२०३० चैत्र ३० गते बलेवा बाग्लुङमा जन्मिएका कवि भूपिन समकालीन नेपाली साहित्यका क्षेत्रमा स्थापित युवा कविको नाम हो । दुई दशकदेखि कविता, निबन्ध, कथा, गीत गजललगायतका साहित्यका विविध विधामा कलम चलाउन थालेका भूपिनले क्षतिग्रस्त पृथ्वी र मूल सडक–२०५३ र हजार वर्षको निद्रा– २०६६ कवितासङ्ग्रह एवम् र चौबिस रिल– २०६९ निबन्धसङ्ग्रह प्रकाशित गरिसकेका छन् । संरक्षक कविता आन्दोलन, अक्षर समूह चितवन लगायतका साहित्यिक संघ संस्थाहरुमा आबद्ध कवि भूपिनको यो कविता यसपालिको अंकमा–
किनार भत्किएको पुलमाथि बसेर बाढीको दादागिरी हेरिरहेछु
कविता नलेखेको धेरै भो
बाढीको कविता सोचिरहेछु ।
चकित छु
बाढीमा परिचित गन्ध रुँदै बगिरहेछ
बाढीमा परिचित फूलहरु डुब्दै उत्रदै गरिरहेछन्
मेरो हजुरबाको कुटे लौरी
आइते सार्कीको मैलो कछाड
कुमाल कान्छाको चक्र
बाढीमा फन्फनी घुमिरहेछन् ।
ओहो दुर्भाग्य
बाढीमा मेरो गाउँ पो बगिरहेछ ।
लाहुरे हुन गोरखपुर हिडेको कुनै युवकझैं
यो सहरमा आइपुग्छ
मलाई किनारमा जन्माएको काली गण्डकी ।
बगाएर ल्याएको छ आज त्यसले
आफन्तहरुको लास ।
आमाले हिजो मात्रै फोनमा भन्दै हुनुहुन्थ्यो
‘चुँडिएको छ गाउँको झोलुङ्गे पुल
बाटाहरु पुरिएका छन् पानीमुनि
छोरा, यो बर्खा त खस्लाजस्तो छ गाउँ बाढीमा ।’
एफएममा बजिरहेछ दीप श्रेष्ठको गायकी
हर रात सपनीमा ऐठन हुन्छ
गाउँमा सायद पैरो गयो कि ?
गाउँमा सायद पैरो गयो कि ?
मेरो त जीवनको मौसम बेपत्तासँग बिग्रिएको छ
मौसम विभाग भन्दैछ
‘अझै केही दिन मौसम प्रतिकूल रहनेछ ।
गाउँमा डुबानको आतङ्क जारी रहनेछ ।’
बाढीको कविता लेख्न खोज्दै थिएँ
कसरी लेख्नु
आफ्नै गाउँ बाढीले निलेको कुरा ?
आँसुका अक्षरहरु चुपचाप खस्दैछन् हृदयको पानामा
दुःखका हिक्काहरु गाउँदैछन् गहिरो उदासीको गीत
सरकार भन्दैछ
‘हिउँद पर्ख नागरिकहरु हो
बाढी थामिनेछ ।’
(सम्पूर्ण बाढीपीडितहरुमा समर्पित)
प्रकाशित मिति : २०७० साउन १३ गते आइतबार