हिउँमा खेलेर बितेको त्यो बाल्यकाल

  
  प्रकाशित मितिः आइतवार, साउन ६, २०७०       | 133 Views   ||

Mahendra mahak 1-महेन्द्र महक

एउटा आख्यानको शुरुआत !
के यस्तो हुन सक्दैन कि जहाँ म आप्mनो बालापन सम्झूँ ? के यस्तो हुन सक्दैन कि म ती लोभलाग्दा उत्सवपूर्ण दिनहरुलाई याद गरेर रमाऊँ ?
समय छ मसँग ! तपाइँसँग नि ?
खैर, यसमा एउटा उपन्यास बन्न सक्थ्यो ।
समयको अभाव । ल्याकतको कमी । पाठकीय डर ।
असफलता नै असफलताले भरिएको दुर्दान्त वर्तमान । दायित्वको पहाड । अनि पो माया लागेर आउँदो रहेछ त्यो लोभलाग्दो उल्लास र उत्साहपूर्ण उमेरको– जुन उमेर कहिल्यै फर्केर आउने छैन ।

हिउँमा छाप बनाउँदै दौडिन्थ्यौं हामी– भिरालो भूँइमा हिउँमा चिप्लिएर बित्थे हाम्रा हिउँदे बिदाका दिनहरु ।
घाम लागेपछि हिउँ पग्लिदै जाँदा हराउँथे ती छापहरु या बादलपछि हिमपातमुनि पुरिदै जान्छे ।

लाग्छ– आज पनि उसैगरि कि त हराउँदै गएको छु या पुरिदै गएको छु । र, पनि स्मृतिबाट हराएनन् ती सुमधुर सम्झनाका सुस्केराहरु ।
हिमपात पछि बन्द हुन्थे बाटाहरु । पानीका धारा जम्थे अनि हामीहरु कोठाभित्र सिरकभित्र घुस्रिएर कि त टिभी हेथ्र्यौं या निदाउँथ्यौं । हिउँ पगालेको पानीले खाना पकाउनुहुन्थ्यो आमा अनि हिउँकै पानी उमालेर नुहाउँथ्यौं हामी ।

हिउँको चिप्लेटी खेल्दा झण्डै बितेको थिएँ म सात कक्षामा पढ्दा । १३ वर्षको उमेरमा १३ किसिमका अन्नेरी ।
हिउँको बार नाघेर भीरबाट खसेको थिएँ म । बाक्लो हिउँ थियो, त्यसैले दुखेन तर अर्को पटक पल्टेको भए मेरा बाआमाले मेरो लास पनि नभेटाउने ।

बस् एउटा कुरा थाहा थियो– हिउँको चिसो भगाउन आगो ताप्नू हुँदैन । सिरकमा लुकेको तीन चार घन्टापछि अलि–अलि न्यानो भएको थियो ।
हिउँका गोलाले हिर्काउँथ्यौं हामी एकअर्कालाई । आज समयले हिर्काउँदै छ बेस्सरी ।
हिउँ ठोस थियो । र, पनि कहिल्यै दुखेन हिउँको गोला । समय छुन सक्दिनँ– सुँघ्न सक्दिनँ– देखिदैन यो समय र पनि साह्रै दुख्छ ।
र यसरी नै दुखेको थियो एकपटक गुरूको पिटाइ पनि ।

कहिल्यै पिटेनन् मलाई गुरूहरुले । मेरो कापीमा रातो मसी बिरलै पोतियो । बरु स्याबासीका पुलिन्दाले भरिएका हुन्थे कापी । त्यसैले एकपटकको त्यो पिटाइ साह्रै दुखेको थियो ।
म चोर साबित भएँ ।
पैसा चोर्ने चोर ।
म ढाँट साबित भएँ ।
घरमा काम छ भनी बजार जाने ढाँट ।

सताण्डी मिडिल स्कूलको चार कक्षाको विद्यार्थी म । घुम्नुको रहर । सिनेमाको रहर । हंसराजको संगत ।
ऊ अराजक थियो । उमेरमा ठूलो थियो । उसैले बजार जाऊँ भन्यो । कोटखाइ बजार ।
स्कूलबाट ढाँटेर स्वीकृति पाएँ । घरमा आमाको अस्वीकृति ।
दिउँसो एक बजे म तीन रुपैयाँ चोरेर दौडिएँ हंसराजसँग बजार ।
आमाले भनिदिनुभएछ कृष्णलाललाई ।
कृष्णलाल मेरा गुरू ।
उनको कक्षा इमान्दार । म इमान्दार विद्यार्थी– जेहेन्दार उत्तिकै !
अर्को दिन उनले मेरो धुलाइ गरे । पिटाइभन्दा पनि बढ्दा पिटाइ अर्थात् धुलाइ ।
छाला उतार्नुसम्मको धुलाइ । ती दृष्टान्त फेरि कहिल्यै नदोह¥याइयोस् भनी गरिएको धुलाइ ।
मैले एक हप्तासम्म नुहाउन सकिनँ ।

चोर सिपाहीका साथीहरु ।
हामी भाग्थ्यौं या भगाउँथ्यौं ।
आज समयले लखेट्दै छ र म भाग्दै छु ।
मैले पार गरेको दूरी–
हिमाञ्चल–सल्यान–दाङ–काठमाडौं–आबुधाबी ।
यसपछि कहाँ ? थाहा छैन ।

यतिबेला बरु फर्किन्छु उतै । चञ्चल किशोरवयका ती पलहरुमा ।
हराउँछु बरु, स्याउको बगैचाभित्र । चुल्लू, पलम, खुर्मानीको हाँगामा ।
मेरा बाको पसिना बग्छ मैले लेख्ने मसीमा ।
म हिन्दी र संस्कृतको उत्कृष्ठ विद्यार्थी । हिन्दूस्तानी कहिलै भइँन । मेरो परिचय नेपाली ।
गोर्खा !
एउटा हेयले भरिएको शब्द ।
इतिहास बोकेको गरिमामय शब्द गाली पो बनेको रहेछ । अहिले पढ्दै छु म आप्mनै इतिहास ।
र, यो नेपालीलाई कसैले जितेन सताण्डी मिडिल स्कुलमा ।
त्यसैले हेय होइन इष्र्याको पात्र थिएँ म ।
‘ये हिन्दूस्तनी नहीँ है– फिर भी हिन्दी और संस्कृतमा इतना अच्छा है । तुम लोगो को क्या हुआ है ?’ अझैं गुञ्जिन्छन् शास्त्रीजीका यी शब्दहरु मेरो कानमा । आठ कक्षाको विद्यार्थी म र गुरूको चहिता ।

तीनपटक छात्रवृत्ति पाएको थिएँ । मेरो बाआमाले म दोस्रो भएको कहिल्यै सुन्नु परेन ।
कालो मसी निगालाको कलम र तख्ती ।
स्लेट र स्लेटी ।
यी सम्बन्ध हुन् ।

आधुनिक पेन वर्जित । निगालको कलमले तख्ती लेख्छन् साना नानीहरु । ‘गाजनी’ माटोले पोतिएको पहेंलो काठको पाटीमा पेन्सिलले लेखिएका मसिना अक्षर माथि निगालको मोटो कलमले मसी पोतेर अक्षर सिक्छन् ।
स्लेटमा सेता धर्का हाल्छन् । लेख्छन् र मेट्छन् । फेरि लेख्छन् । फेरि मेट्छन् ।
गल्ती हुने डर पनि थिएन, कपी भरिने डर पनि थिएन ।
कति सजिलै मेटिन्थे ती गल्तीहरु !

दिउँसो ‘मम्मी’ ले ठिक्क बनाइदिएको टिफिन खान्छन् कालो मसी पोतिएका कलिला हातहरुले ।
अझैं सुँघ्छु म त्यो मसी ! त्यो गाजनीको गन्ध !
विद्यार्थी जति यार्सागुम्बा टिप्न जाँदा डोल्पाका विद्यालय बन्द । हरेक वर्ष सुन्ने खबर हो यो ।
म पनि घुम्थें– साथीहरुसँग घुच्ची च्याऊ खोज्न ।
दुइ/तीन हजार रुपैयाँ किलो त्यसको मूल्य ।
अरुले १० भेटाउँदा म एक भेटाउँथें ।
सुकेको घाँसमा लुकेर रहेको पहेंलो भ्यागुते रंगको इञ्ची अग्लो ! सुकोमल । नाजुक ।
त्यही पनि म काँचै खाइदिन्थें ।
गुच्चीलाई पैसामा बदल्न सकिनँ मैले ।

यो विद्यालय बिदाको मनोरञ्जन थियो । विद्यालय दोस्रो कहिलै भएन ।
छ कोठाको दुइतले भवन । काठमा हरियो रंगको इनामेल पोतिएको फराकिलो बार्दली तीनतिर । त्यही बार्दलीमा बसेर हामी परीक्षा दिन्थ्यौं र पास हुन्थ्यौं ।
छ वटा कोठामा कक्षा आठसम्मका विद्यार्थी ।
एक, दुइ र तीन संयुक्त । चार र पाँच संयुक्त । एउटामा अफिस । छ, सात र आठका लागि छुट्टाछुट्टै कोठाहरु । अगाडि सय जना विद्यार्थीहरु असेम्बली गर्ने ठाउँ ।
यही स्कूलमा बितेका थिए मेरा छ वर्ष ।

सावधान ! विश्राम !
पीटीआइ गुरू बिहान–बिहान ठूलो आवाजमा हामीलाई असेम्बलीमा तह लगाउँथे ।
राष्ट्रगान– ‘जनगनमन अधिनायक जय हे ! भारत भाग्यविधाता !’ हामी गाउँथ्यौं राष्ट्रगान । अट्चालिसदेखि बाउन्न सेकेण्डभित्र ।
तनक्क तन्किएको शरीर, आँखाका परेलीसम्म नहल्लाएर सावधान मुद्रामा उभिएका हुन्थ्यौं हामी ।
देशप्रतिको सम्मान । राष्ट्रगान– राष्ट्रभक्ति ।
हामी खान्थ्यौं शपथ देशको नाममा । दाहिने हात सीधा उठाएर– मैं भारत और भारतवासी की सेवा करुँगा !
हामी गथ्र्यौं प्रार्थना– आओ बच्चो तुम्हें दिखाएँ झाकीँ हिन्दूस्तानकी । इस मिट्टी से तिलक करो ये धर्ती है बलिदान की । वन्देमातरम् । वन्देमातरम् ।
यी सबैको साथमा हुन्थ्यो संगीत । ब्याण्डबाजाको साथ ।
एउटा सिस्टमेटिक प्रक्रिया । कलिला मनमा देशप्रति सम्मान भर्ने प्रक्रिया । सानो दिमागमा राष्ट्रप्रति केही गर्ने उत्कण्ठ अभिलाषा जगाउने प्रक्रिया ।

हामी गोर्खाली ! नेपाली ! बहादुर !
‘सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली’ हाम्रा मोबाइलका रिङ्गटोन छन् । प्रार्थनामा या त पशुपतिको गान छ या त निजी विद्यालय खोल्ने व्यापारीहरुको जयगान ।
शपथ त कुनै नेपालीले खाँदैन पनि । नेपालमा शपथ खाने नेता र सार्वजनिक व्यक्तिले कहिले पो आप्mनो शपथ पूरा गरेको छ र ?
निगालको कलम । टाटको बसाइ । अनि पीटी अभ्यास । मार्चपास–परेड । खोखो र कबड्डी खेलहरु  ।

आज पनि बेग्लै लाग्छ मलाई । मैले बाँचेको विद्यालयको त्यो जीवन ।
संस्कृत र हिन्दीमा पेनले लेख्न वर्जित थियो । कक्षा एकदेखि आठसम्म नै निगालाको कलम ।
निःशुल्क । किफायती । अक्षर सुधारक निगालाको कलम ।
बस्नको लागि टाट । कालो रातो रङ्गको लामो दरी ।
किताब कापीले भरिएको ‘स्कूल बस्ता’ अगाडि राखेर  हामी आसन जमाएर बस्थ्यौं पढ्न । दिउँसभरि ।
गुरु कक्षामा नै हुन्थे । हरबखत । कक्षाको कुनामा उनको टेबुल कुर्सी । सबैमा नजर हुन्थ्यो उनको । कक्षा एकदेखि पाँचसम्मका लागि तीन जना गुरूहरु । हामीले थाहा पाएनौं ‘पिरियड’का हिसाब किताब पाँच कक्षासम्म पनि ।
र थाहा भएन हामीलाई आठ कक्षा पार गरुञ्जेलसम्म ट्युशन वा गाइड गेसपेपर । जे थिए, गुरू थिए ।

‘नक्कल’ गर्नु एउटा पाप थियो । ठूलो अपराध थियो । ठूलो सजाय भोग्न तयार हुनुपथ्र्यो । विद्यार्थीको संख्या प्रतिकक्षा जम्मा १२/१४ जना थियो । र, गुरूलाई एक–एक विद्यार्थीको ल्याकत थाहा हुन्थ्यो ।

गुरूहरु प्रयोग गर्दैनथे कालो पाटी र चक । बरु बोलाउँथें आफ्नो टेबुलनेर र हामीहरु झुम्मिन्थ्यौं टेबुलवरिपरि । कमिला मिठाइको गोलामा झुम्मिएझैं ।
उनी सिकाउँथे हामीलाई सरलतापूर्वक जटिल नियमहरु । तीन÷चार पटक बुझाउँदा पनि नजाने पनि पिट्न शुरु गर्थे । पिटाइ थिएन त्यो, चुटाइ र धुलाइ थियो त्यो । गुरूहरु प्रश्नका उत्तरहरु लेखिदिन्थे कुनै एकजनाको कापीमा, हामी त्यसलाई साथ्र्यौं र घोक्थ्यौं हुबहू ।
कुनै विषयमा कुनै अभिभावकले गुनासो गरेको कहिलै थाहा पाइनँ मैले ।
न विद्यालय व्यवस्थापन समिति न अभिभावक समिति ।
र पनि शिक्षकहरु नियमित । नियमित अध्यापन ।
त्यो गुणस्तरीय शिक्षा थियो ।

राज कमिक्स । तुलसी कमिक्स । डायमण्ड कमिक्स । पञ्जाब केसरीका चित्रकथा । अनि जासूसी उपन्यास । फिल्म । रेडियो विविध भारतीको ‘तराने नए पुराने’ । मेरा बाल्यकालका रहर र रुचि ।
दूध र तरकारी बोकेर बितेका ती वर्षहरु ! हामी गौपालक । हामी तरकारी उत्पादक ।
…………..
………………..

स्कूलको सानो लाइबे्रेरीको पाठक थिएँ म । हरेक शनिबारका दिन पुस्तक ल्याउनु र सोमबार स्कूलमा बुझाउनु मेरो रहर थियो । त्यो जग थियो पुस्तक पढ्ने संस्कारका लागि ।
अझैं पनि गुञ्जिन्छन् मेरो कानमा शुभद्रा मेडमले अन्तिममा बजाएको तालीको आवाज ।
‘स्याबास ! स्याबास !’
त्यस दिन मेरो पालो थिएन र पनि मैले तयारी गरेको थिएँ एउटा विषय : प्लास्टिक और प्रदूषण । धेरै मेहनतका साथ खोजेको थिएँ मैले ती सामग्री ।
प्राथमिक तहको कक्षा चार र पाँचबाट र मिडिलबाट एक÷एक जनाले रोलक्रमअनुसार दैनिक केही न केही सुनाउनुपथ्र्यो असेम्बलीमा । र, म यसमा रचनात्मक थिएँ ।

हामी गुरुलाई ‘गुरूजी’ भन्थ्यौं, ‘सर’ होइन । गुरु ‘गुरू’ नै थिए, गोरु बनेको थाहा पाइनँ । आप्mनो इज्जत, मानप्रतिष्ठा कुनै शिक्षकले ध्वस्त बनाएको मलाई याद छैन । त्यसैले होला, हामीहरु ‘गुरू’लाई खुट्टामा नै ढोक्थ्यौं । यो त्यहाँको संस्कार । आर्य संस्कार ।

अन्तमा सम्झन्छु गगनदीपको दोस्ती ।
गगनदीप गुरू कृष्णलालको छोरा । दिवालीमा बचेका पटकाहरु बोकेर स्कूल गएको दिन हामीले ‘फूलझडी’ खेलाएर फालेका थियौं । एक मिनेटपछि घाँसको ‘टोली’मा झण्डै आगो लागेकोे। दस फिट अग्लो देवल आकारको सुकेको घाँसको ‘टोली’ जलेर खरानी भइदिएको भए ! ठूलो समस्यामा पर्ने थियौं हामी दुई र त्योभन्दा ठूलो अप्ठ्यारोमा पर्ने थिए हाम्रा परिवारजनहरु ।

गगनदीप– सँगै बसालेर पढाएका थिए मलाई मेरो गुरुले आप्mनो क्वार्टरमा पनि । हामी साथ–साथ खेलेका थियौं गाउँका गल्लीहरुमा ।
सायद गुरुको अतिरिक्त माया पाउनुमा कारण थियो– उनी पनि त्यस ठाउँमा परदेशी थिएँ ।

त्यही गगनदीप दुर्घटनामा बितेछ । मेरो बालसखा बितेको कुरा गुरुले रुँदै मेरो बाआमालाई बताएछन् । एउटा पीडा अनुभूति गरेको थिएँ त्यो बेला मैले ।
कति मीठो गरी गाएका छन् जगजीतसिंहले–
ये दौलत भी लेलो ये शोरहत भी लेलो
भले छिनलो मुझसे मेरी जवानी
मगर मुझ को लौटादो बचपनका सावन
वो कागजकी कस्ती वो बारिसका पानी ।

फर्केर त केही पनि आउँदैन । नदीको पानी बगेर सागर जान्छ, फर्केर हिमाल जाँदैन । झनैं  ‘बचपनका सावन’ के पो फर्किन्थ्यो ! बस् सम्झन सक्छौं ती सुमधुर पलहरुलाई यसरी नै ।

रचनाकाल :
१७, १८ र १९ जुलाई २०१३, आबुदाबी एयरपोर्ट । कार्गो सेक्सन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *