दाङ, साउन ७ । गरिबी र अभावका कारण दयनीय अवस्था गुजार्दै आएका रामपुर–३ बालिमखोलाका वृद्ध दलित दम्पत्तिको बारेमा समाचार प्रकाशित भएपछि सहयोग आउने क्रम जारी छ ।
यसै क्रममा गौरीशंकर ओभरसिज प्रालि घोराही शाखाले वृद्ध दम्पत्तिहरुलाई ६ महिनासम्म सम्पूर्ण खाद्य सामग्री उपलब्ध गराउने भएको छ । गौरीशंकर ओभरसिज प्रालि घोराहीका शाखा निर्देशक यादव सैघालीले गत मंगलबार दलित दम्पतिको घर बालिमखोलामा पुगेर उनीहरुलाई ६ महिनासम्म संस्थाको तर्फबाट खाद्य सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको हो ।
वृद्ध दम्पत्तिहरुलाई हरेक महिना २० किलो चामल, २ लिटर तेल, ३ केजी दाल, १ केजी नून, २ केजी चिनी, ५ केजी पीठो र ५ केजी आलु उपलब्ध गराउने प्रबन्धक सैघालीले बताउनुभयो । साथै सो अवसरमा सैघालीले संस्थाको तर्फबाट चार हजार पाँच सय रुपैयाँ बराबरको खाट र फलफूल प्रदान गर्नुभएको थियो ।
त्यस्तै, गौरीशंकर ओभरसिज प्रालिका अध्यक्ष पूर्ण प्रधानले वृद्ध दम्पत्तिका लागि पठाउनुभएको १ हजार १ सय रुपैयाँ पनि उनीहरुलाई प्रदान गरिएको थियो ।
यसअघि वृद्ध दम्पत्तिहरुका लागि तुलसीपुर दाङ घर भई हाल लण्डनमा बस्दै आउनुभएका सुमन गुरुङले ५ हजार रुपैयाँ, दाङका जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले १ हजार र काठमाण्डौंका हरिप्रकाश पुडासैनीले १ हजार रुपैयाँ वृद्ध दम्पत्तिका लागि सहयोग प्रदान गर्नुभएको थियो । त्यस्तै, स्थानीयबासीले सहयोग संकलन गरेर ९ हजार १ रुपैयाँ जम्मा गरी बाँसले बेरेर टीनको छाना भएको एककोठे घर बनाइदिएका थिए ।