रोल्पामा एमाओवादीको चुनावी अभियान तीव्र

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 83 Views   ||

नवीन लोचनमगर
रोल्पा, असोज २६ । एकीकृत नेकपा (माओवादी) रोल्पाले संविधानसभाको दोस्रो निर्वाचनको लागि चुनावी अभियानलाई तिब्र बनाएको छ । माओवादीका केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार कृष्णबहादुर महरा र अर्का केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार ओनसरी घर्तीमगर सहितको जिल्ला पार्टी गाउँगाउँमा पुग्न थालेको हो ।

जिल्लाकै सबैभन्दा विकट मानिने गाम गाविसमा पुगेर नेता महराले आन्तरिक पार्टी कार्यकर्ता भेटघाट गर्नुका साथै विभिन्न कार्यक्रमहरुमा समेत सम्बोधन गर्नुभयो ।

सम्बोधनको क्रममा नेता महराले गामको छुट्टै इतिहास भएको र जनयुद्ध सुरु गर्नको लागि यस गाविसले खेलेको महत्वपूर्ण भूमिका मूल्याङ्कन सहित यहीँबाट चुनावी अभियानको आरम्भ गरिएको महराको भनाई थियो ।

नेकपा–माओवादीको पुरानै तरिकाले युद्ध गर्ने कुरा अब सम्भव नभएको र उनीहरुले बहिष्कार गर्दैमा चुनावमा मतदान गर्न जनता नरोकिने ठोकुवा गर्नुभयो ।

रोल्पाको काँचुली फेर्नको लागि आफूसँग धेरै योजनाहरु रहेको बताउनुभयो । आफू सञ्चारमन्त्री रहँदा लिएको हातहातमा मोवाइल घरघरमा इन्टरनेटको नाराले केही गाउँहरुलाई छुननसकेकोले त्यो अभियान अहिले पनि जारी रहेको बताउनुभएको थियो ।

जिल्लाका विभिन्न ठाउँहरुमा सडक योजना पुग्न नसकेकोले त्यसलाई प्राथमिकताका साथ हेरिने उहाँको भनाई थियो । चुनावमा भाग लिएका सबै दलहरु कहिँ न कहीँ बिग्रेका भएपनि ती सबै दलहरु मध्ये आफूहरु नै राम्रो र देशको मूख्य जिम्मेवार शक्ति हुनुको नाताले विजयको लागि कसैले नरोक्ने बताउनुभयो ।

भेटघाटको क्रममा कार्यकर्ताहरुले विभिन्न गुनासो सहितको जिज्ञासा महरा समक्ष राखेका थिए ।

त्यसैगरी, निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार ओनसरी घर्तीमगर सहितको चुनावी अभियान टोली प्रचारप्रसारमा लागेको छ । क्षेत्र नं. २ को बागमारा, मिरुल लगायतका स्थानमा चुनावी अभियान सम्पन्न गरिसकेको उक्त टोलीले बृहत कार्ययोजना सहित अभियान जारी राखेको छ ।

मिरुलमा भएको एक सभामा उम्मेदवार घर्तीले महिलाहरुलाई आर्थिक, सामाजिक सबै हिसाबले नीति निर्माणको तहमा पु¥याउनको लागि पनि आफूलाई विजयी गराउनुपर्ने बताउनुभयो ।

जनताको मुद्दाहरुलाई सम्बोधन गर्ने कुरामा अन्य दलहरुले नमान्दा संविधान बन्न नसकेको भन्दै घर्तीले पहिचान सहितको संघीयता संघीयता सहितको संविधान र संविधान सभाको निर्वाचनबाट मुस्लिम, दलित, जनजाति, महिला, पीछडिएका, उत्पीडित वर्ग र सम्पूर्ण नेपाली जनताले चाहेको जनपक्षिय संविधान निर्माणका लागि रोल्पाली जनताले एकीकृत नेकपा (माओवादी)लाई अत्याधिक बहुमतबाट विजय बनाउनुपर्नेमा जोड दिनुभयो ।

साथै उहाँले जनतासँग भोट माग्न नभई समस्या र सुझाव सङ्कलन गर्ने अभियानमा लागेको स्पष्ट पार्नुभयो । नेतृ घर्तीले भन्नुभयो ‘हामी भोट माग्दैनौ आफ्नो योजना स्पष्ट बनाउँछौं कस्लाई दिने भन्ने कुरा तपाई जनताहरुले नै निर्णय गर्नुस् ।’ चुनावी अभियानको क्रममा घर्तीले जनता तथा कार्यकर्ताहरुसँगको भेटघाटलाई समेत तिब्र बनाउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *