लेनिन भन्छन्– ‘बा सधैंका काला कम्युनिष्ट ! मेरो नाम कसरी वीपी रहन्थ्यो ?’

  
  प्रकाशित मितिः आइतवार, साउन १३, २०७०       | 215 Views   ||

Leninलेनिन बञ्जाडे
साहित्यकार/पत्रकार

के लेख्दै हुनुहुन्छ आजभोलि ?
–व्यस्तताले लेखनलाई अँठ्याएको छ । दुई वटा संस्मरण आधाउधीमै अड्किएर बसेका छन् । एउटा ‘डल्लो’ र अर्को ‘३५ मिनट’ । तर, लेख्नलाई अफिसबाट बिदै लिनुपर्छ । कदाचित बिदा लिइहालें भने ट्विटरले उम्किन दिन्न ।

के विषयमा केन्द्रित छन् नि ‘डल्लो’ र ‘३५ मिनट’ ?
–एउटा छोरो जन्मिँदाको संस्मरण हो । मेरो छोरो १ हजार ५ मध्ये एक भएर जन्मिएको हो, त्यसकै वरिपरि छ ।
अर्को ताप्लेजुङ जाँदा प्लेन चढेको अनुभव हो । ३५ मिनेट कसरी थेगें भन्ने विषयमा केन्द्रित छ ।

लेख्ने विषयवस्तु तपाइँलाई कसरी फुर्छ ?
–विषयवस्तु आफ्नै वरिपरि हुन्छन्, फुर्नुपर्दैन । म काल्पनिकभन्दा बढी यथार्थ र सकेसम्म आफ्नै तीन दशकको जीवनबारे लेख्न रुचाउँछु । किनकि आफ्नो जीवनभन्दा ठूलो ज्ञानको भण्डार अरु हुँदैन ।

पढ्न र लेख्न मनपर्ने विधा ?
–मलाई आख्यानले नै हो तान्ने । गैरआख्यानतिर आँखा दौडिन मान्दैनन्, त्यो मेरो कमजोरी पनि हो ।

आफूले लेखेका रचनाहरुमध्ये आफूलाई धेरै मन परेको एक रचना ?
–‘मकै’, ‘फिलिम’, ‘नाममा के छ र’ हुन् । यी तीनै रचनाले सिंगो लेनिन बोकेका छन् ।

कतिपयले लेनिन फिल्म लेख्दैछ भन्छन् नि, फिल्मी लाइनतिर नि लाग्या हो र ?
–लेख्दैछ होइन, लेखिसक्यो । यही भदौको पहिलो सातादेखि सुटिङ सुरु हुँदैछ ।

पाठकलाई सधैंभरि फुटकर रचनाले मात्रै ठग्ने कि केही कृति निकाल्ने योजना पनि छ ?
–कृति कुनै पनि लेखकको अन्तिम लक्ष्य हो । म पनि त्यो लक्ष्य नै ताकेर बामे सर्दैछु । आउँदा तीन वर्षभित्र एउटा सानोतिनो उपन्यास लेखिसक्छु । केही रिसर्च गर्नुपर्ने भएकाले अलि समय लाग्छ । त्यसको आउटलाइन कोरिसकेको छु ।

अरुका पुस्तक कत्तिको पढ्नुहुन्छ नि ?
पढ्छु । तर, सबैचाहिँ पढ्दिनँ । कसैले सिफारिस ग¥यो भने पढ्न छुटाउन्नँ ।

पछिल्लोपटक कुन पुस्तक पढ्नुभयो ?
–ब्रजेश दाइको ‘यायावर’ ।

‘यायावर’ मा खास के रहेछ ?
–एउटा कुण्ठित व्यक्ति जीवनभर फिरन्ते भएर भौतारिन्छ । ऊ समाजभन्दा आफूबाटै भागिरहेको हुन्छ । त्यही यायावरको कथा हो ।

कस्ता खालका पुस्तकहरु पढ्न बढी मन पराउनुहुन्छ ?
–उपन्यास ।

धेरै मन परेको कुनै एउटा पुस्तक ?
–‘कर्नाली ब्लुज ।’ यसलाई नेपाली औपन्यासिक लेखनको एउटा बेन्चमार्क मान्छु म ।

काठमाण्डौंका आलिसान महलमा बसिरहँदा दाङका बगरहरुमा बिताएका दिनहरुको याद चैं कत्तिको आउँछ नि ?
–यो प्रश्नको सुरुवातै गलत तथ्यबाट भयो । म अहिले पनि काठमाडौंमा दुइटा कोठा भाडामा लिएर बस्छु, जसमा मेरो मासिक तलबको एकचौथाइ सकिन्छ ।
र, मुख्य कुरा– ‘बगर’ एउटा सुन्दर इतिहास हो, जहाँ बसेर मैले तन्नेरी जीवनका धेरै व्यथा बिसाएको छु ।

‘फस्ट लभ’मा पहिलो प्रेमको खुबै बखान गरिएछ, पुस्तक प्रकाशन भएपछि श्रीमतीसँग दुई÷चार दिन बोलीचाली बन्द भो भन्ने बजार हल्ला छ, के हो साँचो कुरा ?
–बोलचालै बन्द भएको चाहिँ होइन । यसमा लेखिएका धेरै कुराबारे उनी अवगत थिइन् । उनले धेरै समयसम्म पढिनन् । जब पढिन्, भनिन्, ‘तिमीले जीवनमा धेरैलाई माया गरेछौ, तर तिम्लाई माया गर्ने त म मात्रै रहेछु ।’ कस्तो पीर पारी भने ।

लेनिनले मतदाता नामावलीमा नामै लेखाएनछ भनेर तपाईंका बा च्या पसलमा उफ्रिदै हुनुहुन्थ्यो, किन नलेखा’को नि ? कि तपैं पनि वैद्यवाला हो र ?
–हाहा । बाले सधैं फोन गरेर नाम लेखा त लेखा भनेर पेल्नुभो, मैले हुन्छ–हुन्छ भन्दै टारिरहें ।
अन्तिम दिन पनि फोन गरेर हकार्नुभो, म लाइनमै छु भनेर ढाँटें । एक हप्ता त कसो नथप्ला भनेको, यसका बाजे थप्दै थपेनन् ।

नाम चैं कसरी लेनिन भएछ, कि रसियन कमरेडको फ्यान हो ?
–बा सधैंका काला कम्युनिस्ट, मोहनविक्रमका सर्वकालीन कार्यकर्ता, मेरो नाम कसरी बीपी रहन्थ्यो होला र ? 😀 ।

प्रस्तुति  : विवश
प्रकाशित मिति : २०७० साउन १३ गते आइतबार

4 Comments

  • मान्पुर्को

    लेन्दाइका हरेक शव्द केलाई केलाई पढ्न मन लाग्छ l उनको बगर यात्रा देखिको पंखा हम l एक दिन दाइले कविता लेख्नेछन् अनि म मज्जा मानेर पढ्ने छु !

  • dev dangi

    लेनिनलाइ एउटा व्यक्ति मात्रै नभएर सिंगो समाज,परिवार,सस्था,अनि प्रेमको एक डोको भारि बोकेर हर्नोक को उकालो लागेको देख्दैछु म,बधाई छ तिम्लाई लेनिन त्यो डोको भित्र पिंध नभएको एउटा लोटा पनि छ,अनि मनभरी को भावनालाइ प्रसस्त माइलेज दिएर हाक्ने तिम्रा स्मूथ औला हरु पनि…..

Leave a Reply

Your email address will not be published. Required fields are marked *