रोल्पा अचेल

  
  प्रकाशित मितिः आइतवार, जेष्ठ १९, २०७०       | 120 Views   ||

Bishnu_punवि.सं. २०४९ जेठ १ गते रोल्पाको जेलवाङ–९, खिवाङमा जन्मिएका विष्णु सन्यास नेपाली साहित्यको कविता र निबन्ध विधामा भर्खरै पाइला चाल्दै गरेका क्रियाशील नवप्रतिभा हुन् । डण्डीफोरे उमेरमै दुइवटा कृति प्रकाशन गरिसकेका सन्यासका विभिन्न कविता तथा निबन्ध स्थानीय पत्रपत्रिकामा नियमितजसो छापिइरहेका छन् । उनका यात्रामा फेरि
(कवितासङ्ग्रह–२०६८) र सपना र संकल्प (संयुक्त गजलसङ्ग्रह–२०६८) प्रकाशित भइसकेका छन् । साहित्यिक लेखनका साथै विभिन्न साहित्यिक संघ संस्थामा क्रियाशील सन्यासको कविता यसपालिको अंकमा–

दुख्दै गरेको
असङ्ख्य पीडाहरुको
घाइते सम्झनामा
अलिकति बहको आँसु पोखेर
छालभित्र हराएका ढुङ्गाहरु खोज्दै
फेरि टाढाको शान्त किनार बस्तीमा पुग्न
कुनै संग्रामबिना सागर तर्ने
नवीन आकाङ्क्षामा छ
रोल्पा अचेल ।

सभ्यताको नाउँमा
पाइतलामुनि कुल्चिएका
विवश फूलहरु
स्वतन्त्रताको रहर बोकेर
फेरि बस्ती सजाउनेछन्
साँझ पर्खेर गोधूँलीमा
नयाँ आवाज भर्नेछन्
झ्याउँकीरीहरु
नौलो समयको यही विशिष्ट परिवेश जन्माएर
उड्नेछन् जिन्दगीका उन्मुक्त तालचरीहरु
रोल्पाको उच्चगिरि शिरबाट ।

सन्त्रास र
सम्वेदनाका यत्रतत्र यादहरु
मनको डायरीमा
अप्रकाशित बिशेषाङ्क धारण गरेर
अशान्त मध्यरातमा भुक्ने छैनन्
बारबार अब कुनै भुस्याहा कुकुरहरु
शान्त गाउँहरुमा ।

उजाडिएका डाँडाकाँडाहरुमा
बसन्त पोख्दै
रित्तो–रित्तो आकाशमा
सपनाका उत्कृष्ट रंगहरु भर्दै
युगको अन्त्यपछि फेरि
एउटा अर्काे नवयुगको प्रारम्भमा
हृदयभरि
जिन्दगीका गुराँसहरु फुलाउने
उद्यम अभिष्ट मोडमा छ
रोल्पा अचेल ।
–घोराही, दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *