक पार्टी र नेताको प्रचारलाई हामी मिसन भनिरहेका छौं । मिसन पत्रकारिता भनेर बखान गर्ने बामपन्थी निकट पत्रकारको मात्रै कुरा होइन, लोकतन्त्रको बखान गरेर कहिल्यै नथाक्ने पत्रकारहरुले गर्ने पार्टीकारिता पनि कम घातक छैन । तीनका नजरमा गरीब, निमुखा, उत्पीडित समूह वर्गले आवश्यकता महशुस गरेको लोकतन्त्रले अर्थ राख्दैन । हाम्रो पत्रकारितामा भित्रिएको नैतिक मूल्यको यो ह्रास कसरी कम गर्ने ? चिन्ता गर्ने बेला भैसकेको छ ।

एसएलसीपछि महेन्द्र बहुमुखी क्याम्पस दाङमा आएपछि कृष्णसेन इच्छुकसँग चिनजान भएको थियो मेरो ।  विद्यार्थी संगठनमा रहँदा उहाँसँग नियमित सम्पर्कमा भइन्थ्यो त्यो बेला । उहाँको उपस्थिति मेरा अगाडि हमेशा एउटा अभिभावकको रुपमा हुन्थ्यो । आफूले अंगालेको आदर्श, सिद्धान्त र व्यवहारबीचको एकरुपता उहाँको जीवनशैली देख्ने जो कोहीले अनुभूति गर्न सक्थ्यो । श्रद्देय व्यक्तित्व कृष्ण सेन ‘इच्छुक’को स्मृति दिवसको पूर्वसन्ध्यामा यी हरफहरु कोर्दै गर्दा पत्रकारितामा ह्रास हुँदै गएको नैतिक मूल्यले हामीलाई केही झस्काएको छ । आवाजहीनको आवाज बन्ने भनेर बेला–बेला आदर्शका कुरा गर्ने कतिपय हामीले त्यही आदर्शको बर्खिलाप हुने गरी भएका/गरिएका क्रियाकलापविरुद्ध आवाज उठाउने हैसियतसमेत गुमाइसकेका छौं । ढोंग, आडम्बर, खोक्रो आदर्शले न त पत्रकारितामा नैतिक मूल्य स्थापित गर्न सक्छ न त उसका क्रियाकलापले सिंगो समाजलाई नै अग्रगतिमा डो¥याउन सक्छ । कम्तीमा सेनको आदर्शको बखान गर्ने, आवाजविहीनको आवाजको रुपमा पत्रकारिता कर्मलाई स्वीकार गर्नेहरुले आदर्श र व्यवहारबीचको दोहोरो मापदण्ड त्याग्नैपर्छ । पत्रकारितामा नैतिक मूल्यको खोजी गर्ने हरेक पत्रकारले व्यक्तिगत÷सांगठिनकरुपमा त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न पनि सक्नुपर्छ । अन्यथा यी सवाल उठाउनुको पनि कुनै अर्थ रहँदैन ।

प्रकाशित मितिः २०७० जेठ १२ गते आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *