कार्यदिशामा र संगठनमा हल खोजौं व्यक्ति र पदमा होइन

  
  प्रकाशित मितिः सोमवार, साउन ७, २०७०       | 138 Views   ||

Atom maharaनिर्मल महरा ‘एटम’

राजनीतिमा एकीकृत नेकपा माओवादी र यसको नेतृत्व आज पनि शक्तिशाली र स्थापित छ । यसो हुनुमा यो पार्टीको नेतृत्वमा जनयुद्धको पहलदेखि संविधानसभा चुनावको परिणामसम्मका महत्वपूर्ण राजनैतिक घटनाक्रम नै हुन् । हामीले विगतदेखि हेर्दै पनि आयौं कि राजनैतिक कार्यदिशालाई सही ढंगले लागू गर्ने एकताबद्ध भएको पार्टी, नेता–कार्यकर्ता र त्यसको भरोसामा जनताले दिएको साथले नै राजनीतिमा एमाओवादी हिरो बन्ने मौका पाएको हो ।

यसको अर्थ हुन्छ– राजनीतिमा शक्तिशाली हुनलाई एकीकृत र बलियो पार्टी, नेतृत्वदेखि कार्यकर्तासम्म एकढिक्का, विचार र कार्यदिशामा स्पष्ट । देश आज नयाँ संविधानसभा निर्वाचनको तयारीमा होमिएको बेला राजनीतिको केन्द्रबिन्दुमा रहेको एमाओवादी र यसको नेतृत्वले विगत, वर्तमान र भविष्यको गहिरो समीक्षा गरेर अगाडि बढ्नुपर्ने अवस्था आएको छ ।

एमाओवादीले गम्भीर समीक्षा गर्नुपर्ने केही कारणहरु छन् । पहिलो, तत्कालीन क्षितिजमा आइपरेको संविधानसभाको चुनावलाई जिम्मेवारीपूर्वक सम्पन्न गर्नु साथसाथै पहिलो संविधानसभाको परिणामझैं फेरि पनि पहिलो स्थान हाँसिल गर्न प्रयत्न गर्नु ।

दोस्रो, राजनैतिक कार्यदिशालाई ठोस र मूर्तरुप दिदै सिंगो पार्टी र कार्यकर्तालाई परिचालन गर्नु । राजनीतिमा रणनीति होस् या कार्यनीति त्यसलाई पुष्टि गर्ने शक्तिशाली आधार भनेकै संगठन हो, संगठनमा आबद्ध कार्यकर्ता, जनता नै हुन् । हेटौंडा महाधिवेशनबाट पार्टीले आर्थिक क्रान्तिबाट देशलाई सम्मृद्ध गर्ने र संविधानसभाको चुनावबाट राजनैतिक गत्यावरोध अन्त्य गर्ने सन्देश त विश्वव्यापी दियो तर पार्टी निर्माणको मूल पक्ष खासगरि संगठन निर्माणको पाटोलाई सुल्टाउन सकेन ।

सायद हाम्रा जिम्मेवार नेताहरुले यसलाई गम्भीरतापूर्वक लिएनन्, महाधिवेशनको मतभन्दा आफ्नै विवेकलाई सर्वेसर्वा ठाने, जसको परिणाम भट्टराई कमरेडको पद त्यागको पीडा पार्टीले व्यहोर्नु परिरहेको छ । कमरेड भट्टराईको पद त्यागको परिस्थितिले पार्टी पंक्तिभित्रको कित्तालाई निरास त बनायो नै बाहिर संविधानसभाको चुनावी लहर पार्टीमा जसरी देखापरेको थियो त्यो समेत प्रभावित हुन पुग्यो ।

विचार नै सबैभन्दा शक्तिशाली हतियार हो भन्ने सच्चाइलाई आत्मसाथ नगरेसम्म संगठनमा देखिने र पार्टीमा भेटिने फोहोर कसिङ्गरहरुको अन्त्य गर्न सकिदैन । हाम्रो वैचारिक धरातल के हो भन्ने कुराको अनुभूति व्यवहारमा हुन जरुरी छ । किताब, ठेली र ब्यानरमा हामी मालेमावादकै अनुयायी हौं भनेर कन्भिस हुन अब गाह्रो छ । विचारमा प्रतिबद्ध भएमा सही राजनैतिक कार्यदिशाको जन्म हुन्छ अनि मात्र संगठनको स्वरुप सही ढंगले निस्कन्छ ।

केन्द्रीय समितिको जारी बैठकमा कमरेड बाबुरामले राखेजस्तै पार्टीमा पदको लागि यति मरिहत्ते गर्ने परम्परा बस्यो कि आशाको केन्द्रको रुपमा हेरेको पार्टी र नेतृत्वप्रति जनता र कार्यकर्तासम्ममा घृणाको बिषय बन्न पुग्यो । पार्टीको एउटा जिम्मेवार कार्यकर्ताको हैसियतले म पार्टीको आलोचना गर्न किन आवश्यक ठान्छु भने आफूलाई बडे–बडे क्रान्तिकारी र त्यागी ठान्ने नेता नै माओवादी पार्टीको बिकासको अवरोधक बनिरहेका छन् ।

पार्टी एकढिक्का हुन्छ–हुन्छ भनेर महाधिवेशनको उद्घाटन सत्रमा कुर्लिने नेताहरु आज कोही पद त्यागको घोषणा गर्दैछन् भने कोही भावी अध्यक्षको दावी गर्दैछन् । पार्टीको महाधिवेशन हलभित्र महान बहसमा त्याग, तपस्या र बलिदानको उच्च मूल्याङ्कन गर्ने हजारौं पार्टी कार्यकर्ताको अगाडि सत्य कुरा बोल्न र गर्न डराउने अनि बेमौसममा आएर नेताहरुको गर्ने काम र बोल्ने ताललाई बिडम्बना मात्र भन्न सकिन्छ ।

पार्टीका शीर्ष नेताहरुले अब के बुझ्न आवश्यक छ भने कसले के ग¥यो भनेर त्यसमा निरर्थक बहस सिर्जना गर्नुभन्दा पार्टीको वैचारिक धरातललाई सफाइ गर्न जरुरी छ । विचार नै सबैभन्दा शक्तिशाली हतियार हो भन्ने सच्चाइलाई आत्मसाथ नगरेसम्म संगठनमा देखिने र पार्टीमा भेटिने फोहोर कसिङ्गरहरुको अन्त्य गर्न सकिदैन । हाम्रो वैचारिक धरातल के हो भन्ने कुराको अनुभूति व्यवहारमा हुन जरुरी छ ।

किताब, ठेली र ब्यानरमा हामी मालेमावादकै अनुयायी हौं भनेर कन्भिस हुन अब गाह्रो छ । विचारमा प्रतिबद्ध भएमा सही राजनैतिक कार्यदिशाको जन्म हुन्छ अनि मात्र संगठनको स्वरुप सही ढंगले निस्कन्छ । तर आज पार्टीभित्र हेटौंडा महाधिवेशन अपूरो जस्तो महसुस भएको छ । पार्टीले लिएको नयाँ कार्यदिशालाई हाम्राविरोधी तथा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुले बुझिसके तर त्यसलाई दिलो ज्यान लगाएर पूरा गर्ने कार्यकर्ताले बुझ्न सकिरहेका छैनन् । सांगठनिक कार्य त झन् अपूरो नै हुन पुग्यो । विशेष सांगठनिक महाधिवेशनको माग हुनु त्यसकै संकेत हो ।

यही पार्टीमा हिजो पार्टीका लागि भनेर ज्यान फाल्न होडबाजी चल्थ्यो किनभने त्यहाँ विचार, आदर्श र साँच्चिकै देश र जनताको चिन्ताका साथ राजनीति हुन्थ्यो । आज पार्टी कसले आफ्नो निजी साधन बनाउने र आफ्नो महत्वाकांक्षा पूरा गर्ने भन्ने होडबाजी चलिरहेको छ ।  त्यसैले मुलभूतरुपमा विचार र कार्यदिशा नै प्रष्ट नपारेसम्म पार्टी गतिशील हुन सक्दैन । विचार एउटा त्यस्तो शक्ति हो जसले अराजनैतिक तत्वहरुको अन्त्य गरिदिन्छ । हाम्रो बाहिरी क्षमताले पूरा गर्न नसकेका या हामीले आँकलन नै गर्न नसकेका भीमकाय चुनौतीहरु पनि विचारले नै बदल्ने गर्छ ।

जनयुद्ध त्यसको अद्भूत प्रमाण हो । हाम्रो वैचारिक दृष्टि र कार्यदिशाले त्यस्तो साधनको निर्माण गरोस्, जुन साधनले दुनियाँ जनतालाई सम्पन्न बनाउँदै आफूलाई समाप्त पारोस्, कम्युनिष्ट पार्टीको मूल आदर्श जनतालाई मुक्त गरेर आफ्नो अस्तित्वलाई विलय गर्नु हो तर आज उल्टो भइदियो पार्टीलाई निजी साधन बनाउने र त्यसको आडमा आफू शक्तिशाली र शासक बन्ने, यो प्रवृत्तिको अन्त्यको लागि कमसेकम वैचारिक बहस हाम्रो पार्टीले चलाउनुपर्छ ।

अहिले एमाओवादीले चुनावी कार्यक्रमलाई केन्द्रीत गरि पार्टीको विस्तारित बैठक सम्पन्न गर्ने र तत्काल संगठनमा देखापरेका समस्यालाई सापेक्षित हल गरेर जानुको विकल्प छैन । नेपाली जनताले अहिले पनि एमाओवादीको राजनैतिक एजेण्डालाई भरोसाको केन्द्र बनाएका छन् । पूर्वपश्चिम एवम् हिमालदेखि पहाड हुँदै तराई मधेशसम्म चुनावी उत्साह माओवादीकै पक्षमा देखापरेको छ ।

राजधानी र शहरका सीमित ठाउँमा बसेर केही भ्रष्ट सञ्चारमाध्यम र एनजीओ परिचालन गरि माओवादी कमजोर रहेको पुष्टि गर्न खोजे पनि वास्तविक जनता माओवादीकै पक्षमा रहेको कुरामा कुनै शंका छैन । एमालेभित्र निकै ठूलो विघटन पैदा भएको छ, विचार र राजनैतिक एजेण्डाबाट बिमुख हुँदै गएको एमाले पार्टीबाट हजारौको संख्यामा नेता कार्यकर्ताहरु एमाओवादीमा आबद्ध भइरहेका छन् ।

नेपाली कांगे्रसको स्थानीय राजनैतिक गतिविधि गतिशील देखिए पनि केन्द्रीय नेताहरुमा आन्तरिक विवाद चुलिएकै छ । खासगरि सुशील कोइरालाको नेतृत्वशैलीप्रति युवा नेताहरु आक्रोशित छन् । समग्रमा जनता र केन्द्रको राजनैतिक पहलकदमी एमाओवादी पार्टीकै हातमा छ । हामीले जनतालाई यो कुराको आह्वान गर्नुप¥यो कि विगत चुनावभन्दा फरक ढंगले आगामी चुनावबाट शक्ति सन्तुलन कायम गरि संविधान जारी गर्ने र देशलाई निकास दिनेतिर जोड दिनुपर्छ । जनताको चेतनाले यो कुराको सुनिश्चित गर्नेछ ।

चुनौती के हो भने अब एमाओवादीले पार्टी केन्द्रको संगठन सुदृढीकरणसँगै कार्यकर्तामा देखिएको निरासा अन्त्य गर्न सक्ने कि नसक्ने भन्ने कुरा महत्वपूर्ण हुनेछ । एमाओवादीको सबै अवस्था चुस्त हुँदाहुँदै संगठनात्मक क्रियाकलाप र कार्यकर्ता जाम भएका छन्, त्यसलाई सक्रिय बनाउन पार्टीले केही कुरामा बिशेष ध्यान दिन जरुरी छ ।

पहिलो, हेटौंडा महाधिबेशनबाट पारित नयाँ राजनैतिक कार्यदिशालाई आम पार्टी सदस्यसम्म स्पष्ट तरिकाले स्कूलिङ गर्न जरुरी छ । संगठनात्मक विधि र सिद्धान्तको विकास गरि एकीकृृत र केन्द्रीकृत ढंगले संगठन परिचालनको विधि अपनाउनुपर्छ ।

दोस्रो, युद्धबाट आएका हजारौं कार्यकर्तालाई आर्थिक उत्पादनमा परिचालन गरि उनीहरुको व्यवस्थापनको पाटोलाई सुनिश्चित गर्नुपर्छ ।

तेस्रो, नेता र कार्यकर्ताबीचको जीवनशैलीमा फरक देखिदै जानुले नेतृत्वप्रति अविश्वास पैदा हुँदै गएको छ । त्यसैले यी महत्वपूर्ण कुराहरुलाई बिस्तारित बैठकबाट उठान गरेर सच्चिने प्रयास एमाओवादीले गरेमा मात्र उसको आगामी विजय सुनिश्चित हुन्छ ।

विदेशी तथा स्वदेशी माओवादीविरोधी शक्तिहरु एमाओवादीलाई अझैं पनि विभाजन गरेर मात्र चुनावमा जानलाई हरतहबाट षड्यन्त्र गरिरहेका छन् । चुनावी परिणामबाट माओवादीलाई सकेसम्म तेस्रो, चौथो स्थानमा पु¥याएर उसलाइ क्रान्तिकारी धारबाट बिमुख गराउँदै नेता कार्यकर्तालाई आफ्नो गुलाम बनाउने केही विदेशी शक्तिहरु मरेरै लागेका छन् ।
अहिले हामीबाट विभाजित भएको शक्ति नेकपा–माओवादीसँग चुनाव या कुनै बहानाबाट एक आपसमा भिडाउने खासगरि भारतमा एमसीसी र पिपुल्सवारबीचको भीडन्तझैं हामीलाई पनि त्यो स्तरमा पु¥याएर समाप्त पार्ने षड्यन्त्र तीव्र गतिमा विरोधीहरुले गरेका छन् । आज संविधानसभाको चुनाव पार्टीहरुको हारजीतको सवालभन्दा पनि देशको राजनैतिक संकटसँग जोडिएको महत्वपूर्ण मुद्दा बनेको छ ।

अबको निर्वाचनपछि पनि राजनैतिक दलहरुले संविधान जारी गर्न सकेनन् भने दलहरुकै अस्तित्व समाप्त भएर जान्छ, त्यसपछि के शासन आउने यसै भन्न सकिन्न । त्यसैले हाम्रो पार्टी आन्दोलनमय गतिमा संविधानसभाको चुनाव सम्पन्न गर्दै नेपाली क्रान्तिका बाँकी कार्यभारहरु जनताकै व्यापक सहभागितामा सम्पन्न गर्न चाहन्छ तसर्थ संविधानसभा र परिवर्तन नचाहने तत्वहरु बाहिरमात्र हैन हाम्रै पार्टीभित्रै पनि सक्रिय रहेका छन् ।

संविधानसभाको चर्को स्वरमा वकालत गरेर त्यसकै मृत्यु गराउने खेल जसले पार्टीलाई दिनप्रतिदिन कमजोर बनाउँदै गइरहेका छन्, उनीहरुले नै गरिरहेका छन् । पार्टीभित्रका सच्चा क्रान्तिकारीहरुले पार्टी भडुवाहरु विरुद्ध संघर्ष चलाउँदै सम्भव भएसम्म ड्यास माओवादीसँग पार्टी एकताको पहललाई ध्यानमा राखेर हेटौंडा महाधिवेशनले दिएको कार्यनीतिलाई पूरा गर्न अगाडि बढ्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *