हामी क्रान्तिकै चरणमा छौं–भट्टराई

  
  प्रकाशित मितिः आइतवार, जेष्ठ १९, २०७०       | 115 Views   ||

चन्द्र खनाल
भालुवाङ (दाङ) जेठ १८ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी क्रान्तिकै चरणमा रहेको बताउनुभएको छ । दाङको भालुवाङमा शनिबार आयोजना गरिएको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको हो । ‘दश बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्वलगायतका महत्वपूर्ण उपलब्धि प्राप्त भएका छन्, यी पनि क्रान्तिकै कार्यभार हुन्’– उहाँले भन्नुभयो– ‘तर, क्रान्ति पूरा भएको छैन, हामी क्रान्तिकै चरणमा छौं ।’ क्रान्तिका बाँकी कार्यभार पूरा गर्न संविधान निर्माणको विकल्प नभएको पनि उहा“ले बताउनुभयो ।

नयाँ संविधान निर्माणमार्फत् राजनीतिक स्थायित्व कायम गरेर आर्थिक समृद्धिको बाटोबाट क्रान्तिलाई पूर्णता दिने हेटौंडा महाधिवेशनको कार्यनीति रहेको पनि उपाध्यक्ष डा. भट्टराईले स्पष्ट पार्नुभयो । पुरानो संविधानसभाले संविधान बनाउन नसकेको सन्दर्भमा फेरि पनि संविधान बन्छ कि बन्दैन भन्ने आशंका जनतामा रहनु स्वाभाविक रहेको उल्लेख गर्दै उहाँले विगतलाई सम्झेर रुनु कराउनुभन्दा पनि स्थितिलाई सम्हालेर संयमतापूर्वक संक्रमणकालको अन्त्य गर्नु नै अहिलेको आवश्यकता भएको बताउनुभयो । ‘पुरानो शक्तिले २०४७ सालकै संविधान बनाउन खोजेकाले संविधान बन्न सकेन’– उहाँले थप्नुभयो– ‘विगतका असफलताबाट पाठ सिक्दै अब संविधान बनाउनुको विकल्प छैन ।’

दश बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनले पुरानो राज्यसत्ता भत्काए पनि नयाँ राज्यसत्ता नबनिसकेको स्पष्ट गर्दै डा. भट्टराईले नयाँ संविधान निर्माण गरेर मात्रै नयाँ राज्यसत्ताको जग हाल्न सकिने बताउनुभयो । ‘परिवर्तन संस्थागत गर्न ढिला त भएको छ तर इतिहासमा परिवर्तन रातारात हुँदैन’– उहाँले थप्नुभयो– ‘लामो प्रयासपछि मात्र परिवर्तन संस्थागत सकिने भएकाले यहाँ पनि प्राप्त उपलब्धिको रक्षा र विकासमा ध्यान दिन जरुरी छ ।’

आफू अर्थमन्त्री हुँदा बजेट बनाउन पाएकाले नयाँ नेपालको झल्को दिने प्रयास गरे पनि प्रधानमन्त्री हुँदा बजेट ल्याउन नपाएकाले विकास कार्यक्रम सोचेअनुसार अघि बढाउन नसकिएको बताउनुभयो । ‘म प्रधानमन्त्री हुँदा राष्ट्रपतिले बजेट पेश गर्न नै दिएनन्’– उहाँले भन्नुभयो– ‘राष्ट्रपति भन्दा पनि उहाँ बिपक्षी दलको नेताको रुपमा प्रस्तुत भएकाले सरकारले आफ्नै नीति कार्यक्रम र बजेट ल्याउन पाएन र विकास कार्यक्रम अघि बढाउन पाएन ।’

अर्को प्रसंगमा पूर्वप्रधानमन्त्री भट्टराईले भालुवाङको जग्गा नगर विकासलाई हस्तान्तरण गर्ने नीतिगत निर्णय आफ्नो पालामा गरिसकेको जानकारी दिंदै प्रक्रिया पु¥याएर चाँडै काम अघि बढ्ने बताउनुभयो । ‘व्यक्ति÷व्यक्तिलाई जग्गा दिंदा समस्या आउने भएकाले एकमुष्ठरुपमा नगर विकासलाई हस्तान्तरण गर्ने निर्णय गरिएको हो’– उहाँले भन्नुभयो– ‘वन क्षेत्रसँग सट्टा भर्ना गरी अर्को खाली क्षेत्रमा बृक्षारोपण गरेपछि मात्रै जग्गा हस्तान्तरण हुने भएकाले चाँडै प्रक्रिया पूरा हुनेछ ।’

त्यस्तै उहाँले अहिले राजनीतिक अस्थिरताका कारण रोकिएको नौमुरे जलविद्युत योजना पनि निर्वाचनपछि शुरु हुने बताउनुभयो । नौमुरे बिजुली र सिंचाइसहितको बहुउद्देश्यीय योजना भएको जानकारी दिंंदै डा. भट्टराईले यसलाई राष्ट्रियतास“ग जोड्न नहुने बताउनुभयो ।

कार्यक्रममा एकीकृत नेकपा माओवादी लालमटिया गाउँ समिति अध्यक्ष श्यामेश चौधरीले यस क्षेत्रका दर्जन बढी माग अघि सार्नुभएको थियो । उहाँले भालुवाङको जग्गा तत्काल हस्तान्तरण गरिनुपर्ने, नौमुरे जलविद्युतबारे जनतालाई स्पष्ट पारेर योजना अघि बढाउनुपर्ने, बड्कापथ सिंचाई अघि बढाउनुपर्ने र प्रगन्न सिंचाइको अधुरो योजना पूरा गर्नुपर्ने माग अघि सार्नुभएको थियो । त्यस्तै उहाँले लालमटिया– ४ र ७ मा बृहत खानेपानी आयोजना सञ्चालन गरिनुपर्ने, लालमटिया– ३ मा ट्यांकी बनाउनुपर्ने, गाविस भवन जीर्ण भएकाले नयाँ बनाउनुपर्ने, ऐरावती बहुमुखी क्याम्पसलाई राज्यले सहयोग गर्नुपर्ने, रामनगर–बसन्तापुर सडक ग्राभेल गर्नुपर्ने र हिमाल महिला समूहको भवन निर्माणमा सहयोग गर्नुपर्नेलगायतका माग अघि सार्नुभएको थियो ।

कार्यक्रममा एमाओवादी थारुवान राज्य संयोजक नवराज सुवेदी, केन्द्रीय सदस्यहरु इश्वरी भट्टराई, कर्णध्वज केसी, निर्मल आचार्यलगायतको उपस्थिति थियो । कार्यक्रम सञ्चालन एमाओवादी दाङ क्षेत्र नम्बर २ का संयोजक लुमबहादुर कार्की ‘बद्री’ले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *