सेन र हाम्रो पत्रकारिता

  
  प्रकाशित मितिः आइतवार, जेष्ठ १९, २०७०       | 107 Views   ||

धेरै कर्महरुसँग जोडिएको एउटा नाम हो– कृष्ण सेन इच्छुक । पत्रकारितासँग उनको नाम प्रमुखरुपले जोडिएर आउँछ । जनपक्षधरता अंगालेर पत्रकारिता गरेकै आधारमा उनको हत्या भएको छ । तत्कालीन राज्यका शासकहरुले उनलाई कोठाबाट पक्रेर हिरासतभित्र निर्मम यातना दिई हत्या गरेको ११ बर्ष बितेको छ । यसबखत हामी कृष्ण सेनप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथ उहाँको हत्याको भत्र्सना र हत्यारालाई कार्वाहीको माग गर्दछौं ।

पत्रकार कृष्ण सेनलाई हामी सहिदको रुपमा सम्झिन्छौं र उहाँका योगदानका बारेमा चर्चा गर्छौं । कृष्ण सेन एउटा क्रान्तिकारी विशेषता बोकेको आदर्श व्यक्ति भनेर नेपाली जनताले उनलाई चिन्ने गर्छन् । आफ्नो निष्ठाको पत्रकारितामा मृत्युको बखत पनि नझुकेको परिचय सेनको परिचय हो । पत्रकारिता क्षेत्रबाट कुरा गर्दा सेनले यस क्षेत्रमा क्रियाशील रहँदा गरेको योगदानलाई आज कसैले बिर्सन सक्दैन् । सेनले जनताको पक्षमा उभिएर पत्रकारिताको नेतृत्व गर्नुभयो । सर्वहारावर्गको पक्षमा उभिएर जनताको पत्रकारिता गर्ने र त्यही जनताको पक्षमा कलम चलाउँदा–चलाउँदै जीवन बलिदान गर्ने पत्रकार पनि उहाँ नै हुनुहुन्छ । सत्यताको पक्षमा उभिदा मृत्युको सामना गर्न तयार हुने सेनजस्तो दृढ र साहसी पत्रकारिताले नेपालको सञ्चारक्षेत्रलाई आजसम्म पनि गौरवान्वित बनाइराखेको छ । असत्य र अन्यायको पक्षधरता अंगालेको उतिबेलाको राज्यले नैतिक मूल्य र आदर्शमा रही काम गर्नेहरुलाई के पुरस्कार दिदोंरहेछ भन्ने कुरा कृष्ण सेन घटनाको उदाहरण हेरे मात्र पुग्छ । अहिले त्यस्तो शासनकालको अन्त्य भएर राजनीतिक परिवर्तन त भएको छ तर पत्रकारहरु पेशागत रुपले सुरक्षित भने छैनन् । उत्पीडित जनताको पक्षधरता अंगाली परिवर्तनको पक्षमा कलम चलाएकै आधारमा सेनले कयौंपटक जेल र यातना खेप्दै अन्त्यमा जेलमै शासकहरुको यातनाबाट जीवन गुमाउनु प¥यो ।

सेनजस्तै पीडा अहिले परिवर्तनपछि पनि आजको पत्रकारिताले अनेक ढंगबाट खेप्नु परिराखेको छ ।  यी त पत्रकारिता क्षेत्रमाथि बाहिरबाट हुने आक्रमणका कुरा भए । तर पत्रकारिता क्षेत्र भित्रको कुरा गर्ने हो भने त्यसको स्तर र अवस्था झन्पछि झन् खस्किदै जान थालेको छ र नैतिक मूल्य र आदर्शबाट च्यूत बन्दै गइराखेको छ । अहिलेको पत्रकारिताको दायरा जति फराकिलो बन्दै गइराखेको छ, त्यति नै यसभित्रका चुनौतीहरु पनि बढ्दै गइराखेका छन् । पत्रकारिताभित्र नैतिकताको कुरा गर्ने हो भने त्यो शक्तिको भक्तिमा र लालचातिर दौडिराखेको देखिन्छ । सत्य र निष्ठाको आदर्शभन्दा बाहिर भ्रष्टता, उत्तरदायित्वहीन र जवाफदेहिता बिनाको पत्रकारिताले जरा गाड्न थालेको छ भने पत्रकारिताको आदर्श सिकाउने शिक्षक, अगुवाहरु नै यतिबेला नैतिक आचरणमा पतीत हुँदै जान थालेका उदाहरणहरु बढ्दै जान थालेका छन् । यस्तो अवस्थामा नयाँ पुस्ताले कुन आदर्शको पत्रकारितालाई अंगाल्ला र सिङ्गो समाजले हामीबाट कस्तो आशा गर्ला ?

यतिबेला हामी सहिद कृष्ण सेनलाई सम्झिरहेका छौं र उहाँको नैतिक मूल्य र आदर्शको अनुशरण गर्नुपर्ने कुराको चर्चा गरिरहेका छौं । कृष्ण सेनले जनताको पक्षमा रहेर पत्रकारिता गर्नुभयो र जनपक्षधरताको वकालत गर्दा मारिनुभयो । तर उहाँ आफ्नो सत्यताको पक्षमा बोल्न र लेख्न न राज्यसँग डराउनुभयो न कुनै यातना र कष्टबाट हतात्ेसाहित हुनुभयो । सेनको त्यही क्रान्तिकारी गुण र साहसको आज सिङ्गो जनसमुदायको पंक्तिले सम्मान गरेको छ । कुनै आस्थाको आधारमा सेनलाई पूर्वाग्रही आँखाले हेर्नु भनेको उहाँले गरेका योगदानहरुको अवमूल्यन गर्नु हो र उहाँले गर्नुभएको बलिदानमाथि अन्याय गर्नु हो । सेन जस्तै आदर्श, निष्ठा, नैतिकता, दृढता र साहस बोकी हरेक समस्यालाई सकारात्मकरुपले सुल्झाउन सक्यौं भने मात्र हामीले आजको पत्रकारितालाई अघि बढाउन सक्छौं र सिङ्गो पत्रकारिता क्षेत्रलाई स्वस्थ र मर्यादित बनाएर समाजले पत्रकारिता क्षेत्रबाट गर्नेे अपेक्षालाई पूरा गर्न सक्नेछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *