माओवादी
कोट्याइरहेछ घरिघरि
चोर औंलाले देब्रे नाक
कांग्रेस
हाइ काडिरहेछ सुस्त सुस्त
र, कन्याइरहेछ दाहिने काखी
एमाले
घरि पूर्व फर्केर हाच्छ्युँ गर्छ
घरि पश्चिम फर्केर खोक्न थाल्छ
मधेशी मोर्चा
एक हातले पसिना पुछ्छ निधारको
र, अर्को हातले चिउँडोको ¥याल
मसाल
मध्यान्ह भइसक्दा पनि मिचिरहेछ
आँखा र कचेर सँगसँगै
संविधान कसले लेख्ने हो ?
उँघिरहेछ टेबलमाथि
वैदेशिक सहयोगमा प्राप्त ल्यापटप
यस्तो बेलामा
एकादशी नुहाउन बागमतीमा पस्दैछ
घर छाडेर हिंडेको नयाँ माओवादी
युवाकवि सङ्गीतश्रोता शनिबार दङ्गाली पाठकमाझ कविताका यी हरफहरुमार्फत् वर्तमानको यथार्थता सुनाउँदै हुनुहुन्थ्यो । पहिलोपटक दाङ आउनुभएका उहाँले पाठकमाझ आफ्ना प्रकाशित अप्रकाशित गरी झण्डै एकदर्जन कविता सुनाउनुभयो । उहाँको भर्खरै प्रकाशित ‘म काठमाडौं आइपुगें’ कविता सङ्ग्रहको परिचर्चा एवम् कविता वाचन कार्यक्रमको अवसर मदानी साहित्य समूह नेपालले जुटाएको थियो ।
कविता वाचनसँगै उहाँले आफ्नो कविता लेखनको शुरुवात, रचनागर्भ र आफ्नो अनुभवसमेत सुनाउनुभयो । आफूले देखे, भोगेका घटना, अनुभव र परिवेशबाट नै कविता लेख्ने गरेको भन्दै उहाँले लेखनका लागि छुट्टै वातावरण नचाहिने बताउनुभयो । ‘मेरो मनभित्र, हृदयभित्र केही विषयले गहिरोसँग प्रभाव पा¥यो भने जतिबेला पनि कविता लेख्ने गर्छु, उहाँले भन्नुभयो– ‘कविता लेख्नका लागि छुट्टै वातावरण, झ्याल खोलिएको कोठा वा दुई चारवटा चुरोट चाहिँदैन ।’ आफ्नो पहिलो कवितासङ्गह म काठमाडौं आइपुगेंमा पछिल्ला चार/वर्षभित्र लेखिएका कविताहरु समावेश गरिएको भन्दै सङ्गीतले कवितामा आफ्नो अनुभवसँगै सामाजिक तथा राजनीतिक चिन्तनका कलात्मक अभिव्यक्ति भएको बताउनुभयो ।
केटाकेटीमा कवि बन्ने सपना कहिल्यै नदेखेको भन्दै कवि सङ्गीतले कविता लेखनका शुरुवाती समयलाई सम्झिनुभयो । ‘बरु केटाकेटीमा गायक बन्ने भूत सवार भएको थियो, उहाँले भन्नुभयो– ‘गाउँमा हुने भजन, चाडवाड र स्कूलका कार्यक्रमहरुमा भजन र गीत खुबै गाइन्थ्यो । तर, कसो–कसो कविता पो लेख्न थालियो ।’ सानोमा स्कूल पढ्दा गुरुहरुले भनेको, किताबमा पढेको कुराले आफूमा कवि बन्ने कुनै छाँट नभएको उहाँले बताउनुभयो । ‘स्कूलमा पढाउँदा गुरुहरुले भन्नुहुन्थ्यो महाकवि देवकोटा लक्ष्मीपूजाको दिन जन्मिए पनि सरस्वतीका वरदपुत्र हुन्, कवि हुनलाई त प्रतिभा लिएरै आउनुपर्छ, उहाँले भन्नुभयो– ‘मलाई लाग्थ्यो न आफू सरस्वतीको वरदपुत्र न औंशी र पूर्णेको मौकामा प्रतिभा लिएर जन्मिएको । कवि हुने चान्सै छैन ।’ उसो त अझैं पनि आफू कवि भइसकेको दावी गर्न नसक्ने भन्दै उहाँले पहिलो कविता सङ्ग्रह कवि हो कि होइन भन्ने परिक्षणका रुपमा आएको बताउनुभयो ।
सो अवसरमा कवि एवम् समालोचक यज्ञबहादुर डाँगीले सङ्गीतश्रोताका कविता वर्तमानको विकृति, विसंगति र खराबीका विरुद्धमा खरो रुपमा उत्रिएको बताउनुभयो । ‘हरेक कवि आफ्नो समयको विकृति, विसंगति र खराबीका विरुद्ध कलम चलाउँछ, उहाँले भन्नुभयो– ‘सङ्गीतका कविता पनि अहिलेको विसंगति र खराबीका विरुद्ध खरोरुपमा उत्रिएका छन् ।’ सङ्गीतका कविता समय, समाज र राजनीतिसँग जोडिएका भन्दै समीक्षक डाँगीले पार्टीविशेषको पक्षपोषण वा विरोधभन्दा सबै खराबीका विरुद्ध उभिएको बताउनुभयो ।
त्यस्तै अर्का समीक्षक प्रमोद धितालले नयाँ बिम्ब, प्रतीकहरुको प्रयोगमा कवि सङ्गीतश्रोता सफल रहेको बताउनुभयो । पाठकहरुलाई संवेदना पैदा गर्न नसक्ने कविता साँचो अर्थमा कविता नै बन्न नसक्ने भन्दै धितालले भन्नुभयो– ‘तर, सङ्गीतश्रोताका कविता पढ्दै गर्दा पाठक कहिले उद्देलित हुन्छ, त कहिले आक्रोशित । पाठकलाई संवेदित बनाउने र महसुस गराउन कविता सफल छन् ।’
कार्यक्रममा कवि सङ्गीतश्रोताले तस्वीर लगायत कविता सङ्ग्रहमा समावेश गरिएका बजार र किताब शीर्षकका कविता सुनाउनुभएको थियो भने पाठकहरु आस्था केसी र यम रेग्मीले जीवन र कामरेड किताब खोजिरहनुभएको छ शीर्षकका कविता सुनाउनुभएको थियो । कार्यक्रमको संयोजन मदानी अभियन्ता श्रीधर भावुकले गर्नुभएको थियो ।
मदानीमा अब मोहन मैनाली
यसैबीच मदानी साहित्य समूह, नेपालले असारको कार्यक्रममा पत्रकार मोहन मैनालीलाई निम्त्याउने भएको छ । मैनालीको पुस्तक उपल्लो थलोको परिचर्चाका साथै पत्रकारितासम्बन्धी केही वृत्तचित्र पनि प्रदर्शन गरिने कार्यक्रम संयोजक डिल्ली मल्लले जानकारी दिनुभयो । आगामी असार १५ गते मैनालीलाई मदानीमा निम्त्याइएको मल्लले बताउनुभयो ।