पहिरोले राप्ती लोकमार्ग ठप्प

  
  प्रकाशित मितिः सोमवार, साउन ७, २०७०       | 129 Views   ||

sadak 1प्रतीकइच्छुक शर्मा
सल्यान, साउन ७ । दाङ–सल्यान सडकखण्डमा गएका दर्जन बढी पहिरोका कारण अवरुद्ध राप्ती लोकमार्गको यातायात सेवा अझैं पनि ठप्प रहेको छ । राप्ती लोकमार्गको दाङ–सल्यान सडकखण्डको ठाउँ–ठाउँमा पहिरो गएपछि ६ दिनदेखि यहाँको यातायात ठप्प भएको हो ।

राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको टुनिबोट नजिकै पहिरोसँगै आएको ठूलो ढुङ्गा नेपाली सेनाको टोलीले फुटाएको छ । भगवती दल गुल्म सल्यान र १९ नम्बर बाहिनी तुलसीपुरको टोलीले शनिबार बेलुका साढे ६ बजेतिर दर्जनभन्दा बढी विष्फोटक पदार्थ पड्काएर ढुङ्गा फुटाएको हो ।

ढुङ्गा फुटाएपछि स्काभेटरले गाडी सञ्चालन गर्न मिल्ने गरी सडक सफा गर्ने कामको शुरु गरिएको र टुनिबोटदेखि अरिङ्गालेफेदीसम्मका विभिन्न स्थानको पहिरो हटाउने काम शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक रञ्जितसिंह राठौरले बताउनुभयो । आइतबार बिहान १० बजेसम्म अरिङ्गालेफेदीसम्म सडक सफा गर्ने लक्ष्य रहेको प्रहरी निरिक्षक राठौरको भनाइ छ ।

अरिङ्गालेफेदीमा रहेको खोला कटान भएकाले अझैं एक दुई दिन सडक सुचारु हुनसक्ने अवस्था नरहेको राठौरले बताउनुभयो । अरिङ्गालेफेदीमा बाढीले निकै गहिरो गरी सडक चिरा पारेको हुँदा यातायात सूचारु हुन नसक्ने भएपछि मेल सेवाबाट भए पनि यात्रुहरुलाई सेवा दिने यातायात व्यवसायीहरुले बताएका छन् ।

दाङको तुलसीपुर हुँदै सल्यान, रुकुम र रोल्पा जाने गाडीहरु पहिरोका कारण सल्यानको कपुरकोटमै थन्किएका छन् भने दाङ आउने गाडीहरु सल्यानको शीतलपाटीमै रोकिएका छन् । कतिपय गाडीहरु बीच बाटोमै अलपत्र परेका छन् । दाङ–सल्यान सडकखण्डको सल्यान टुनिबोट, अरिङ्गाले, सल्ले खोला, शंखमुल कपुरकोटको चोरखोला लगायतका स्थानमा पहिरो खस्दा र सडक बगाउदा पाँच दिनदेखि यातायात अवरुद्ध भएको हो ।

अन्यत्र स–साना पहिरो खसे पनि त्रिवेणी र रीम गाविसको सिमानामा पर्ने टुनिबोटनजिकै सडकमाथिबाट ठूलो ढुङ्गा खसेको थियो ।

लाखौं मूल्यको तरकारी कुहियो
पाँच दिनदेखि अवरुद्ध सडक सञ्चालनमा आउन नसक्दा सल्यानको रिम गाविसको एकै गाउँको २० लाखभन्दा बढी मुल्यको तरकारी कुहिएको छ । सडक अवरुद्ध हुँदा कपुरकोट ल्याउनुपर्ने २० वटा तरकारीका गाडी रिममै अलपत्र परेका छन् भने संकलन केन्द्रमा टमाटर, काउली, भान्टा, भेडेखुसानी, पिरो खुर्सानी, अदुवा लगायतका तरकारी कुहिएका छन् ।

विभिन्न ठाउँमा लैजानका लागि खरिद गरेको २० लाखभन्दा बढीको तरकारी कुहिएको तरकारी व्यवसायीहरुले बताएका छन् । संकलन केन्द्रमा तरकारी किन्नका लागि गाडी ल्याएर आएका धनगढी, महेन्द्रनगर, सुर्खेत, कोहलपुर नेपालगञ्जका व्यापारीहरु पनि अलपत्र परेको धनगढीबाट तरकारी किन्न रिम गाविस पुगेका व्यापारी मुक्ति बास्तोलाले बताउनुभयो ।

‘किसानसँग किनेको मेरो मात्रै चार ट्रक तरकारी कुहियो, बास्तोलाले भन्नुभयो– ‘घाटा त त्यसै लाग्यो–लाग्यो अब कुहिएको तरकारी कहाँ फाल्ने अर्को समस्या देखिएको छ ।’ उहाँले आफ्नो मात्रै पाँच लाख बराबरको तरकारी कुहिएको बताउनुभयो ।

अझैं केही दिन सडक सञ्चालनमा नआए किसानले लगाएको करोडौंको तरकारी बारीमै नै कुहिने स्थानीय व्यापारी अशोक बुढाले बताउनुभयो । सल्यानको रिम, गर्पा, धनवाङ, त्रिवेणीलगायतका गाविसका किसानहरु यसपटक निकै मर्कामा परेको बुढाले बताउनुभयो । स्थानिय तरकारी व्यापारी अशोक बुढा, जीतबहादुर साहु, टीकाराम बुढा, ज्ञानबहादुर पुनलगायतका व्यापारीहरुले किसानहरुसँग तरकारी खरिद गरेर जिल्ला बाहिर पठाउँदै आएका थिए ।

स्थानीय बजारमा किसानहरुले टमाटर प्रतिकेजी ३५ रुपैयाँ, काउली ४०, बन्दा १५, भेडे खुर्सानी ६५, पिरो खुर्सानी ५०, काँक्रो १५, अदुवा १०० तथा नास्पाती अदुवा, प्याज, धनिया, साग आदि बिक्री गर्दै आएका छन् ।
sadak 2

Leave a Reply

Your email address will not be published. Required fields are marked *