परिवर्तनलाई संस्थागत गर्न निर्वाचन अनिवार्य

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 72 Views   ||

दाङ, कार्तिक १ । एकीकृत नेकपा (माओवादी)का नेता एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महराले परिवर्तनलाई संस्थागत गर्नका लागि निर्वाचन अनिवार्य बनेको बताउनुभएको छ ।

चुनावी अभियानको दौरानमा आज (शुक्रबार) घोराही नगरपालिकाको वडा नं.९ स्थित लेटारमा आयोजित जनभेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता महराले यस्तो बताउनुभएको हो ।

अहिलेको निर्वाचनपछि बन्ने संविधानसभाले नयाँ संविधान जारी गर्नुका साथै देश विकासको काम पनि सँगसँगै गर्ने भन्दै नेता महराले जनताले आफ्ना सच्चा जनप्रतिनिधिहरु छान्ने बेला आएको बताउनुभयो ।

विगतमा पुरानै संविधान राख्न चाहने र नयाँ जनपक्षीय संविधान बनाउन खोज्नेहरुबीचको लडाँइका कारण संविधान बन्न नसकेको भन्दै महराले अबको संविधानसभामा जनपक्षीय संविधान बनाउनेहरुलाई पठाउनुपर्ने बताउनुभयो ।

उत्पीडित, उपेक्षित र पहिचान गुमाएका वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको हकअधिकार संविधानमा सुनिश्चित गर्न आफ्नो पार्टी कुनै पनि हालतमा पछि नहट्ने उहाँले बताउनुभयो ।

पार्टीले चुनावी घोषणापत्रमा समावेशी, समानुपातिक र सहभागितामूलक लोकतन्त्र, सामाजिक न्यायमा आधारित तीव्र आर्थिक विकास, स्थिर र भ्रष्टाचारमुक्त सरकार र प्रगतिशील राष्ट्रवादलाई मुख्य एजेण्डा बनाएको नेता महराले जानकारी दिनुभयो ।

कार्यक्रममा एकीकृत (माओवादी) क्षेत्र नं. ३ का उम्मेदवार निर्मल आचार्य ‘विमल’ले संविधान निर्माण र विकास निर्माणको कामलाई सँगसँगै अघि बढाउने भन्दै देशको नेतृत्व अब एमाओवादीले गर्ने बताउनुभयो ।

चुनावको मुखमा आफ्नो पार्टीले धेरै आश्वासन बाँड्दै हिड्ने भन्दा काम गरेर देखाउने भन्दै उम्मेदवार आचार्यले त्यसका लागि एकीकृत माओवादीलाई दुइ तिहाइ बहुमतले जिताउन सबैलाई आग्रह गर्नुभयो ।

वडा नं. ७, ८ र ९ का इन्चार्ज दयाजी रोकाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जगत दर्लामीले गर्नुभएको थियो भने ९ नं. वडा सचिव देवीरामले स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *