युवाहरुलाई चुनावमा होमिन जनसेनाका पूर्वकमाण्डरको निर्देशन

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 105 Views   ||

दाङ, असोज २६ । एकीकृत नेकपा (माओवादी) केन्द्रीय सदस्य तथा जनसेनाका पूर्वडिभिजन कमाण्डर धनबहादुर मास्की ‘राजेश’ले जनयुद्ध र जनआन्दोलनले उठाएका एजेण्डाहरुलाई लिएर संविधानसभा निर्वाचनमा होमिन युवाहरुलाई आग्रह गर्नुभएको छ ।

दाङ क्षेत्र नं. ५ को वाइसीएल भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वकमाण्डर राजेशले संविधानसभाको निर्वाचन पनि जनयुद्धकै एक पेचिलो मोर्चा भएकाले त्यसमा खरो उत्रिन युवाहरुलाई आग्रह गर्नुभएको हो ।

चुनावमा पैसाको लोभलालच र विकासको आश्वासन बाँडेर जनतामा आँखामा छारो नहाल्न विपक्षीहरुलाई आग्रह गर्दै राजेशले माओवादीले कुरा होइन काम गरेर देखाउने बताउनुभयो । उहाँले माओवादीलाई गालीगलौज गर्नेहरुलाई फेरि पनि दुइतिहाइ बहुमत ल्याएर देखाइदिने समेत दावी गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाओवादी केन्द्रीय सदस्य कुबेर ओलीले जनयुद्ध र जनआन्दोलनका उपलब्धिहरुको रक्षा गर्न आफूहरु संविधानसभाको चुनावमा होमिएको बताउनुभयो ।

वाइसीएल ५ नं. क्षेत्रका अध्यक्ष हरि चौधरीको अध्यक्षता एवम् एमाओवादी केन्द्रीय सदस्य धनबहादुर मास्की ‘राजेश’को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्षेत्र नं. ५ का एमाओवादी उम्मेदवार धिरज सेर्पाली, निर्वाचन परिचालन समितिका क्षेत्रीय संयोजक भीमबहादुर ओली ‘ड्राइभर’, थारुवान राज्यसमिति सचिवालय सदस्य प्रमोद धिताल, जनसेनाका पूर्व व्रिगेड कमाण्डर हिरालाल चौधरी ‘बज्र’ युवा परिचालन विभागका क्षेत्रीय इन्चार्ज सुशील क्षेत्री, वाइसीएल केन्द्रीय सदस्य आजाद केसीलगायतले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रमको सञ्चालन एमाओवादी धनौरी गाविस अध्यक्ष गोविन्द भण्डारीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *