कहाँ गए देशबन्ध्या गुरुवा ?

  
  प्रकाशित मितिः सोमवार, साउन ७, २०७०       | 136 Views   ||

Santosh_dahit1-सन्तोष दहित

देशबन्ध्या गुरुवा भन्ने शब्द अहिले सुन्दा जो कोहीलाई पनि यो के शब्द होला भन्ने सोध्न मन लाग्छ अर्थात यो भनेको के होला भन्ने सबैको लागि खुलदुलीको विषय पनि बन्न सक्छ । देशबन्ध्या गुरुवा थारु भाषामा भनिने शब्द हो र यो धेरै पुरानो शब्द पनि होइन । यो शब्द अहिले पनि थारु समुदाय रहेको गाउँमा जाने हो भने जताततै सुन्न पाइन्छ ।

थारु समुदायमा आफ्नो गाउँ, टोल गाविस हुँदै छिमेकी गाविससम्मको प्रगन्नाको रेखदेख गर्नुका साथै पूजापाठ गर्ने, गराउनेको नेतृत्व गर्दै आएका व्यक्तिलाई देशवन्ध्या गुरुवा भनिन्छ ।

देशबन्ध्या गुरुवा शब्दलाई अर्काे शब्दमा गुर्वाबा पनि भनिन्छ । तर, हिजोआज देशबन्ध्या गुरुवा बनाउने चलन छाडेपछि गुरुवाहरु भेटिन छाडेका छन् भने यो प्रचलन पनि हराउँदै गएको छ । देशबन्ध्या गुरुवाहरु ठूलो तान्त्रिक मन्त्रका ज्ञाता पनि मानिन्छन् ।

यी देशबन्ध्या गुरुवाहरु भएको सम्बन्धमा सानो किंवदन्ती रहेको छ । थारु अगुवाहरुको भनाइअनुसार प्राचीनकालमा धनपत नाम गरेका एक जना थारु जातिका व्यक्ति  देशबन्ध्या गुरुवा थिए । तिनका चार जना छोराहरु थिए । तिनकै चार जना सन्तानलाई दाङ जिल्लामा देशबन्ध्या गुरुवाको जिम्मेवारी दिइएको थियो । त्यतिबेलादेखि थारु जातिका दहित, पछलडङ्ग्या, जिनगुनी र डेमनडौराका थर छुट्याएर ती थरका थारुहरुलाई यसको नेतृत्व (जिम्मेवारी) दिइएको थियो ।

जिम्मेवारी सुम्पिएर उनीहरुलाई आफ्नो कार्यक्षेत्रमा पठाइएको थियो । ती चार देशबन्ध्या गुरुवाहरुलाई काम गर्न सजिलो बनाउनको लागि  क्षेत्राधिकारको बाँडफाँड गरिएको थियो । त्यतिबेला दाङमा चार प्रगन्ना विभाजन गरिएको थियो । जसअनुसार अग्ला प्रगन्ना, पश्च्ला प्रगन्ना, पाटु प्रगन्ना र पछ्ला प्रगन्ना गरि चार भाग विभाजन गरिएको थियो ।

अग्ला प्रगन्ना घोराहीदेखि पूर्व देउखुरीसम्मको प्रगन्ना ‘मद्वा’ देवता मान्ने जिनगुनी थरका व्यक्तिले नेतृत्व गर्दै आएका थिए भने पश्च्ला प्रगन्ना तथा छिल्ली प्रगन्नाको नेतृत्व ‘भे¥वा’ देवता मान्ने दहित थरका जातिले नेतृत्व गर्दै आएका थिए ।

त्यसैगरि पाटु प्रगन्ना तथा पछ्ला प्रगन्नाको जगनथ्या देवता मान्ने पछलडङ्ग्या जातका थारु जातिले नेतृत्व गर्दै आएका थिए । त्यसैगरि बाँकी ठाउँमा छुटेका गाउँठाउँका डेमनडौरा जातिका थारुले रेखदेख गर्दै आएका थिए ।

गाउँ–गाउँमा मारकाट, हिंसालाई अन्त्य गर्नुका साथै दिगो शान्ति स्थापना गर्नको लागि देशबन्ध्या गुरुवाहरुको ठूलो भूमिका रहेको पाइन्छ । यति मात्र नभएर गाउँमा जो कोही बिरामी परेको बिरामीहरुलाई गुरुवामार्फत् तन्त्रमन्त्रले निको बनाउने कार्य पनि गर्दै आएको पाइन्छ । त्यसैगरि बिग्रेको अन्नबाली सपार्नको लागि गुरुवाहरुको तन्त्रमन्त्रको माध्यमबाट राम्रो बनाउने गरेको पनि थारु अगुवाहरु बताउँछन् ।

विगतमा यति ठूलो महत्वपूर्ण काम गर्दै आएका देशबन्ध्या गुरुवा रहने प्रचलनका बारेमा अहिले थारु जाति र अरुले पनि चासो नराखेकाले हराउँदै गएको छ । संस्कृतिका धनी थारु जातिमा हुने कयौं पूजापाठहरु देशबन्ध्या गुरुवाहरु नहुँदा हराउँदै गएका छन् । त्यतिबेला देशबन्ध्या गुरुवाहरु हुँदा नियमितरुपमा पूजाआजा हुँदैको थारु समुदायमा अहिले भने समयमा पूजापाठ हुने त परै जाओस् कुनै गाउँमा त पूजापाठ गर्नसमेत छाडिसकेका छन् ।

थारु समुदायमा देशबन्ध्या गुरुवाहरुमा ठूलो शक्ति रहेको विश्वास गरिन्छ । वर्षात्को समयमा पानी नपरेको बेला देशबन्ध्या गुरुवाहरुले पूजापाठ गरे पानी पर्ने विश्वास गरिन्छ । उसो त विगतमा थारु जाति मात्र नभएर अरु समुदायले पनि देशबन्ध्या गुरुवाको विश्वास उत्तिकै गर्दै आएको पाइन्छ ।

त्यसैगरि देशबन्ध्या गुरुवाहरुमा ठूलो तन्त्रमन्त्र भएकाले पनि देवताहरुलाई समेत नजरबन्द गरिदिने अर्थात् देवतालाई उठिबसी गराइदिने गरेको किंवदन्ती पनि सुन्न पाइन्छ । उसो त अहिले पनि गुरुवाहरुले देवता (भूत)लाई थुन्ने गर्छन् भनिन्छ । परम्पराअनुसार पूजाआजा गर्ने बेला देवता (भूत)लाई फलामको किलाकाँटी ठोकेर तन्त्रमन्त्रको माध्यमबाट थुन्ने गर्दछन् । देवताहरु जब गाउँमा बिगबिगी मच्चाउँछन्, त्यतिबेला देवता (भूत)हरुलाई देशबन्ध्या गुरुवाहरुले थुन्ने गर्र्दछन् ।

त्यस्तै, विभिन्न पूजाको माध्यमबाट गाउँमा शान्ति ल्याउने र गाउँको अन्नबालीमा रोग व्यथा नलागोस् भन्नेर पूजाको माध्यमबाट रोगव्याधालाई हटाउने प्रयास पनि गर्दछन् देशवन्ध्या गुरुवाहरु । विगतमा गाउँमा मान्छे बिरामी परेपछि उपचार गर्ने न स्वाथ्य चौकी थियो न त अस्पताल । विरामीको उपचारसमेत  देशबन्ध्या गुरुवाहरुले गर्दथे । जति मान्छे बिरामी हुन्थे, देशबन्ध्या गुरुवाको खोजी हुन्थ्यो ।

त्यसैगरि थारु जातिका मानिसले सबै कृषिमा निर्भर रहेकाले त्यतिबेला पनि धान खेतीदेखि तोरी हिउँदे बालीमा रोग लागेपछि औषधि पाइदैनथ्यो । त्यसमा लागेको रोग हटाउनको लागि पनि थारु समुदायमा तिनै देशबन्ध्या गुरुवाहरुको माध्यमबाट पूजापाठ गरि रोग हटाइने गरेको बुढापाका थारु किसानहरु बताउँछन् । यसरी रोगव्यधालाई हटाउनको लागि र गाउँमा दिगो शान्ति स्थापना गर्नमा पनि देशबन्ध्या गुरुवाहरुको ठूलो भूमिका रहेको पाइन्छ ।

यतिमात्र नभएर त्यतिबेला देशबन्ध्या गुरुवाहरुले गाउँ–गाउँमा धेरैभन्दा धेरै गुरुवा, वैदवा पनि उत्पादन गर्ने गर्दथे रे । जसले गर्दा सर्वसाधारण मानिस समस्यामा पर्दा गुरुवाहरु खोज्नलाई दुःख नहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *