प्रमोद भन्छन्– ‘आधार शिविरमै छु’

  
  प्रकाशित मितिः शुक्रबार, असार ७, २०७०       | 114 Views   ||

Pramod_dhitalतपाईं त किताबको किरो नै हो नि ।
–जतिसुकै पठित र धनी भए पनि किताब पढ्ने भने पछि दश कोष टाढा भाग्ने र त्यसलाई निरर्थक खेती ठान्ने हाम्रोजस्तो समाजमा म जत्तिको पढ्ने मानिसलाई पनि किताबको किरो ठान्नुलाई म अन्यथा लिन्न ।
यही लतले मलाई जीवन जिउन सहज पनि बनाएको छ । तर पढ्ने मान्छेहरुमध्ये धेरै कम पढ्नेमा पर्छु म ।

पछिल्लोपटक कुन पुस्तक पढ्नुभयो ?
–सङ्गीतश्रोताको ‘म काठमाडौं आइपुगें कवितासङ्ग्रह, हरिवंश आचार्यको ‘चिना हराएको मानिस’ र नवीन जिरेलको ‘भीषण दिनहरु’ पढेर सिध्याइयो ।

ती पुस्तकहरुमा खास के कुराहरु छन् नि  ?
–पहिलो, सङ्गीतश्रोताको कवितासङ्ग्रहमा वर्तमान नेपाली समाजमा उठिरहेका ज्वलन्त मुद्दाहरुलाई कविताको भाषामा सशक्तरुपमा उठाइएको छ ।
दोस्रोमा कलाकार हरिवंश आचार्यको बालककालदेखि जीवनका पछिल्ला घटनाक्रमहरुलाई आत्मकथाको रुपमा चित्रण गरिएको छ भने ‘भीषण दिनहरु’मा लेखक नवीन जिरेलले जनयुद्धको प्रारम्भदेखि समापनसम्म आफ्नो सहभागितालाई संस्मरणको रुपमा जीवन्त ढंगले चित्रण गरेका छन् ।

कस्ता पुस्तक पढ्न मन पराउनुहुन्छ ?
–आख्यान, कविता र समाजशास्त्रीय विषयमा लेखिएका पुस्तकहरु विशेष मन पर्छ । साथै दर्शनमा आधारित गम्भीर विषयहरु पनि मलाई त्यत्तिकै मन पर्छन् ।

पुस्तक किन्न सरदर मासिक खर्च ?
त्यसको कुनै हिसाब हुँदैन । मन प¥यो भने एकैचोटी धेरै किताबहरु पनि खरिद गरिन्छ ।

अहिलेसम्म पढेका पुस्तकहरुमध्ये धेरै मन परेको कुनै एक पुस्तक ?
मन परेका पुस्तकहरु धेरै छन् । त्यसमा पनि एउटाको नाम लिनुपर्दा म्याक्सिम गोर्कीको आमा हो । त्यसमा उद्देश्यप्रति समर्पित मानिसहरु त्यसमा पनि एउटी आमाको समर्पण र क्रियाशीलता मलाई धेरै प्रभावित पार्ने विषय हो ।

साहित्य लेखनमा तपाईलाई के ले ऊर्जा दिन्छ ?
साहित्य लेखनमा ऊर्जा दिने कारक पक्ष भनेका जीवन र जगतमा घट्ने विभिन्न घटनाहरु अनि तिनले पैदा गर्ने संवेदना हुन् ।

अहिलेसम्म कति जति लेख्नुभयो होला साहित्यिक रचनाहरु ?
गन्ती गरेको छैन । लेखिएका सबै चित्त बुझ्ने कुरा पनि भएन । कैयन् गर्भमै तुहिन्छन्, कैयन् रचनाहरु फक्रिनै नपाई ओइलाउँछन्, थोरैले मात्र आकार ग्रहण गर्छन् ।

तर, तपाईंमा साहित्यिक सुत्केरी हुने छाँटकाँटै नभा’को हो कि आँट नआ’को ?
–साँच्चिकै भन्नुहुन्छ भने म अहिले पनि साहित्यको आधार शिविरमै छु, किनकि लेखन भनेको अनन्त उँचाईतर्फको जटिल यात्रा हो  ।
यदि अहिलेभन्दा बेसी साधना र मेहनत गर्दै गएँ भने अर्को शिविरमा प्रवेश गर्छु, नसके हराउने खतरा पनि रहन्छ । त्यसैले पनि मलाई के लाग्छ भने पुस्तक प्रकाशन नै लेखकहरुको पहिलो सर्त होइन । फेरि पनि म के विश्वास दिलाउन चाहन्छु भने यही वर्षभित्र पुस्तकाकार कृति आउने सम्भावना बढी छ ।

आफूले लेखेका रचनाहरुमध्ये आफूलाई सबैभन्दा राम्रो लागेको कुनै रचना ?
आफूले लेखेका धेरैजसो रचनाहरुमा अहिले पनि चित्त बुझाउन नसकिरहेको अवस्था हो । चित्त बुझाउन सकेकाहरुमा पनि यो उत्कृष्ट भन्ने छैन ।

कतिपयले भन्छन्, प्रमोदको बानी ‘जता पनि हात हाल्यो, सबैतिर चिल्लै’ भन्याजस्तै हो रे । किन हो त्यस्तो बानी प¥या ?
–वास्तवमा जीवन भनेको क्रियाशीलता र गतिको अर्को नाम हो । हात हालेका सबै क्षेत्रहरुबाट सोचेजस्तो नै हुन्छ भन्ने केही छैन । फेरि जति लगानी ग¥यो त्यति पाउने हो । पैसा आर्जन गर्ने ध्येयले लगानी गरिने व्यापारजस्तो पनि होइन मेरो क्षेत्र । त्यही भएर मैले केही गुमाए भन्ने कुरा पनि भएन ।

चियापसलमा सुनेको तपाईं त राउटेभन्दा नि घुमन्ते रे, खोज्या बेला नि भेट्न नसकिने, फोन नि के–के डाइभर्ट पो गरेर बस्नुहुन्छ रे । के साहित्यकार हुनलाई त्यस्तै गर्नुपर्छ ?
चिया पसलमा हुने हावादारी गफका पछि लागेर कहीं पुगिदैन । मोबाइल, इन्टरनेटजस्ता प्रविधिहरु सधैं मेरै काबुमा भइराख्नुपर्छ भन्ने के छ र । म घुम्छु, सत्य हो तर साहित्यकार हुनको लागि होइन, आफ्नै आवश्यकताको कारणले घुम्ने गर्छु ।

प्रस्तुति : विवश

Leave a Reply

Your email address will not be published. Required fields are marked *