एउटा कथा सङ्ग्रहको तयारी गर्दैछु

  
  प्रकाशित मितिः आइतवार, साउन ६, २०७०       | 138 Views   ||

Purusottamपुरुषोत्तम खनाल
साहित्यकार

पछिल्लोपटक कुन पुस्तक पढ्नुभयो ?
–पछिल्लोपटक वीपी कोइरालाको उपन्यास ‘सुम्निमा’ पढें ।

‘सुम्निमा’मा खास के रहेछ ?
–सुम्निमा एउटा निकै सशक्त मनोवैज्ञानिक दर्शन बोकेको उपन्यास हो ।
यस कृतिमा विशेष गरी हिन्दू संस्कृति र किराँती संस्कृतिको साझा अस्तित्व र समन्वयबाट नै नेपाली समाजको समृद्धि एवम् एकता सम्भव छ भन्ने देखाइएको छ ।

किनभने यस उपन्यासमा हिन्दू समुदायको नायक र किराँती समुदायकी नायिकाबीचको प्रेम र विवाहलाई अत्यन्त कलात्मक र मनोवैज्ञानिक तरिकाले प्रस्तुत गरिएको छ । साथै उनीहरुको मनोवैज्ञानिक यौन सम्बन्धमाथि पनि प्रकाश पारिएको छ ।

कस्ता खालका पुस्तकहरु पढ्न बढी मन पराउनुहुन्छ ?
–यस्तै भन्ने ठ्याक्कै छैन । म अधिकांश साहित्यिक पुस्तकहरु नै पढ्ने गर्छु ।
त्यसमा कविता, निबन्ध, कथा, उपन्यास र समालोचनाका कृतिहरु अलि बढी पढ्न मन पराउँछु ।

धेरै मन परेको कुनै एउटा पुस्तक ?
–सबै कृतिका आ–आफ्नै विशेषता हुँदाहुँदै पनि मलाई भूपि शेरचनको ‘घुम्ने मेचमाथिको अन्धो मान्छे’ कविता सङ्ग्रह साह्रै मन पर्छ ।

पुस्तक खरिदमा कत्तिको खर्च गर्नुहुन्छ ?
–पुस्तक त्यति धेरै किन्दिनँ आजभोलि । वार्षिकरुपमा त्यस्तै तीन÷चार हजारजतिका किनिन्छ ।

आजभोलि के लेख्दै हुनुहुन्छ नि ?
–एउटा कथा सङ्ग्रहको तयारी गर्दैछु, पूरा गर्न सकेको छैन । समय मिलेमा कथा कोर्ने काम गरिरा’छु ।

लेखनका लागि तपाईंलाई कस्तो वातावरण चाहिन्छ ?
–लेख रचना लेख्न मलाई शान्त, एकान्त वातावरण चाहिन्छ । होहल्ला र भीडभाडमा म लेख्न सक्दिनँ ।

आफूलाई मन परेको आफ्नो कुनै एक रचना ?
–आफ्ना सन्तानहरु जति भए पनि बाआमालाई सबैको उत्तिकै माया लाग्छ नै । त्यसैले म आफ्ना रचनाहरु सबैलाई उत्तिकै मन पराउँछु ।
त्यसमा पनि विशेष गरी मेरो कविता सङ्ग्रह ‘स्मृतिका तरङ्गहरु’मा रहेको ‘मेरो देश नबेच्नुहोस’ शीर्षकको कविता झनै राम्रो लाग्छ ।

पुरुषोत्तमले पाठकहरुलाई नयाँ कृति नदिएर निरास पा¥यो भन्छन् नि बजारमा !
–एकदम सही हो । मैले आफ्ना रचना छितारेको छैन । अलि अल्छी पनि छु ।

तपाईं साहित्यकार कि साहित्यकारको नेता ?
–म साहित्यकारहरुको सम्मान, सेवा र सहयोग गर्ने मान्छे हुँ । यत्ति भनौं ।

आफूले नेतृत्व गरेको संघ संस्थामा मरिमेटेर लाग्नुहुन्छ रे, मान्छेहरु भन्छन् पुरुषोत्तमले चलाएको संस्था फस्टाउँछ रे !
–मेरो कार्यको मूल्याङ्कन गर्ने जिम्मा आम नागरिकको हो । पाठकको हो, दर्शकहरुको हो । मैले धेरै गरें भन्ने केही छैन ।

तर, कतिपयले भने तपाईंलाई संघ संस्थालाई केही दान ग¥यो, त्यसको आजीवन हर्ताकर्ता बन्यो, पुरुषोत्तम आइडिया भा’को मान्छे हो पनि भन्दा रै’छन्, खास कुरो के हो ?
–मैले पद पाउनको लागि केही गरेको छैन । पद पाइसकेपछि मात्र आफू आबद्ध संघ संस्थामा केही सहयोग गरेको छु ।
हैकम चलाउने मेरो आदत पनि छैन, स्वभाव पनि छैन, आकांक्षा पनि पालेको छैन । कुरा काट्नेहरुका पछि लागेर साध्य हुँदैन ।

अन्त्यमा, साहित्यमा लागेर के पाउनुभो, के गुमाउनु भो ?
– म कुनै चीज पाउन र गुमाउनको लागि साहित्यमा लागेको होइन । सामाजिक जिम्मेवारी र आत्मसन्तुष्टिका लागि म साहित्यमा रमाएको छु ।

प्रस्तुति : विवश

Leave a Reply

Your email address will not be published. Required fields are marked *