मतदातासँग उम्मेदवारको दशैंमिलन

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 124 Views   ||

दाङ, असोज २४ । सौडियारको राजपुर गाउँका बासिन्दाहरुले गाउँको विकासमा ध्यान दिन उम्मेदवारहरुसँग आग्रह गरेका छन् । राजपुरबासीले आफ्नो गाउँमा विजुली, खानेपानी, सडकलगायतको विकास नभएको भन्दै आश्वासन मात्रै नभएर विकासका कार्यक्रम व्यवहारिकरुपमै ल्याउन माग गरेका छन् ।

बिहीबार राजपुर कुलापानी समितिको आयोजनामा राजपुरमा भएको दशैंमिलन तथा शुभकामना आदान प्रदान कार्यक्रममा स्थानीयबासीले यस्तो माग गरेका हुन् । उनीहरुले आफूहरु बत्तीमुनिको अँध्यारोजस्तै भएको गुनासो गरेका थिए ।

गाउँमा एम्बुलेन्स ल्याउने सडकसम्म नभएको, बबई नदीले वर्षेनी खेतबारी कटान गरिरहेकोजस्ता समस्या भएको भन्दै गाउँमा भोट माग्न आउने नेताहरुलाई विकास दिन आफूहरुले आग्रह गर्ने राजपुरबासीले बताए ।

राजपुरका महतवा सुरज चौधरीले कपासीमा थुपारिराखेको कोइलाका कारण आफूहरु मर्कामा परेको बताउनुभयो । ‘बाढी आउँदा कपासीमा थुपारेको कोइला बगेर आउँछ, चौधरीले भन्नुभयो– ‘बाढीसँगै कुलामा बगेर आउने कोइला मिसिएको पानीले गर्दा खेतबारीमा अनाज त के घाँससम्म पलाउँदैन, यसको समाधानतर्फ नेताहरुले ध्यान दिनुस् ।’

कार्यक्रममा एकीकृत नेकपा माओवादी केन्द्रीय सदस्य तथा क्षेत्र नं. ३ का उम्मेदवार निर्मल आचार्य ‘विमल’ले गाउँको विकासका लागि सबै एकजुट भएर राज्य तथा सरोकारवाला निकायलाई दबाब दिन भन्दै आफ्नो पार्टीले सहयोगका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो ।

आफ्नो पार्टीले विकास निर्माणका क्षेत्रमा पनि समानुपातिक हुनुपर्ने धारणा राख्दै आएको भन्दै उहाँले संघीयताले नै सबै क्ष्त्रको विकासका लागि ढोका खोल्ने बताउनुभयो । पहिचानसहितको संघीयतामा आदिवासी जनजाति, दलित, थारुले अधिकार खोज्दा विरोध गर्नेहरु जनताविरोधी रहेको भन्दै उहाँले भाषिक पहिचान, भौगोलिक पहिचान, जातीय पहिचानका कुरालाई संघीयता विरोधीहरुले बङ्ग्याएको र उनीहरुको भ्रमबाट सचेत रहनुपर्ने बताउनुभयो ।

कार्यक्रममा महतवा महासंघका सचिव बुद्धिराम चौधरी, सदस्य जगवीर चौधरी, क्षयरोग निवारण राजपुरका अध्यक्ष खिमलाल डाँगी, समाजसेवी राजकुमार थापा, राष्«िट्रय जनमोर्चाका सुरेश थापा, कांग्रेसका राजपुरका प्रतिनिधि पूर्णबहादुर रोका, पर्साका महतवा अम्मर डाँगी, संस्कृतिविद चिन्तामणि योगी, निमानन्द गैरेलगायतले बोल्नुभएको थियो ।

राजपुर कुलापानी समितिका अध्यक्ष शेरबहादुर चौधरीको अध्यक्षतामा एवं महतवा महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीको प्रमुख आतिथ्य एवम् सामुदायिक वन महासंघका केन्द्रीय उपाध्यक्ष भीमप्रकाश खड्काको विशिष्ट आतिथ्थमा भएको थियो । कार्यक्रमको सञ्चालन सचिव गोविन्द चौधरीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *