दाङ, असोज ३१ । एकीकृत नेकपा (माओवादी)को चुनावी अभियानअन्तर्गत आज बिहीबार क्षेत्र नं. ५ को बाघमारे– १ गुण्डलेमा जनसभा सम्पन्न गरेको छ ।
स्थानीय समाजसेवी कृष्णबहादुर सारुको अध्यक्षतामा भएको जनसभामा एमाओवादी केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतमले सम्बोधन गर्नुभएको थियो ।
सम्बोधनका क्रममा गौतमले चुनाव कोही व्यक्ति र पार्टीविशेषको सरकारमा जाने साधन नभएर शोषित र शोषक वर्गबीचको लडाइँ भएको बताउनुभयो ।
‘माओवादी विजयी हुनु भनेको श्रमजीवी जनताको अधिकार संविधानमा सुनिश्चित हुनु हो, उहाँले भन्नुभयो– ‘त्यसकारण किसान र गरिब जनताले माओवादीलाई जिताउनु जरुरी छ ।’
जनसभालाई ५ नं. निर्वाचन क्षेत्रका चुनावी कार्यदल संयोजक भीमबहादुर वली तथा पुरन्धारा गाविस इन्चार्ज प्रमोद धितालले पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रदीप वलीले गर्नुभएको थियो ।
वडा भेला
यसैबीच बाघमारे गाबिसको सिमसुन्दरपुरमा वडा नं. ४, ५, ६ र ७ को संयुक्त चुनावी भेला गाउँ कमिटी अध्यक्ष वीरेन्द्र जैशीको अध्यक्षतामा सम्पन्न भएको छ ।
भेलामा पार्टीका राज्यसमिति सल्लाहकार मोहन वली, नरबहादुर वलीलगायतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन गाउँ कमिटी सचिव बलबहादुर वलीले गर्नुभएको थियो । भेलाले १ सय ५१ सदस्यीय बुथस्तरीय प्रचारप्रसार समिति गठन गरेको छ ।