हाम्रा पाठशाला

  
  प्रकाशित मितिः आइतवार, साउन ६, २०७०       | 179 Views   ||

Tanka_Gautam-टङ्क गौतम

एउटा उद्देश्यहीन यात्राको यात्री म । जीवनको अनपेक्षित यात्रामा निस्किएको । थाहा छैन मेरो जीवनको गन्तव्य । एउटा उद्देश्यहीनताको पराकाष्टा । सायद सबैको जीवनको यो नियति हो ।

वेदव्यासले सोचेका थिएनन् होला आफ्नो जीवनको विद्वता । पाणिनि, जसले तपस्या गरे शिवको जब कि उनैलाई थाहा थिएन तपस्याको लक्ष्य । तपस्या गर्दै गए र अन्तमा प्रकट भए शिव पाणिनिको अगाडि र वरदान नदिई डमरु बजाएर फर्किए । आफ्नो मनको इच्छा प्रकट गर्नै नपाई शिवलाई गुमाउनुपर्दा निरास भएका पाणिनिले कालान्तरमा शिवको डमरुको आवाजमा अष्टाध्यायीको सूत्र फेला पारे ।

रत्नाकर डाँकूबाट बाल्मीकी बने र रामायणको सिर्जनापछि सबैका पूज्य बने । विश्वविद्यालयका परीक्षामा असफल बनेका विल गेट्स संसारका धनीमा कहलिए ।

३२ बर्षको उमेरसम्म कखरा नचिन्ने आवारा काले राई अन्ततः स्वामी प्रपनाचार्य बने र वेदका व्याख्याता कहलाए । गणितमा बुद्धु मानिएका अल्बर्ट आइन्स्टाइन विश्वप्रसिद्ध वैज्ञानिक बने र विज्ञानको दुनियाँमा पूज्य बने ।

यी केही त्यस्ता व्यक्ति हुन् । जो प्रारम्भमा केही थिएनन् र पछि सबै भए ।

कसैको जीवन उद्देश्यअनुरुप चल्दैन । मेरो जीवनको लक्ष्य पनि त्यहीं थियो, म पनि मेरा माथिका उदाहरण जस्तै बनूँ । तर थाहा छैन कहाँ पुगिने हो ? जीवनका केही उतारचढाव मजैले बेहोरियो । जीवनमा पछाडि फर्केर हेर्नु नपर्ने सपना पनि देखिएकै हो । सपना देखिए हराए । आखिर सपना सपना नै त हुन् । तर मेरी अमाले भनेजस्तो मेरा सपना ठ्याक्कै मिल्छन् । मेरा चाहना मिलून् त्यसरी नै ।

हेरौं कहाँ पुगिन्छ ? एउटा भिन्न चिन्तन मेरो बाल्यावस्थादेखि पलायो । जसले मलाई अरुभन्दा भिन्न तुल्याइदियो । मेरो अन्तर्दृष्टिमा धनप्रतिको वितृष्णा यसरी बढेर गयो, जसलाई मैले घृणा मात्र गरिरहेँ । जसलाई कोही भन्छन् यो कङ्गाल बन्ने अभिलक्षण हो । कोही भन्छन् यो महापुरुष बन्ने लक्षण हो । तर  मेरो विचारमा यो म बन्ने अभिलक्षण हो ।

प्रत्येकका बीचमा भिन्नता छ यो भिन्नता यस्तै–यस्तै स–साना व्यवहारले सिर्जना गरिदिदो रहेछ । म भिखारी बनूँ या महात्मा त्यो म म बनेको हो त्यो भन्दा भिन्न केही होइन । न त भिखारी बनेको हो न त हो महात्मा । प्राप्ति–अप्राप्ति, आशा–निराशा, आरोह–अवरोह, संकीर्ण–उदार, स्वार्थी–परार्थी, आशक्त–अनाशक्त, उदार–अनुदार ।

यी र यस्तै विषयको समिश्रण हो जीवन । यो जो प्रवृत्ति मसँग छ, जो अरुसँग पनि होला । तर पूरै समानता हँुदैन । त्यही अंश भिन्नताले यो संसारमा प्रत्येकका बीचमा भिन्नता ल्याइदिन्छ । जब भिन्नता भिन्नतामा सीमित हुन्छ, त्यो ग्राह्य हुन्छ र घातक पनि हुँदैन तर विडम्बना ! त्यही भिन्नताले क्रोधको जन्म गराउँछ र समाज विद्रुप बन्छ । आफ्नो पहिचानगत भिन्नतामा मान्छे जब अहम्बोधी बन्छ, समाज अव्यवस्थित बन्छ । र, समाज समाज रहँदैन ।

अस्ताउँछ मानवीय मूल्य ।
त्यहाँ हुन्छ हिंसाको प्रारम्भ । सामान्य व्यक्तिको अहम्ले त त्यति फरक नपार्ला तर जब त्यो शासकमा लागू हुन्छ । त्यसले दुनियाँ भत्काइदिन्छ । मानवीय अस्तित्वमै संकट जन्माइदिन्छ । हिटलर र मुसोलिनीको अहम् अहम्को पराकाष्टा हो ।

यदि बुझिदिए प्रकृतिको प्रेरणा, उपयोगी बन्थ्यो । जसले रोप्थ्यो सर्वहीतायःको बीज । जहाँ प्रकृति पूज्य बन्थ्यो र मानव समाज बन्थ्यो आस्थाको प्रतिबिम्ब । हावाले घुस खाँदैन । पानीले विभेद गर्दैन । सूर्यको किरणमा छैन स्वार्थको गन्ध । पहाड पर्वतमा छैन विखण्डनको राजनीति । सबै पोखिरहन्छन् उदारता । खोई हाम्रा स्वार्थप्रेरित आँखाले देख्न सकेको ?

खोलाको डिलमा घर बनाएर बस्नेको घर खोलाले बगाइदियो भने ऊ देख्छ खोलाको अपराध । आफ्नो गल्ती ठान्दैन ऊ । प्रकृति कसैसँग दुस्मनी साँध्दैन । तर उसकै छातीमा परेड खेलेर पनि मान्छे सम्झिन्छ म निरपराध छु । प्रकृति जीवनदर्शनको स्रोत हो । यो होइन मानव समुदायको शत्रु । तर मानिस खोपिरहन्छ यसको छातीमा हिंसाको तरबार ।

यसरी चल्दैछ, मानव सभ्यताको यात्रा । हेरौं कहाँ पुग्ने हो ? एकातिर छ उदारताको पराकाष्टा अर्कातिर छ स्वार्थको विद्रुप चित्र । काला धर्काले कोरिएको हाम्रो जीवनपद्धति, यसमै प्रतिस्थापन गर्नु छ त्यागको प्रतिमूर्ति ।

जीवनको सानो कालखण्डमा अनेक प्रकृति र प्रवृति आँखा अगाडि झुल्किए । कसैले धुमिल छाया छोडेर गए । कसैले चित्र कोरेर गए अमीट रुपमा । कसैको अस्तित्व बालुवामा पानी भयो र बिलायो शून्यतामा । प्रत्येक दशैंताका कल बोकेर घरमा लुगा सिउन आउने भैरे दमाईबाट मैले जीवन जिउने प्रेरणा प्राप्त गरेको छु ।

कीर्तिपुरको पाँगाको सडकमा भेटिएको जड्याहाले मलाई बारम्बार झक्झक्याइरहन्छ र बेला–बेला भन्छ, बढी धनमुखी नबन् यसले तँलाई भोगको भासमा गाड्दै लैजान्छ र तँ कहिल्यै उम्किन सक्नै छैनस् ।

दोलखामा भेटिएको मन माइलो, नयाँबजारमा बोरा ओढेर हिड्ने बौलाही, केन्द्रीय पुस्तकालयमा प्रायः देखिने सेतै दारी फुलेको एकोहोरो मानसिकताको त्यो मानिस, पशुपति प्राङ्गणमा प्रायः बेलुका ५ बजेपछि दुवै आँखा चिम्लेर ध्यानमग्न हुने ध्यानी, मन्दिर देवालयमा भेटिने नङ्गा बाबाहरु यी सबै मेरो जीवनका गुरु हुन् जसमा छ अथाह गुरुत्व ।

पुस्तकका सिद्धान्त घोकाउने गुरुहरुमा मैले त्यो गुरुत्व पाउन सकिनँ । मलाई उहाँहरुको ज्ञानको चुम्बकले तान्न सकेन । उहाँहरुका बौद्धिक दर्शनका व्याख्यानहरुले मलाई उपहास मात्र गरिरहे । जीवन दिनुको सट्टा जीवनबाट पलायन गराइदिए । बरु तिनैले मलाई ज्ञानको ज्योति दिए जसलाई हामी समाजमा घृणा गर्छौं ।

उज्यालो यात्रामा हिडाउने अपेक्षाका साथ मेरा बाबाले मलाई विद्यालयदेखि विश्वविद्यालयसम्म भर्ना गरिदिनुभो । ती विद्यालय र विश्वविद्यालयमा मैले पाएँ, अनन्त स्वार्थ र अहम्को दुर्गन्ध ।

एउटा रमाइलो घटना भएको थियो एकपटक मेरो मामाघरमा । अहिले मेरी मामाघरकी हजुरआमा ८४ बर्षकी हुनुभो । जीवनको सन्यासावस्थामा उहाँ प्रवेश गर्नुभएको छ । मामा गोरु लिएर गोठालो जानुभएको रहेछ । के काम परेछ र उहाँ क्याम्पस पढ्दै गरेको आफ्नो छोरालाई गोरु चराउन जिम्मा लाएर आफू काममा जानुभएछ ।

बेलुका भयो छोराले गोरु घरमा ल्यायो । कुन गोरु कता बाँधिन्थ्यो उसलाई त्यो थाहा भएन  र उसले आफ्नो मनले जता देख्यो उतै बाँध्यो ।

हजुरआमा बाहिर निस्कनुभो र देख्नुभो सधैं बाँधिने ठाउँमा गोरु बाँधिएका छैनन् ।

उल्टोपाल्टो छ ।

अनि कराएर भन्नुभएछ, बी.ए. प¥याउँछु भन्च माल्या बल्लउ दाउलो चिन्दैन, कतामुखी प¥यो यइले बी.ए. । (बीए पढेको छु भन्छ, तर माले गोरुको दाम्लो चिन्दैन यसले कसरी पढ्यो बीए ?)

हजुरआमाको यो कुरा सुनेर परिवारका जति सबै हाँसे । हजुरआमाको अपेक्षा हुँदो हो, पढेको मानिस हरेक कोणबाट व्यावहारिक हुनुपर्छ । आखिर यो सत्य हो पनि ।

जुन ज्ञानले हामीलाई व्यावहारिकतादेखि विमुख गराउँछ त्यो ज्ञानको के काम ? अहिलेको ज्ञानको केही उपादेयता छैन बरु यसले मान्छेलाई मान्छेदेखि बिमुख बनाउँदैछ र समाजदेखि अलग्याउँदैछ । यही प्रमाणपत्रले सल्काएको आगोमा हामी हुर्हुरी जलिरहेका छाँै ।

विद्या त त्यस्तो होस् जसले जीवन जिउने कला सिकाओस् । जसले हाम्रो सभ्यताको संरक्षण गरोस् । जसले ढिडोको स्वाद चिनाओस्, जसले रोदीको भाका गुञ्जाओस् । जसले सर्वे भवन्तु सुखिनःको आदर्श घोकाओस् । जसले सिकाओस् स्वार्थको पराजय र उदारताको जय ।

जसले माले गोरुको दाम्लो चिनाओस्, जसले सिकाओस्, कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचना । जसले संसार चिनाओस् तर अनुकरण नसिकाओस् । पढाओस् सिर्जनशीलताको पाठ । उत्पादनको भाव सिर्जना गरोस् र मुक्त गरोस् दासत्वको भावबाट ।

तर, भइदिएन त्यस्तो ।
हाम्रो शिक्षामा दासत्व मौलाउँदैछ र मौलाउँदै छ स्वार्थको लहरा । हामी आफूबाहेक केही देख्दैनौं, सक्दैनौं र पढाउँदैन हाम्रो शिक्षाले त्यस्तो पाठ । हाम्रो विद्याले हलोलाई घृणा गर्न सिकाउँछ । हाम्रो सभ्यतालाई घृणा गर्न सिकाउँछ । कुटोकोदालोलाई घृणा गर्न सिकाउँछ र नक्कल गर्न सिकाउँछ । अनुकरण गर्न सिकाउँछ । र, नाभीमा भएको कस्तुरी नदेखी धुइधुइती खोज्न सिकाउँछ चारैतिर ।

आफ्नो मूल्य देखाउँदैन । म हुनुको गर्व देखाउँदैन । आफूलाई पूजा गर्न सिकाउँदैन र पढाउँछ दासत्वको पाठ । जहाँ आँसु पढाइन्छ । जहाँ विसङ्गति घोकाइन्छ । जहाँ रुन्चे दर्शनको व्याख्या गरिन्छ । जहाँ पलायनको ज्ञान सम्प्रेषण गरिन्छ । त्यसैले त हाम्रा खेत बिस्तारै बाँझा हुँदैछन् । हाम्रो समाज बञ्जर हुँदैछ ।

बिखण्डनको भारी टाउकोमा उभ्याएर हामी यात्रारत छौं, नयाँ भविष्यको सिर्जना गर्न । समाज विखण्डित छ । विखण्डनको पाठ पढेका छौं हामीले । परिवार विखण्डित हुँदैछ किनकि विखण्डनकै पाठ घोकाइएको छ हामीलाई । भावना विखण्डित हुँदैछ र यति मात्र होइन, रगतसमेत विखण्डित हुँदैछ दिनानुदिन । सभ्यताको रुखमा विष फलाउँदै छौं हामी विखण्डनको र त्यसैलाई दिनानुदिन गोडमेल गरिरहेका छौं ।

हजुरआमा, हजुरलाई के थाहा तपाईंको जीवनको अन्त्यपछि अब कुनै पनि सन्तानले माले गोरुको थलो मात्र होइन, गोरु नै चिन्ने छैनन् । चित्र देखाएर घोकाउनु पर्नेछ तिनलाई गोरुको कथा । खेतबारीको कथा । गाउँबेसीको कथा ।

तपाइँको अर्को नाति म, माफ गर्नुहोला, कुरा बढी र काम कम गर्छु ।
मेरो जीवनको अर्थहीनताप्रति म आफै लाचार छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *