कवि श्यामल भन्छन्, ‘लुकेर बलात्कार गर्दिनँ, खुलेरै प्रेम गर्छु’

  
  प्रकाशित मितिः आइतवार, साउन ६, २०७०       | 356 Views   ||

Shyamal_श्यामल
कवि

पछिल्लोपटक कुन पुस्तक पढ्नुभयो ?
–विख्यात अमेरिकी भाषाशास्त्री र संस्थापनविरोधी जनमतका निर्माणकर्ता नोम चोम्स्कीको इन्टरभेन्सन्स नामक पत्रिकामा प्रकाशित ५० वटा लेखहरूको संगालो ।

इन्टरभेन्सन्समा खास के रहेछ ?
–इण्टरभेन्सन्समा भिन्नै कोणबाट २००१ को सेप्टेम्बर ११ मा जुम्ल्याहा टावरहरुमाथिको हमलापछि अमेरिकी सरकारले लिएका नीतिहरुदेखि, अझ तेस्रो विश्वका मुक्ति पक्षधरको कोणबाट, उसका अरब नीति र विश्व नीतिको प्रखर आलोचना र नीतिगत कमजोरीहरूमाथि प्रहार गरिएको छ ।

कस्ता पुस्तक मन पराउनुहुन्छ ?
–आख्यान गैरआख्यान दुबै ।

पुस्तक किन्न सरदर मासिक खर्च ?
–टुंगो हुन्न । कहिले महिनामा एक दुइटा मात्र खास–खास पुस्तक किन्छु, कहिले मौका पर्दा दश÷पन्ध्रवटा पनि किनिएको हुन्छ । पहिलेजस्तो छैन, अचेल मासिक तीन÷चार हजार रुपियाँ बराबर मात्र खर्च भएको अनुमान गर्छु ।

अहिलेसम्म पढेका पुस्तकहरुमध्ये धेरै मन परेको कुनै एक पुस्तक ?
–धेरै छन् । तिनले मेरो दृष्टिकोणलाई गहिरो र फराकिलो तुल्याइदिने हुनाले मन परेका हुन्छन् । कुनैले इतिहासलाई उघारेका हुन्छन् त कुनैले समाज र त्यसमा गतिशील पात्रहरुको अन्तर्यलाई मेरो चेतनाको भित्री तहसम्म पु¥याएका हुन्छन् ।

लेखनमा तपाईंलाई केले ऊर्जा दिन्छ ?
–वास्तवमा मेरो लेखनलाई म वरिपरिको मानव जीवनले सर्वाधिक ऊर्जा दिन्छ । मानिस र उसका कामनाहरू तथा ती पूरा गर्न उसले गरेका संघर्षहरूले नै लेखनलाई सार्थक तुल्याउने हुन् ।

अहिलेसम्म कतिवटा कृति प्रकाशित गर्नुभयो ?
–कविता संग्रहहरु तपाईंहरु मार्फत् (साहित्यघर– २०४४), लयब्रह्म (कालचक्र नेपाल–२०६०), हतारमा यात्रा (सांग्रिला बुक्स– २०६८), क्यासेट कविले रोजेका कविता
(दृश्य–२०६४) र निबन्ध संग्रह रित्तो गाउँ (फिनिक्स बुक्स– २०७०) प्रकाशित छन् ।

आफूलाई सबैभन्दा राम्रो लागेको आफ्नै कुनै एक रचना ?
–धेरै होलान् । हतारमा यात्रा, संकटकालमा सहवास लगायत सबैजसो कविता ।

तपाईंको भर्खरै प्रकाशित ‘रित्तो गाउँ’ पाठकले किन पढ्ने ?
–किनभने यसमा समकालीन समाजका संघर्ष र पीडा, विसंगति र संगति, अग्रज र समकालीन रचनाकारहरुप्रतिका मेरा दृष्टिकोण अनि मेरा यात्राका अनुभव छन् ।

ज्ञानको एउटै मात्र स्रोत हुन्न, अरुलाई झैं मेरा ज्ञान मेरो लागि विशिष्ट आर्जन हो र मेरो आर्जन म अरुसँग बाँड्न चाहन्छु । यिनमा मेरो निबन्धको शैली पनि देखिनेछ । यो कसैले सुझाएको निबन्धको फम्र्याटमा छैन । मेरा आफ्नै फम्र्याटहरू बन्दै गएका छन् भन्ने मलाई लागेको छ । म वैचारिक रुढीबाट मुक्त लेखनको पक्षमा हुन्छु । ती हेर्न पनि यस पुस्तकको पठन आवश्यक होला ।

रित्तो गाउँपछि के को तयारी गर्दै हुनुहुन्छ ?
–उपन्यासको तयारीमा छु ।

काठमाडौंबासी भएपछि श्यामलले पश्चिमलाई भुल्यो भन्नेहरुको पनि ठूलै जमात भइसकेछ नि ! केही जानकारी छ तपाईंलाई ?
–को कहाँ बस्छ, त्यो महत्वपूर्ण कुरा होइन, कहाँ बसेर को के गर्दैछ त्यसले महत्व राख्तछ भन्ने मेरो विश्वास छ । मेरो नितान्त निजी घर यतै (काठमाण्डौं) छ र काम यतै हुन्छ । कोही मलाई पुग्दो र मेरो क्षमता अनुसारको काम दिन तयार छ भने म पश्चिम आउनेछु । मलाई अति प्रिय ठाउँ हो त्यो ।

जसले श्यामललाई त्यसो भनिरहेका छन्, ती या त भावुकतावश भनिरहेका छन् या त मानिसका अवसर र सम्भावनाको खोज गर्ने स्वाभाविक प्रवृत्तिलाई गलत किसिमले बुझिरहेका छन् । म काठमाडौंमा हुँदा तिनीहरु पनि यतै आउने छन् र सके ती मुलुकबाहिर पुगेका हुनेछन् ।

दृष्टान्तको सुविधाका लागि हामी सबैले नाम लिने युगान्तकारी व्यक्तिहरु लिऊँ ः माक्र्स र ब्रेख्त जर्मन थिए, तर अधिकांश समय उनीहरु बेलायत र अमेरिका बस्नु परेको थियो । बोल्सेविक क्रान्तिका सूत्रधार लेनिन रुसी थिए तर अप्ठ्यारो समयमा उनी स्वीट्जरल्याण्डमा निर्वासित रहे । म त मेरो मुलुकको राजधानीमा छु, जहाँ मुलुकभरिका र मुलुकबाहिरका गरी करीब ४० लाख मानिस बस्छन् ।

यहीँ (काठमाण्डौं) पहिले कास्कीका र पछि शिवनगर चितवनका पुष्पकमल र पहिले प्युठान र पछि दाङका मोहन वैद्य बस्छन्, रौतहटका माधव नेपाल र इलामका जेएनको बसाई पनि यतै छ । गोरखाका बाबुराम र दाङका युवराज पनि यतै बस्छन् । बाँकेका सुशील कोइराला र नुवाकोटका पोष्टबहादुर बोगटीको बसोबास पनि यतै छ क्यार ।

के उनीहरुले आफ्ना गाउँघर र जन्मथलो बिर्सिसके ? कि उनीहरु कथित विशिष्ट मनुष्य भएकाले उनीहरुका लागि मजस्तो श्रमजीवी लेखकलाई लागू हुने नियम आकर्षित हुन्न ?

चियापसलमा सुनेको, तपाईंले त बामपन्थी हुँ पनि भन्ने तर सबैभन्दा धेरै गाली पनि बामपन्थीहरुलाई नै गर्ने गर्नुहुन्छ रे ।
–बामपन्थीका नाममा कुनै नेताविशेषको भजन गाउने र शक्तिपीठ धाउनेहरुले त्यसो भने भन्दैमा म मेरो आलोचनात्मक विचार त्याग्न सक्तिनँ । तर, यसो भनिरहँदा म गैरवामपन्थीको पक्षमा पनि लागेको हुन्न । वामपन्थी भन्नेबित्तिकै कोही आलोचनाभन्दा माथि हुन्छ ?

पञ्चायतकालमा राजपरिवारले आफुलाई आलोचनाभन्दा माथि राख्ने थुप्रै कसरत गरेको थियो । तर अन्ततः ऊ सम्भवतः सबैभन्दा बढी त्यही कारणले स्वयं समाप्त भयो । कम्तीमा पनि गद्दार, देशघाती, क्रान्तिलाई धोका दिने, संशोधनवादी, जडसूत्रवादी आदिजस्ता शब्दका आविष्कारकहरूमध्ये म पर्दिनँ भन्ने कुरा मलाई राम्रोसँग थाहा छ ।

वामपन्थीका नाममा गैरसैद्धान्तिक बहसमा उत्रेर निजी कुण्ठालाई सैद्धान्तिक जामा पहि¥याउने भष्मासुरहरुले नै वामपन्थलाई बदनाम गरेका अनेकौं दृष्टान्तहरु छन् । मजस्तो सामान्य लेखकले न कसैका स्तुति गाउनु छ, न कसैको अस्वस्थ आलोचनामा समय खर्चेर सिर्जनात्मक क्षमता गुमाउनु छ ।

एक/दुई बोतल मसी (मदिरा) नभर्दासम्म श्यामलको कलम नै सर्दैन भन्छन् नि कतिपयले ?
–तिनले बुझेरै भनेका हुन्, किनभने तिनले आफ्ना स्वामीहरुको अनुमतिले राती–राती सिरकभित्र लुकेर खान्छन् र अरुलाई आफैजस्तो ठान्छन् ।

म स्वतन्त्र प्राणी हुँ, खान मन लागेको कुरा, मेरो सहज पहुँचमा छ भने कसैलाई सोध्दिनँ । खुलेर सबैका अगाडि छाती फुकाएर खान्छु । लुकेर बलात्कार गर्दिनँ, खुलेरै प्रेम गर्छु । अर्कालाई उपदेश दिदै आफूले भने दुराचार गर्ने आम बामप्रवृत्तिका विरुद्ध जीवनको अन्त्यसम्म पनि लागिरहने छु म ।

प्रस्तुति : विवश

Leave a Reply

Your email address will not be published. Required fields are marked *