उदयले भने– ऐले आत्मसमर्पण गर्छु

  
  प्रकाशित मितिः आइतवार, जेष्ठ १९, २०७०       | 135 Views   ||

Udaya_Gm-[उदय जीएम]
पत्रकार/साहित्यकार

तपाईं त पुस्तकका अन्वार सिंगार्ने मान्छे, पुस्तक पढ्नलाई फूर्सद के हुँदो हो र है !
–हे हे हे । पुस्तकका अन्वार सिङ्गार्दा, घरधन्दा झमेलाका बोझ उठाउँदा, पेटकारितालाई सम्हाल्दा फुर्सद त ठ्याक्कै हजुरले भनेजस्तै हो । कहिलेकाहीं मूलधारे पत्रपत्रिकामा आएका पुस्तक समीक्षा पढेपछि बहकिएर कुनै किताबका भूमिका र कुनैका एक/दुई अध्यायसम्म हेरिन्छ । किताबले तान्यो भने अलि भित्र पनि पसिन्छ । तानेन भने त्यहींनेर पूर्णविराम । किताब किन्नचाहिँ छोडिन्न ।

त्यसो भए पछिल्लोपटक कुन पुस्तक पढ्नुभयो ?
–पछिल्लोपटक पढेको पुस्तक हाम्रै दाङका जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहको ‘शैक्षिक गन्तव्य’ हो ।

‘शैक्षिक गन्तव्य’मा के रहेछ ?
–‘शैक्षिक गन्तव्य’मा शिक्षासम्बन्धी नीतिनिर्माता, शिक्षक, अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र शिक्षासँग सरोकारवाला सबैका लागि उपयोगी कुरा छन् ।
यसमा सबै पक्षलाई सल्लाह, सुझाव र शिक्षा क्षेत्रको महत्वपूर्ण पदमा बस्दा पनि त्यसका सीमाहरुलाई विस्तृतरुपमा प्रकाश पारिएको छ ।
पत्रात्मक शैलीमा लेखिएकाले गहन विषयवस्तु भए पनि सरल ढंगले बुझ्न सकिन्छ ।

अहिलेसम्म कति पुस्तकका आवरण बनाउनु भो नि ?
–करीब ५० वटाको हाराहारीमा । त्योभन्दा बढी संख्यामा स्मारिका, प्रतिवेदन, म्यागेजिनहरुको आवरण बनाइयो होला ।

आवरण बनाउने उदय तर लेख्ने चैं ज्ञानमाला डिजाइन । ‘ज्ञानमाला’ भन्या के हो नि ?
–सबै कुराको पोलचाहिँ किन खोलाउनु प¥या होला ? यो प्रश्नको नियत खासै गतिलो त लागेन । तैपनि भन्नैपर्दा ‘ज्ञानमाला’ मेरी जीवनसाथीको नाम हो । उनैको नामबाट डिजाइनको नाम राखेको नि । बूढीलाई यस्सो खुशी पार्ने भित्री मनशाय हो । मिलाएर कुरा बुझम् न हो ।

कस्ता पुस्तकहरु बढी पढ्नुहुन्छ ?
–यसमा अलि समस्या छ । उहिले झोला बोकेको हुनाले राजनीतिसम्बन्धी पुस्तकमा पनि आँखा गइहाल्छन् । जनजाति भइयो, जनजातिसम्बन्धी किताब पनि कैलीकसो काम लाग्लान् भन्ने हुन्छ । अलि–अलि साहित्यकार र पत्रकार भइटोपलियो, त्यस्तामा नि आँखा लाग्ने भइगे । यसो सोच्दा ‘यता न उता हातैभरि जुत्ता’ पो भएछ ।

पुस्तक किन्न मासिक खर्च ?
–त्यस्तो हिसाब किताब नै ठ्याक्कै राख्ने गरेको छैन । गृहमन्त्रीको गाली त छँदैछ पुस्तक राख्नै समस्या । यता हे¥यो पुस्तक, उता हे¥यो पुस्तक ।
हुक्कहैरान परेर ज्ञानमालाले भन्न थालिन्, ‘मेरो जिन्दगी त किताब, सम्मानपत्र, कदरपत्र, प्रशंसापत्रहरु स्याहार्दास्याहार्दै जाने भो ।’ त्यसपछि अलि बढी चर्चामा आएका पुस्तकमात्र किन्ने बानी बसालेको छु । त्यै त हो, नानीदेखि लागेको बानी, कहिलेकाहीं यस्सो हे¥यो कि किनिहाल्ने रै’छु ।

आफूलाई घत परेको कुनै पुस्तक ?
–मलाई सबभन्दा घत परेको पुस्तक ‘आह क्यूको साँचो कथा’ हो ।

आफ्नो पहिलोपटक प्रकाशित भएको पुस्तक ?
–‘पञ्जाबदेखि रोल्पासम्म’ भन्ने हो । यसमा भारतको पञ्जाब प्रान्तदेखि रोल्पा पुग्दासम्म मनमा खेलेका विषयवस्तुहरु छन् । म त्यो बेला नेकपा मसालको भातृसंगठन अखिल भारत नेपाली एकता समाजको काँच्चै कार्यकर्ता थिएँ । त्यो बेलाको संयुक्त जनमोर्चा (अहिलेको माओवादी)लाई पाँडे गाली गरेर लेख्या’छु त्यसमा ।

रचना सिर्जनाको भाव कसरी आउँछ ?
–त्यसको क्यै भर हुन्न हजुर । त्यो भाव कहिले सुखमा आउँछ । कहिले दुःखमा पनि टुप्लुक्क आइपुग्छ । कहिलेकाहीँ ट्वाइलेट बसेको बेलामा आउँछ । कहिले साह्रै व्यस्त भएको बेला त कहिले साह्रै अल्छी लागेको बेला ।

आफूले लेखेका रचनाहरुमध्ये आफूलाई अलि राम्रो लागेको रचना ?
–‘साला उदय’, ‘निद हराएका रातहरु’ शीर्षकका कविता । अनि, ‘संसारभन्दा दश मिनेट अगाडि’ शीर्षकको निबन्ध ।

तपाईंलाई आजभोलि भूतपूर्व साहित्यकार भनेको पनि सुनिन्छ नि !
–अरुले भनेका हैनन् बिचरा । म आफै आफू सुहाउँदो नाम जुराएको । नलेखेपछि त्यसै भूतपूर्व साहित्यकार ।

दुइटा उपन्यासको आवरण बनाएको पनि १० वर्षै बित्यो भन्ने हल्ला छ बजारमा । उपन्यास लेखिसकियो कि नाइँ ?
–कहिलेकाहींको गफ आफ्नै टाउकामा बज्रिने रै’छ । जस्तो यो प्रश्न बज्रियो । आवरण बनेको सहीसाँचो हो, उपन्यास नलेखिएको पनि सहीसाँचो हो ।

‘मेवाडको चिया र फेसबुकको सुविधा पाएपछि उदयले साहित्यलाई लात मारिसके, उनीबाट अब नयाँ कृतिको आस नगर्नू’ भन्नेहरु पनि धेरै भेटिसक्या छु मैले ।
–भन्नेहरुका तर्कहरु पनि बलियै छन् । अहिले भन्नेहरुले नै जितून्, म आत्मसमर्पण गर्छु । केही लेखेर छपाइएछ भने तिनीहरुलाई आत्मसमर्पण गराम्ला । कि कसो ?

प्रस्तुतिः विवश
प्रकाशित मितिः २०७० जेठ १९ गते आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *