वृद्ध दलित दम्पत्तिलाई राहत सामग्री प्रदान

  
  प्रकाशित मितिः सोमवार, साउन ७, २०७०       | 119 Views   ||

Dalit_Dampatilai rahat 1दाङ, साउन ७ । रामपुर बालिमखोला किनारमा बस्दै आएका वृद्ध दलित दम्पत्तिलाई विभिन्न क्षेत्रबाट प्राप्त सहयोग प्रदान गरिएको छ । बुधबार वृद्ध दलित दम्पत्तिको रामपुर–३, बालिमखोलास्थित घरमै पुगेर सात हजार मूल्यबराबरका खाद्यान्न, लत्ताकपडा र भाँडाकुँडा प्रदान गरिएको हो ।

बालिमखोलाको किनारमा जीर्ण बनेको झुप्रो घरमा बस्दै आएका दलित दम्पत्तिको दयनीय अवस्थाका बारेमा जनउभारकर्मी जनक नेपालीले ‘२० वर्षसम्म पशु र मान्छे एउटै थलोमा’ शीर्षकमा लेखेको समाचार गत असार ९ गते नौलो जनउभार साप्ताहिकमा प्रकाशित भएको थियो ।

सोही समाचार पढेपछि तुलसीपुर दाङ घर भई हाल लण्डनमा बस्दै आउनुभएका सुमन गुरुङले ५ हजार रुपैयाँ, दाङका जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाह र काठमाण्डौंका हरिप्रकाश पुडासैनीले एक/एक हजार रुपैयाँ वृद्ध दम्पत्तिका लागि सहयोग प्रदान गर्नुभएको थियो । नगदभन्दा आवश्यक सामान ल्याइदिन वृद्ध दम्पत्तिले गरेको आग्रहबमोजिम ७ हजार रुपैयाँबाट दुई बोरा चामल, ४ किलो दाल, दुई किलो नून, २ लिटर तेल र बेसार, एक सेट सिरक डसना र एक सेट भाँडाकुडा प्रदान गरिएको हो ।

गत बुधबार वृद्ध दम्पतिको घरमा एक कार्यक्रमको आयोजना गरि सो सहयोग सामग्री प्रदान गरिएको छ । सो अवसरमा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष नरेन्द्र केसी, रामपुर गाविस सचिव प्रवीण खनाल र नौलो जनउभार साप्ताहिकका कार्यकारी सम्पादक डिल्ली मल्ल सहयोग सामग्री प्रदान गर्नुभएको थियो ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष नरेन्द्र केसीले मानवीय नाताले समाजका असहाय, गरिब र विपन्न वर्गका व्यक्तिलाई सहयोग गर्नु सबैको दायित्व भएको बताउनुभयो । पत्रकारिता क्षेत्र समाजलाई सूसुचित गर्नुका साथै समाजसेवा, अग्रगामी रुपान्तरण र विकासका लागि सबैलाई सचेत गराउने क्षेत्र रहेको भन्दै उहाँले समाचारका माध्यमबाट असहाय दलित दम्पत्तिको विषय उजागर गरेर सहयोग जुटाउने पत्रकार, पत्रिका र सहयोग प्रदान गर्ने दाता र घर निर्माणलगायत उनीहरुको रेखदेख गर्ने स्थानीयबासी सबै धन्यवादका पात्र भएको बताउनुभयो ।

कार्यक्रममा रामपुर गाविस सचिव प्रवीण खनालले आफूहरुले वृद्ध दलित दम्पत्तिको नागरिकता बनाउनेदेखि सामाजिक सुरक्षा भत्ता प्रदान गर्न पहल गरेको बताउनुभयो । सो अवसरमा नौलो जनउभार साप्ताहिकका कार्यकारी सम्पादक डिल्ली मल्लले सहयोग प्रदान गर्ने दाताहरु र संकलन गरिएको सामग्रीको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रमको सञ्चालन जनउभारकर्मी जनक नेपालीले गर्नुभएको थियो ।

समाचार छापिएपछि नयाँ घर !
दाङ (रामपुर) । वृद्ध दलित दम्पत्तिको दयनीय अवस्था र उनीहरुलाई स्थानीयबासीले सहयोग नगरेको भावको समाचार प्रकाशित भएपछि स्थानीयबासीले बृद्ध दम्पत्तिका लागि सानो घर नै बनाइदिएका छन् ।

स्थानीयबासी सबैले सहयोग संकलन गरेर ९ हजार १ रुपैयाँ जम्मा गरी बाँसले बेरेर टीनको छाना भएको एककोठे घर बनाइदिएका हुन् । ‘समाचारमा स्थानीयबासीले वृद्ध दलित दम्पत्तिलाई सहयोग नै नगरेको भन्ने खालको समाचार आएको रहेछ, स्थानीय वीरबहादुर विकले भन्नुभयो, हामीले पनि अलि–अलि सहयोग त गरिरहेका थियौं, तैपनि जति गर्नुपर्ने गर्न सकिएको थिएन । समाचार पढेपछि आफूहरुले केही गर्नुपर्छ नत्र गाउँ समाजकै बेइज्जत हुन्छ भन्ने ठानेर घर बनाइदियौं ।’

स्थानीयबासीले वृद्धवृद्धाहरुको नागरिकता बनाउनेदेखि ऐलानी जग्गामा बसाएको, शौचालय बनाइदिएको र सामाजिक सुरक्षा भत्ताका लागि पहल गरेको स्थानीय शिक्षक नारायण थापाले बताउनुभयो । एक्लै सोचेर मात्र केही नहुने भन्दै स्थानीय शिक्षक थापाले सबैले गाउँ समाज र छरछिमेक मिलेर सहयोग गरेमा उनीहरुको अवस्था दयनीय नहुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *