समय, समाज र संवेदनाका कविता

  
  प्रकाशित मितिः आइतवार, जेष्ठ १९, २०७०       | 175 Views   ||

Amar giri-[अमर गिरी]

‘म काठमाडौं आइपुगें’ युवा कवि सङ्गीतश्रोताको पहिलो कवितासङ्ग्रह हो । यस सङ्ग्रहभित्र २५ वटा कविता रहेका छन् । दुविधा, योजना आगामी महिनाको, बजार, कुर्कुच्चा, तिमी को हौ ?, आमाको अन्तर्वार्ता, जीवन, अचानक, मेरी आमाको जुनी, कनेक्सन, सभ्यता, हँसियाको अनुरोध, म काठमाडौं आइपुगें कमरेड, म कवि बन्न चाहन्न“, प्रिय चाम्लिङ, आवाज, उजेली गुरुङ, महाराजको प्रतीक्षामा, तिम्रो हातको झण्डा, किताब, लेनिनको पत्र कमरेड किरणलाई, सहर पसेको ढिंडो, वायुमण्डलको पेटेन्ट, हेडसर–बसन्ती सम्वाद, कमरेड किताब खोजिरहनुभएको छ यस सङग्रहभित्र रहेका कविताहरू हुन् । यीमध्ये धेरै कविता विभिन्न पत्रपत्रिकामा पूर्वप्रकाशित कविताहरू हुन् ।

सङ्ग्रहभित्र लघु र मझौला आकारका कविताहरू रहेका छन् । कविताहरूमा विषयवस्तुको विविधता छ । आफ्नो समाज, समय र त्यसका संवेदनाहरूसँग सङ्गीतका कविता गहिरो गरी जोडिएका छन् । यस दृष्टिले उनका कविता आफ्नो समयका काव्यात्मक अभिलेख हुन् ।

Ma KTM aaipuge 1कवितामा महसुस गर्नु मात्र पर्याप्त मानिंदैन । महसुस गर्दागर्दै सोच्न पनि आवश्यक ठानिन्छ । विचारशीलतालाई आधुनिक संवेदनाको अनिवार्य हिस्साका रूपमा लिइन्छ । विचार सम्पन्नता कवित्वको एक प्रमुख आधार हो । यस दृष्टिले हेर्दा सङ्गीतका कविता सार्थक रहेका छन् । कविले आफू बाँचेको समाज, समय र त्यसका संवेदनाहरूलाई अनुभूत मात्र गरेका छैनन्, त्यसप्रति गम्भीर वैचारिक सरोकार पनि राखेका छन् ।

सङ्गीतका कवितामा आत्मसजगता, इमान्दारिता, मानिसको वर्तमान स्थितिप्रति आलोचनात्मक दृष्टिकोण, उनीहरूको भविष्यप्रति गहिरो चिन्ता र प्रतिबद्धता, सकारात्मक एवं आशावादी दृष्टिकोण पाइन्छ । उनका कवितामा नेपाली समाजको पुनःर्संरचना, उत्पीडनका समस्त रूपहरूको अन्त्य र एक नवीन समाज निर्माणको स्वप्न सलबलाइरहेको पाइन्छ । उनी अँध्यारोका विरुद्ध उज्यालोका, असमानताका विरुद्ध समानताका, अन्यायका विरुद्ध न्यायका र पराधीनताका विरुद्ध स्वतन्त्रताका कवि हुन् ।

यस सङ्ग्रहभित्रका उनका कविताले आम मानिस, तिनका सुख–दुःख, आँसु–हाँसो, उकाली–ओराली र स्वप्न–सङ्घर्षसँग गम्भीर सरोकार राख्छन् । उनका कवितामा उपेक्षित पात्र, भूगोल र तिनका सुस्केराहरू प्रभावकारी रूपमा उनिएका छन् ।

सङ्गीतका कवितामा एक खास सन्दर्भमा राजनीति, राजनीतिक व्यवस्था र तिनका नियन्ताहरू प्रति असन्तोष, आक्रोश र तीखो टिप्पणी पाइन्छ तर यसको आधार निराशा, विसङ्गतिबोध, उत्तेजना, असन्तुलन र वैचारिक अराजकता देखिंदैन । यसमा एक जिम्मेवार र प्रतिबद्ध कविको उत्तरदायित्वबोध अनुभव हुन्छ । सङ्गीतले नेपालको कम्युनिस्ट आन्दोलन, तिनका पात्र र प्रवृत्तिमाथि पनि गम्भीर प्रहार गरेका छन् तर उनी आफ्नो आस्था र आदर्शबाट अलिकति पनि विचलित देखिंदैनन् ।

कम्युनिस्ट आन्दोलनमा पलाएका ऐंजेरुहरूमाथि निर्भिकतापूर्वक प्रहार गर्नु र आदर्शको पक्षमा उभिनु उनका कविताहरूको विशेषता रहेको छ । बोर्खेजले कविताले सत्यप्रति आँखा चिम्लदैंन, त्यो त्यसबाटै निर्मित हुन्छ जसमा हाम्रा स्मृति, कल्पना, स्वप्न र आदर्शहरू हुन्छन् भन्छन् । सङ्गीतका कविता यसका राम्रा दृष्टान्त हुन् । उनका कविता जीवन–सत्यका कविता हुन्, जहाँ त्यसको सचेत अवलोकन, सार्थक बिम्बात्मक अङ्कन र त्यसमाथि सारगर्भित टिप्पणी पाइन्छ ।

मिलन कुन्देराका शब्दमा भन्दा सङ्गीतका कविता कल्पनाशक्तिमा बाँधिदै आलोचनात्मक विवेकका साहसिक एवं निर्मम प्रयोग हुन् । शब्दमाथि चारैतिरबाट आक्रमण भएको आजको अवस्थामा उनका कविताले शब्दको गरिमा, पवित्रता र सार्थक भूमिकाको रक्षाका निम्ति हामीलाई सजग बनाउँछन् र सङ्घर्षका निम्ति प्रेरित गर्छन् । सङ्गीतका कविताले हामीलाई सन्तुलित र समतलरूपमा परिचित स्थिति, घटना र पात्रस“ग गम्भीरतापूर्वक जोड्छन् ।

उनका कविताले हामीलाई भावुक होइन, त्यस्तो जीवनको साक्षी बनाउँछन् जो असंख्य र अकथनीय दुःख र कठिनाइहरूबीच अलि–अलि खुशी र हिम्मतसहित जीवित छन् र सुन्दरको स्वप्नसहित अघिल्तिर यात्रारत छन् ।

सङ्गीतका कविताले बजार, उपभोक्तावाद र भूमण्डलीकरणलाई पनि आफ्नो प्रहारको निशाना बनाएका छन् । बजार र उपभोक्तावाद दुवै समकालीन पूँजीवादको उपकरणको रूपमा कार्यरत छन् र मनुष्यको कमोडिफिकेसन गरिरहेछन् । पश्चिममा बजार धेरै पहिलेदेखि सक्रिय थियो । बजारको चरित्रलाई सङ्केत गर्दै एकपटक अर्नेस्ट हेमिंग्वेले ‘फ्रान्सेलीहरूका निम्ति बिजनेसको मतलब बिजनेस हुन्छ’ भनेका थिए । हेमिंग्वेको भनाइलाई बिस्तार गर्दै आज भन्न सकिन्छ : सर्वसत्तात्मक पूँजीवादका निम्ति बजारको अर्थ बजार मात्र हुन्छ । मानव गरिमा, मूल्य र आदर्शमाथि आज उपभोक्तावादबाट गम्भीर आक्रमण भइरहेको छ । सङ्गीतले आफ्ना कवितामार्फत् यसको गम्भीर प्रतिवाद गर्दै आफूलाई मानव गरिमा, मूल्य र आदर्शका पक्षमा उभ्याएका छन् ।

सङ्गीतका कविताको भाषामा नयाँपन र स्फूर्ति पाइन्छ । कविताको शैली र कलात्मक उपकरणहरूको प्रयोगमा उनको आफ्नो निजत्व झल्कन्छ । ब्रेख्तले यथार्थबारे टिप्पणी गर्दै भनेका छन् : जब यथार्थ बदलिन्छ, त्यसलाई व्यक्त गर्ने तरिका पनि बदलिनुपर्छ । उनका कवितामा यसको अनुभूति हुन्छ । उनका कवितामा नयाँ–नयाँ बिम्ब, प्रतीक र अलङ्कारहरूको आत्मीय प्रयोग पाइन्छ । नयाँ विषयवस्तुलाई नयाँ ढङ्गले प्रस्तुत गर्नु उनको विशेषता अनुभव हुन्छ । माक्र्सवादप्रति प्रतिबद्ध सङ्गीतका कविताहरू समग्रमा भन्दा माक्र्सवादी कलादृष्टि अनुरूप डोरिएका छन् र उनी आफ्नो कविता लेखनको प्रथम प्रहरमै प्रतिभाशाली युवा कविका रूपमा देखा परेका छन् । उनका कविताका केही बान्कीहरू हेरौं :

तिम्रो टाउको रन्थनाउने गरी
कुनै इख पनि जाग्दैन भने
तिम्रो मुटु नै दुखाउने गरी
कुनै चोट पनि लाग्दैन भने
मलाई शङ्का छ साथी
साँच्चै, के तिमी जिउदै त छौ ?
(जीवन)

०००
किरेडाँडाबाट हिडेर
म काठमाडौं आइपुगें कमरेड
अरु त तपसिलका कुरा
सुरुमा तिमीलाई नै हेर्नु छ मैले
साँच्चै, कस्तो देखिन्छौ हँ तिमी यहाँ ?
(म काठमाडौं आइपुगें कमरेड)

०००
म हुँ उजेली गुरुङ
नगर मसँग बिजुली बत्तीका कुरा
म छु अझै पुरानै घरको ढोकाबाहिर
र खोजिरहेकी छु अहिले पनि
बतासले ननिभाउने
एउटा रातो लालटिन ।
(उजेली गुरुङ)

०००
देखेर आज
तिम्रा लुलिइसकेका हातहरू
दुःखी त भएको छु म अलिकति
प्रिय कमरेड !
तर मरिसकेका छैनन् मेरा सपनाहरू
अझै बाँकी छन् केही आकांक्षाहरू
र बाँकी नै छन् झण्डा बोक्न तयार
एकजोर हातहरू !
(तिम्रो हातको झण्डा)

०००
पहिले पहिले
ढिंडो छाप्रामा पाक्थ्यो
र त्यो पथ्र्यो मेरै भागमा
आजभोलि
ऊ पसेको छ सहरी क्याफेभित्र
र गिज्याइरहेछ सडकतिर फर्केर मलाई ।
(सहर पसेको ढिंडो)

०००
साँच्चै, ओ पत्रकार नानी !
नझिज्याऊ भो सोधेर नानाभाँती
सक्छौ भने सुनाइदेऊ
मेरो बेथाको उल्था गरेर
छापिदेऊ
यो पिरको फोटो खिचेर !
(आमाको अन्तर्वार्ता)

सङ्गीतका कवितामा केही कमजोरीहरू पनि छन् । खास गरेर यथार्थको सुक्ष्म भेदन, त्यसको उच्च कलात्मक प्रकटीकरण, अभिव्यक्तिको प्रौढता र अनुशासनमा उनको ध्यान जान आवश्यक छ । उनका केही कवितामा यिनै कुराहरूको अभाव पाइन्छ । एक दुई कवितामा अभिव्यक्तिमा अस्पष्टता र विरोधाभास जस्तो पनि अनुभव हुन्छ । कविले के भन्न खोजेका हुन् भनेर ठम्याउन गाह्रो पर्छ । अध्ययन र साधनाको बलले यस्ता कमजोरीहरू हटाउँदै जान सकिन्छ । सङ्गीत आउँदा दिनहरूमा यसप्रति अवश्य सचेत हुने छन् । पुस्तकको साजसज्जा, कागज राम्रो छ र मूल्यलाई महङ्गो भन्न मिल्दैन । कविताक्रममा भने कमजोरी देखिएको छ जसलाई आगामी संस्करणमा सच्याउन आवश्यक छ ।

प्रकाशित मितिः २०७० जेठ १९ गते आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *