दाङ, असोज २७ । धनौरी गाविसका डेढ सय बढी एमाले र कांग्रेसका कार्यकर्ताहरुले आज (आइतबार) एकीकृत नेकपा (माओवादी)मा प्रवेश गरेका छन् ।
धनौरी–१, चिलहरियामा आज आयोजित कार्यक्रममा एमालेका स्थानीय कार्यकर्ताहरु पूर्णबहादुर ओली, शालिकराम विक, कांग्रेस कार्यकर्ता सन्तोष विकलगायत डेढ सय बढी कार्यकर्ताहरु एमाओवादीमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई एमाओवादी दाङ क्षेत्र नं. ५ का उम्मेदवार धिरज सेर्पाली र क्षेत्रीय संयोजक भीमबहादुर ओलीले अविर लगाएर स्वागत गर्नुभएको थियो ।
सो अवसरमा उम्मेदवार धिरज सेर्पालीले उत्पीडित, उपेक्षित वर्ग, समुदाय र लिङ्गका पक्षमा लड्ने पार्टी एमाओवादी मात्र भएको भन्दै पछि पारिएकाहरु सबै आफ्नो पार्टीमा गोलबन्द भइरहेको बताउनुभयो । उहाँले भ्रमबश अरु पार्टीमा रहेका इमान्दार, पछि पारिएका समुदायका नेता कार्यकर्ताहरुलाई एमाओवादीमा आउन आग्रह गर्नुभयो ।
धनौरी गाविस अध्यक्ष गोविन्द भण्डारीको अध्यक्षता एवम् सञ्चालनमा भएको कार्यक्रममा एमाओवादी ५ नं. क्षेत्रका संयोजक भीमबहादुर ओलीले पनि बोल्नुभएको थियो । सो अवसरमा स्थानीयबासीले विभिन्न थारु नृत्य प्रदर्शन गरेका थिए ।