पत्रकार शहीद कृष्ण सेनको सम्झना

  
  प्रकाशित मितिः आइतवार, जेष्ठ १९, २०७०       | 241 Views   ||

govind aacc-[गोविन्द आचार्य]

हाम्रो संगठन क्रान्तिकारी पत्रकार संघले हरेक वर्ष जेठ १३ गतेलाई देश र जनताको पक्षमा पत्रकारिता गर्दा उच्च शहादत प्राप्त गर्नुभएका महान् शहीद पत्रकार कृष्ण सेन ‘इच्छुक’को सम्मानमा सेन स्मृति दिवस मनाउँदै आइरहेको छ । संघले यसपटक जेठ ६ देखि १३ गतेसम्म देशभर र प्रवासमासमेत विविध कार्यक्रमका साथ कृष्ण सेन स्मृति दिवस मनाउने निर्णय गरेको छ । वरिष्ठ पत्रकार एवम् साहित्यकार कृष्ण सेनलाई पक्राउ गरी हत्या गरिएको जेठ ६ देखि १३ गतेसम्मको अवधिमा उहाँको सम्झना र सम्मानमा सेनको जीवनी, योगदान र उच्च बलिदानबारे सञ्चार अभियान चलाउने, जनपक्षीय पत्रकारिता गर्ने क्रममा हत्या गरिएका सबै शहीद पत्रकारका परिवारसँग भेटघाट, प्रभातफेरी, अन्तरक्रिया तथा सेन स्मृति पुरस्कार वितरणलगायतका कार्यक्रम आयोजना गरिएको छ । वरिष्ठ पत्रकार कृष्ण सेनको सम्झनामा ११ औं स्मृति दिवस मनाइरहँदा उहाँले पत्रकारिताका माध्यमबाट नेपाली जनताको पूर्ण मुक्ति, स्वतन्त्रता र राष्ट्रिय स्वाधीनताका पक्षमा खेल्नुभएको नेतृत्वदायी भूमिका एवम् उहाँका योगदानहरुलाई हामी सबैले बिशेष स्मरण गरिरहेका छौं ।

अर्घाखाँचीको सातमारा घर भई भारतको देहरादुनमा लाहुरे जीवन बिताएका बुबा यमबहादुर सेन र आमा भीमकुमारी सेनको कोखबाट २०१३ साल कार्तिक ३ गते देहरादुनमा कृष्ण सेनको जन्म भयो । उहाँले एम.ए.सम्मको अध्ययन गर्नुभयो । विद्यार्थीकालदेखि नै उहाँ कम्युनिष्ट राजनीतिमा सक्रिय हुनुभयो । २०२८ सालदेखि कवितामार्फत् साहित्य लेखनतर्फ प्रवेश गर्नुभएका कृष्ण सेन ‘इच्छुक’का शहीद मित्रमणि आचार्यको सम्झनामा दाङ जेल बसाइको क्रममा लेख्नुभएको ‘शोककाव्य’ २०४८ सालमा प्रकाशित भएको छ । त्यसैगरी २०५६ सालमा ‘इतिहासको यस घडीमा’ कवितासङ्ग्रह, र २०५८ सालमा ‘बन्दी र चन्द्रागिरि’ कविता संग्रह प्रकाशित भइसकेको छ । प्रकाशोन्मुख– ‘पर्खालभित्रका बन्द आवाजहरु’ भने उहाँको पछिल्लो गिरप्तारीसँगै हराएको छ । यसबाहेक उहाँका सयौं फुटकर रचनाहरु प्रकाशित र अप्रकाशित अवस्थामा छन् । त्यसैगरी सेनका रचनाहरुको सङ्ग्रह भाग १, २ र ३ प्रकाशित भएको छ ।

कृष्ण सेन तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को क्षेत्रीय ब्यूरो सदस्य, अखिल नेपाल जनसाँस्कृतिक महासंघको केन्द्रीय अध्यक्ष, प्रगतिशील लेखक संघको केन्द्रीय सदस्य, जनअधिकार सरोकार अभियानको केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद् हुनुहुन्थ्यो । उहाँले पञ्चायतीकालमा ७ वर्ष र बहुदल आएपछि २ वर्ष जेलजीवन बिताउनुभयो ।

पञ्चायतीकालमा योजना साप्ताहिकमार्फत् पत्रकारिता सुरु गर्नुभएका कृष्ण सेन बहुदलीय व्यवस्था स्थापनापछि जनादेश साप्ताहिक र कलम त्रैमासिकको सम्पादक तथा जनदिशा दैनिकको प्रधान सम्पादक/प्रकाशक रहेर जनपक्षीय पत्रकारिताको क्षेत्रमा अत्यन्तै महत्वपूर्ण र नेतृत्वकारी भूमिका निभाउनुभयो । जनयुद्धकालमा जनपक्षीय पत्रकारिताको अगुवाई कृष्ण सेनले नै गर्नुभयो । ०५८ सालमा कृष्ण सेन सम्पादक रहेको जनादेश साप्ताहिकको सम्पादकको जिम्मेवारी मलाई दिइयो र उहाँ जनदिशा दैनिकको प्रधान सम्पादक हुनुभयो । दैनिक पत्रिकाको प्रधान सम्पादकको जिम्मेवारी सम्हालेपछि उहाँको पत्रकारिता जीवन झनै सक्रिय रहन पुगेको थियो । २०५८ मंसिर ११ गते कांग्रेस नेता शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले देशमा संकटकालको घोषणा गरेसँगै म, ओम शर्मा, खिलबहादुर भण्डारी, मनऋषि धिताल, निमबहादुर बुढाथोकी, दीपक सापकोटासहित हामीलाई जनादेश साप्ताहिकको कार्यालयबाटै पक्राउ गरी जेल चलान गरियो । त्यसबेला कृष्ण सेनसहितका साथीहरुले पत्रिकालाई विविधरुपमा निरन्तरता दिइरहनुभएको थियो । यसै क्रममा एक पत्रकारको सुराकीका आधारमा ०५९ जेठ ६ गते सेन दाइलाई पक्राउ गरियो । उहाँलाई एक हप्तासम्म अनेकखाले यातनाका साथ प्रहरी हिरासतमा राख्दा पनि माओवादी पार्टी र त्यसका नेताहरुबारे कुनै पनि सूचना नदिएको आरोपमा हिरासतभित्रै विभत्स हत्या गरियो ।

अहिले पनि मेरो स्मरणमा सेन दाइसँग हामी पक्राउ पर्नुभन्दा तीन घण्टा पहिलेको भेट ताजै भएर आउँछ । त्यो भेट नै उहाँसँग मेरो अन्तिम भेट होला भन्ने लागेकै थिएन । त्यस दिन देशमा संकटकाल लाग्ने र जनादेश र जनदिशाबाट हामीलाई पक्राउ गर्ने तयारी भइरहेको सूचना प्राप्त भएको थियो । डिल्लीबजारस्थित दीपक मैनालीजीको कोठामा झण्डै २ घण्टा सेन दाई र मैले छलफल गरेका थियौं । त्यहीं हामीले सहयोद्धा साथी चन्द्रमान श्रेष्ठजीलाई पनि बोलायौं र मुलुकमा संकटकाल घोषणा हुनसक्ने स्थितिको आँकलन गर्दै अर्को दिन प्रकाशित हुने जनादेश र जनदिशा पत्रिका जसरी भए पनि निकाल्ने योजना बनायौं । पत्रिका कार्यालयमा काम गर्दागर्दै हामीलाई पक्राउ गरिएछ भने पनि तयार हुने मानसिकता बनायौं । सेन दाइसँग छुटेर पुतलीसडकस्थित जनादेशको कार्यालयमा आइपुगेको केही समयपश्चात् हामीलाई प्रहरीले पक्राउ ग¥यो भने जनदिशाबाट पनि सहयोद्धाहरु ओम शर्मा र दीपक मैनालीजीलाई पक्राउ ग¥यो । हामी पक्राउ परे पनि सेन दाई फिल्डमै रहेर पत्रिकालाई निरन्तरता दिइरहनुभएकोमा हामीलाई गर्व लागेको थियो । तर, उहाँलाई पनि संकटकाल लागेको छ महिनापश्चात् पक्राउ गरियो । पक्राउपश्चात् महेन्द्र पुलिस क्लबमा पु¥याई चर्को यातना दिइयो, गोपनीयता खुलाउने र आत्मसमर्पण गराउने लाखौं कोसिस गरियो तर सेन दाइले आत्मसमर्पण र गद्दारी होइन अजम्बरी जीवन रोज्नुभयो । उहाँले हाँसी–हाँसी छातीमा गोली थाप्नुभयो र महान् मृत्युवरण गर्नुभयो । फासिष्टहरुसामु उहाँ एक इन्च पनि झुक्नुभएन । पुरानो सत्ताका सञ्चालक राजा ज्ञानेन्द्र, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री खुमबहादुर खड्का र गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले सेनजीको हत्याको आदेश–फरमानहरु जारी गरे भने एसएसपी अमरसिंह शाहसहितका प्रहरी अधिकृतले उहाँको हत्या गरे ।

पञ्चायतीकालमा २०४६ को शुरुतिर हो मेरो कृष्ण सेनसित परिचय भएको हो । त्यो क्षण मलाई भर्खरझैं लागिरहेछ । प्यूठानको चेरनेटा डाँडाको एउटा स्कूलमा सम्पन्न अ.ने.रा.स्व.वि.यु. प्यूठानको जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले संगठनको महत्व, अखिलको इतिहास र आगामी कार्यक्रम एवं देशको समसामयिक परिस्थितिबारे महत्वपूर्ण कुराहरु राख्नुभएको थियो । गहुँगोरो वर्णको, पातलो एवं सामान्य खालका सर्ट–पाइन्ट, जुत्ता र चस्मा लगाएको त्यो मान्छेसित म शुरुमै अत्यन्त प्रभावित भएको थिएँ । त्यसपछि म उहाँसँगै प्यूठानका विभिन्न गाउँहरुमा घुम्ने मौका पाए र २०४६ सालको जनआन्दोलनपछि त उहाँसँगै प्यूठान र रोल्पाका विभिन्न स्कूल र गाउँहरुमा पुगेर संगठन निर्माणका काममा लागियो । २०४८ सालको संसदीय निर्वाचनमा प्यूठानको क्षेत्र नं १ मा सेन दाइको नेतृत्वमा रहेको प्रचार टिममा रहेर झण्डै डेढ महिनासँगसँगै हिड्ने अवसर पाइयो ।

०५० सालदेखि म जनादेश पत्रिकामा काम गर्न थालेपछिका वर्षहरुमा म जनादेशमा संवाददाता हुँदै व्यवस्थापक, सह–सम्पादक, कार्यकारी सम्पादक र सम्पादकका रुपमा कार्यरत रहँदा सेन दाईकै नेतृत्वमा यात्रा अघि बढाउने अवसर प्राप्त भयो । यसबीचका सहकार्यका क्षणहरु मेरा लागि अत्यन्तै गौरवपूर्ण र प्रेरणादायी छन् । थुप्रै अभाव, चुनौती र दमनको सामना गर्दै हामीले जनपक्षीय पत्रकारिता गरिरह्यौं । जनादेश साप्ताहिकलाई श्रमजीवी जनताको मुखपत्र बनाइरह्यौं । थुप्रै दिन हामी भोकभोकै बस्यौं, भूमिगत र अर्धभूमिगत बन्यौं, एउटा झोलालाई नै कार्यालय बनाएर साथीहरुका कोठा, विभिन्न प्रेस र कम्प्युटर चहार्दै विरोधीका आँखा छलेर पत्रिकालाई निरन्तरता दिइरह्यौं । सेन दाइले नै हामीलाई सधैं शोषितपीडित जनताको पक्षमा लेखिरहन र जनविरोधीहरुप्रति कठोर बन्न सिकाइरहनु भयो । उहाँ प्रायःजसो भन्नुहुन्थ्यो– ‘हामीले देशका नब्वे प्रतिशतभन्दा बढी जनताको पक्षमा पत्रकारिता गरेका छौं, त्यसैले हाम्रा लेखाइहरु जनताको पक्षमा हुनुपर्छ र ती शहरका सीमित बुद्धिजीवीहरुले मात्र बुझ्ने भाषामा नभई गाउँका बहुसंख्यक जनताले बुझ्ने र पढ्न सक्ने सरल भाषामा, खुल्ला र स्पष्टरुपमा लेख्नुपर्छ ।’ सेन दाइसँगका सहकार्यका सबै क्षणहरु यहाँ उल्लेख गर्न सम्भव छैन । वास्तवमा सेन दाइ हामी क्रान्तिकारी पत्रकारका एक कुशल गुरु, एक असल अभिभावक र श्रदेय नेता हुनुहुन्थ्यो । हामीलाई अहिलेसम्म पनि पलपलमा उहाँको अभाव खड्किएको अनुभूति हुन्छ ।

०५५ पुसमा ललितपुरको भट्टेडाँडामाथि माओवादी छापामारहरुले आक्रमण गरेको समाचार सचित्र जनादेशमा प्रकाशित भएपछि तत्कालीन सरकारले जनादेशमाथि नाङ्गो दमन ग¥यो । पत्रिकाका सल्लाहकार एवं वरिष्ठ पत्रकार शक्ति लम्सालसहित संवाददाता, वितरक र प्रेस कामदारहरुसमेतको गिरप्तारी एवं कम्प्युटरसहित प्रेस सामग्री लुटेर कार्यालयमा तालाबन्दी गरिएपछि हामीले अर्धभूमिगत बनेर पत्रिकालाई निरन्तरता दिइरह्यौं । यसैक्रममा २०५६ बैशाख ६ गते सेन दाइलाई सुन्धाराबाट पक्राउ ग¥यो । उहाँलाई अदालतले रिहा गर्न पटक–पटक आदेश दिदा पनि रिहा गरिएन र विभिन्न प्रकारका यातनाका साथ २ वर्षसम्म थुनामा राखियो । जेलमा रहँदा पनि हामीलाई उहाँले पटक–पटक पठाएका चिट्ठी, भेटघाट र कुराकानीमा उहाँले मार्ग निर्देशन गरिरहनुभएको अनुभूति हुन्थ्यो । राजविराजबाट पठाएको पत्रमा एकपटक उहाँले लेख्नुभएको थियो– ‘म जेलमा रहे पनि तपाईंलगायत साथीहरुले तमाम विघ्न, बाधा, अप्ठ्यारा र चुनौतीहरुको सजिलै सामना गरेर जनादेशलाई निरन्तरता दिइरहनु भएकोमा अत्यन्तै गर्व लागेको छ । तपाईंहरु अझै दृढ, निर्भिक र अविचलित भएर यात्रा जारी राख्नु हुनेछ ।’ सेन दाइले जेलभित्रबाट पठाएका यस्ता पत्रहरुमा हामीलाई अझ प्रगति गर्न, क्रान्तिप्रति प्रतिबद्ध बन्न र शहीद र बेपत्ता पारिएका साथीहरुका परिवारप्रति संवेदनशील रहनसमेत आग्रह गरिएका हुन्थे ।

सेन दाइ हाम्रा हरेक समस्याहरु आफ्नै समस्याझैं मान्नुहुन्थ्यो । हामीले हाम्रा कुनै गुनासा, असन्तुष्टि वा समस्याहरु भए धक फुकाएर उहाँलाई सुनाउँथ्यौं । उहाँले नै त्यसको उचित उपचार गराइदिनुहुन्थ्यो । कहिलेकाहीँ हामीमा आउने निरासा, कुण्ठा एवं व्यक्तिगत स्वार्थजस्ता तुच्छ प्रवृत्तिहरुका विरुद्ध लड्ने मनोबलसमेत उहाँसँगको छलफलपश्चात् प्राप्त हुन्थ्यो । साँच्चै हामीलाई लाग्ने गर्दथ्यो सादा जीवन र उच्च विचार अँगालेको यो मान्छे महान् आदर्श हो, हामीले सिक्नुपर्ने सयौं गुणहरु यो मान्छेमा छन् । कतिपय जनादेशका पाठकहरुसमेत सेनजीलाई देख्न र उहाँसँग भेट्न भनेर कार्यालयमा आउँथे । उनीहरुलाई उहाँले यथेष्ट समय दिएर भेट्नुहुन्थ्यो । कतिपय त आफ्ना विविध समस्याहरुसमेत लिएर आउँथे, तिनीहरुका समस्याहरुसमेत उहाँले सकेजति समाधान गरिदिनुहुन्थ्यो वा समाधानको उपाय बताइदिनुहुन्थ्यो । एकपटक बिरामी अवस्थामा रहेका वरिष्ठ वामनेता निर्मल लामालाई सेनजी भेट्न जानु हुँदा लामाले सेनजीसँगका विगतका भेटहरु र आफू, मोहन वैद्य, मोहनविक्रम, भक्तबहादुर श्रेष्ठजीहरु प्रवासमा रहँदा ०३६–०३९ सालमा सेनजीले निभाएको अतुलनीय भूमिकाको स्मरण गर्दै धेरैबेर रोएका थिए । सबैजसो विचारप्रति आस्थावान मान्छेहरुका बीचमा सेनजी एक सक्षम जनपक्षीय पत्रकार, क्रान्तिकारी सर्जक र सच्चा क्रान्तिकारी नेताका रुपमा स्थापित बन्नुभएको थियो । उहाँले विरोधीहरुसँगका छलफलमा समेत उनीहरुका विचारलाई गम्भीरतापूर्वक सुनेर तथ्यपूर्णरुपमा आफ्ना कुरालाई स्पष्टसँग राख्नुहुन्थ्यो । छलछाम, षड्यन्त्र, तिकडम, पदलोलुपताजस्ता गलत चिन्तन र प्रवृत्तिप्रति सेनजी धेरै घृणा गर्नुहुन्थ्यो । आन्दोलनभित्र देखा पर्ने विविध प्रकारका खराब चिन्तन, व्यक्तिवादी अराजकतालगायतका प्रतिक्रान्तिकारी विचारका विरुद्ध पनि सेनजी सधंै गर्जनुभयो । उहाँले सधैं सही र क्रान्तिकारी विचारका पक्षमा आफूलाई उभ्याउँदै आउनुभयो ।

असंख्य मान्छेहरुको मन जित्न सफल अथक योद्धा कृष्ण सेनको भौतिक शरिर त आज हाम्रा सामु छैन । तानाशाहीहरुले उहाँको भौतिक शरीर ढाले तर उहाँले अंगालेको महान् विचारलाई ढाल्न सकेनन् । साहित्य–कला र पत्रकारितासमेत राजनीतिबाट अलग हुँदैन भन्ने कुरा सेनजीले बारबार हामीलाई सिकाउनुहुन्थ्यो । आज हजारौं जीवनले कृष्ण सेनलाई आदर्श मानिरहेका छन् र उहाँको सपना पूरा गर्ने अठोट गरिरहेका छन् । सेनजीले देखेको सुन्दर सपना भनेको शोषण, दमन, अन्याय, अत्याचारमुक्त नयाँ नेपाल निर्माण गर्नु हो– जहाँ न्याय, समानता र स्वतन्त्रताको ग्यारेण्टी हुनेछ । अहिले एकीकृत माओवादीको नेतृत्वमा नयाँ नेपाल निर्माणको अभियान अघि बढेको छ । यो अभियान पूरा गरेर मात्रै सेनजीलगायतका शहीदहरुको सपना पूरा गर्न सकिनेछ । कृष्ण सेन इच्छुकको ११औं स्मृति दिवसको यस अवसरमा क्रान्तिकारी पत्रकारहरु सेनजीले देखाएको गौरवमय बाटोको अनुशरण गर्दै श्रमजीवी वर्गको पक्षमा आफूलाई उभ्याउने प्रतिबद्धता व्यक्त गरौं । महान् शहीद कृष्ण सेनप्रति हार्दिक श्रद्धासुमन ।

प्रकाशित मितिः २०७० जेठ १२ गते आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *