प्रमोदका तीन कविता

  
  प्रकाशित मितिः आइतवार, जेष्ठ २६, २०७०       | 153 Views   ||

Pramod_Dhital_writterवि.सं. २०३६ कार्तिक १० गते सल्यानको डाँडागाउँ–६, माल्नेटामा जन्मिएका प्रमोद धिताल समकालीन नेपाली कविता, निबन्ध र समीक्षा क्षेत्रमा सक्रिय प्रतिभा हुन् ।
डेढ दशकदेखि नै नेपाली साहित्यमा निरन्तर लागिरहेका उनका विभिन्न पत्रपत्रिकाहरुमा फुटकर रचनाहरु प्रकाशित छन् । वेदना, जनज्वार लगायतका साहित्यिक पत्रिकाहरुको सम्पादन तथा एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासंघ, अखिल नेपाल लेखक संघ, घनश्याम ढकाल स्मृति प्रतिष्ठान र प्रगतिशील लेखक संघलगायतका साहित्यिक सङ्घ संस्थाहरुमा आबद्ध धितालका तीन कविताहरु यस अंकमा–

खडेरी

यति बहुरंगी
कहिल्यै देखिएको थिएन शहर
त्यसैले त
यति होडबाजी कहिल्यै भएन सम्पन्नताको
गाह्रो छ विश्वास गर्न
यतिसम्म गरिब पनि कहिल्यै देखिएन मानिस ।

लगाएर सम्पन्नताको बाक्लो पोशाक
यति नाङ्गो कहिल्यै देखिएको थिएन मानिस ।

कहिल्यै चलेन यति ठूलो क्रान्तिको आँधी
फेरि यति सस्तो पनि कहिल्यै महशुस भएन नैतिकता
कहिल्यै भएन यति विघ्न प्रेमको कारोबार
कहिल्यै भएन यति व्यस्त राजनीतिको व्यापार
यही समय हो
हो साथी यही घडी हो
यस्तो खडेरी पनि कहिल्यै देखिएन यहाँ
जतिखेर बञ्जर छ आस्थाको जंगल
सुक्खा छन् विश्वासका खेतहरु ।

२०६८ मंसिर २२

परिणाम

भोक खाएर अघाएको रामे
शोक चपाएर सुतेकी चमेली
कसरी निदाउँछौ
शोकको तन्ना ओढेर ?
कहिलेसम्म फलाउँछौ निराशाका बाली
जीवनको बाँझो खेत गोडेर ?

खुशीको थैला बोकेर आउँछ भनेको बिहान
फोहरका घैला बोकेर आयो
नयाँ जीवनको गीत गाउने प्रतिज्ञा गर्दै
पुरानै रीतहरुको गीत गायो
जीवनको लालुपाते फुल्छ भनेका थियौ
फेरी उही बनमारा झार छायो ।

२०६८ माघ

फैसला

बरामद गर्नु छ खोसिएको उज्यालो
अन्धकार गुफाबाट
जोगाउनु छ सपनाहरुलाई
मूर्दाहरुको जुलुसबाट
आदतमा ढाल्नु छ मुक्तिको हठलाई
बुद्धिविलासको कैदबाट
बेनकाव गर्नु छ मुखौटाहरुलाई
मानिसको भेषबाट ।

विजयलाई सुनिश्चित गर्ने
पराजयहरुसँग हातेमालो गर्न सिक्नु छ
फेरि आफ्नै विरुद्ध युद्धको घोषणा गर्ने
साहस जुटाउनु छ ।

प्रकाशित मितिः २०७० जेठ २६

Leave a Reply

Your email address will not be published. Required fields are marked *