कवि गिरिराज शर्माले छिट्टै ल्याउने रे !

  
  प्रकाशित मितिः आइतवार, साउन ६, २०७०       | 109 Views   ||

GiriRaj_sharmaपछिल्लोपटक कुन पुस्तक पढ्नुभयो ?
–झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ भन्ने पुस्तक पढें ।

‘जीवन काँडा कि फूल’मा खास के रहेछ ?
–निरन्तरको प्रयास र साधनाले असम्भव केही रहेनछ भन्ने लाग्छ । त्यत्रो पारिवारिक ताडनाका बाबजूद पनि उनको (झमक घिमिरे) उत्साह प्रेरणादायी र स्तुत्य छ ।
खासमा त्यस पुस्तकमा आफ्ना जीवनका भोगाइहरु छन् । एकपटक पढ्नैपर्ने पुस्तक रहेछ ‘जीवन काँडा कि फूल’ ।

कस्ता पुस्तक बढी पढ्न मन पराउनुहुन्छ ?
–माक्र्सवादी दर्शन, साहित्य र इतिहास मेरा रुचिका विषयहरु हुन् ।

पुस्तक किन्न सरदर मासिक खर्च कति गर्नुहुन्छ नि ?
–त्यस्तो लेखाजोखा केही छैन । यसो पुस्तक छान्दै जाँदा मन परेको पुस्तक किनिहाल्छु ।

अहिलेसम्म पढेका पुस्तकहरुमध्ये धेरै मन परेको कुनै एक पुस्तकको नाम लिनुपर्दा ?
–म्याक्सिम गोर्कीको अमर कृति ‘आमा’ ।

साहित्यको कुन विधामा बढी कलम चलाउनुहुन्छ ?
–केही कृतिका समीक्षा र मेरो रोजाइको विधा कविता नै लेख्ने गर्छु ।

लेखनमा तपाईलाई के ले ऊर्जा दिन्छ ?
–सामाजिक परिवेश, प्रकृति र राजनीतिक घटनाक्रमले मनमा छोयो भने लेख्न परिहाल्छ । समयको कुनै पाबन्दी छैन ।

आफूलाई सबैभन्दा राम्रो लागेको आफ्नो कुनै रचना ?
–आफूले सिर्जना गरेका रचना सबै मन पर्छन् । खास गरेर ‘बूढा भएछन् कलमहरु’ मन पर्ने कविता हो । आफ्ना सन्तानहरु सबै प्रिय र राम्रा लाग्छन् ।

तपाई आफूलाई कुन धारको साहित्यकार भन्न रुचाउनुहुन्छ ?
–खासमा म प्रगतिवादी विचार मन पराउने मान्छे हुँ । त्यसैले यो धारको ऊ धारको भन्दा पनि प्रगतिशील साहित्यकारको रुपमा स्थापित हुन चाहन्छु । मेरा रचनाहरु त्यतैतिर उन्मुख भएको पाउँछु ।

तर, कतिपयले तपाईंलाई पूजापाठ, धर्मकर्ममा खुबै चासो राख्नुहुन्छ रे भन्छन् नि ।
–सामाजिक संस्कार, पारिवारिक वातावरणले गर्दा यदाकदा भित्र विश्वास नहुँदा नहुँदै पनि बाध्यतामा सरिक हुनुपर्दछ । पेशेवर पूजारी होइन म ।

अब गिरीराज शर्माको नयाँ कृति पाठकले कहिले पढ्न पाउने ?
–धन्यवाद, मनको कुरा उठाइदिनुभयो । तपाईंहरुजस्ता शुभेच्छुकहरुबाट प्रेरणा पाएकाले ‘मेरो गाउँ र मेरा भोगाइहरु’ नामक खण्डकाव्य प्रकाशोन्मुख छ । छिट्टै बजारमा आउँदैछ ।

बुढाहरु क्यै गर्न नसकेर मनको तीतो पोख्नलाई लेख्छन्, यिनीहरुबाट गतिला कृतिको अपेक्षा नगरे हुन्छ भन्ने आरोप पनि लगाउँछन् त कतिपयले ।
–वृद्धहरुलाई स्याहार सम्भार गर्ने बेला, थप प्रेरणा र हौसला दिने बेला, मूल्याङ्कन गरेर हो वा ठाडो बोलीले यसो भनिएको हो, मैले त्यति बुझ्न सकिनँ ।
तन्नेरी हुँदा सिर्जना राम्रो हुने, उमेर गएपछि नहुने हो भने मेरो भन्नु क्यै छैन । ‘कुण्ड–कुण्ड पानी, मुण्ड–मुण्ड बुद्धि’ भनेझैं लाग्यो यो प्रश्न । तर पनि सुन्दर सिर्जनाको लागि मेरो प्रयास निरन्तर जारी रहनेछ ।

धन्यवाद ।
प्रस्तुति ः विवश

Leave a Reply

Your email address will not be published. Required fields are marked *