मोस्ट वान्टेडद्वारा एमाओवादी नेतामाथि गोली प्रहार

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 67 Views   ||

दाङ, कार्तिक २ । प्रहरीको मोस्ट वाण्टेडको सूचीमा रहेका व्यक्तिहरुले एकीकृत नेकपा (माओवादी) दाङका जिल्ला सदस्यमाथि शनिबार गोली हानेका छन् ।

एकीकृत नेकपा (माओवादी) दाङ जिल्ला सदस्य एवम् डुरुवा–६ भोजपुर वुथकेन्द्रका संयोजक हरिशचन्द्र चौधरीमाथि अपराधिक समूहले गोली प्रहार गरेका हुन् ।

डुरुवा–६ धम्कापुर निबासी ३८ बर्षीय चौधरीमाथि शनिबार साढे तीनबजेतिर घरछेऊमा गोरुलाई पानी खुवाउँदै गर्दा प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका पारस हमाल, जगत चौधरीलगायत ५ जनाको समूहमा आएको व्यक्तिहरुले गोली हानेको प्रहरीले बताएको छ ।

चौधरीको दायाँ खुट्टामा एउटा गोली लागेको र गर्दन तथा कुममा खुकुरीको गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

गोली प्रहारमा ५ जना युवाहरुको संलग्नता रहेको र तीमध्ये दुइजनाको पहिचान भैसकेको र उनीहरुलाई छिट्टै पक्राउ गर्ने जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

घटनामा संलग्न केही व्यक्तिहरु यसअघिका विभिन्न अपराधिक गतिबिधिमा संलग्न व्यक्ति भएको र प्रहरीको मोस्ट वाण्टेडको सूचीमा रहेको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिनुभयो ।

घटनापश्चात् दाङका प्रहरी प्रमुख एसपी सरदकुमार खत्रीको कमाण्डमा घटनास्थल र आसपासका नाका तथा पूर्वपश्चिम राजमार्गमा जनपथ र सशस्त्र प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

गम्भीर घाइते चौधरीको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

खुट्टाबाट गोली निकाल्न नसकिएको अस्पतालले बताएको छ । गोली हानेर सो समूह दक्षिणतर्फ भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

यसैबीच आफ्ना जिल्ला सदस्य एवम् डुरुवा–६ भोजपुर वुथकेन्द्रका संयोजक हरिशचन्द्र चौधरीमाथि शनिबार दिउँसो भएको सांघातिक आक्रमणको एकीकृत नेकपा (माओवादी) दाङले कडा शब्दमा भत्र्सना गरेको छ ।

एकीकृत नेकपा (माओवादी) दाङका संयोजक निर्मल आचार्य ‘विमल’ले शनिबार एक विज्ञप्ती जारी गरी आफ्ना जिल्ला सदस्यमाथि ज्यान मार्ने उद्देश्यले भएको गोली प्रहारको भत्र्सना गर्नुभएको हो ।

संविधानसभा निर्वाचनको मुखमा पार्टीका सक्रिय कार्यकर्तामाथि भएको गोली प्रहार निर्वाचन विथोल्ने र एमाओवादीलाई कमजोर बनाउने षड्यन्त्रअनुसार भएको भन्दै विज्ञप्तीमा दोषीहरुलाई तत्काल पक्राऊ गरी कडा कार्बाही गर्न प्रशासनसँग माग गर्नुभएको छ ।

गाउँगाउँमा निर्वाचनसम्बन्धी कार्यक्रमहरु चलिरहेको बेला दिनदहाडै भएको आक्रमणप्रति प्रशासनले वेवास्ता गरे त्यसको परिणाम गम्भीर हुने भन्दै आचार्यले एमाओवादीलाई कमजोर नठान्न चेतावनीसमेत दिनुभएको छ ।

एमाओवादी जिल्ला संयोजक निर्मल आचार्य ‘विमल’द्वारा हस्ताक्षरित विज्ञप्तीमा घाइते भएका चौधरीलाई उधृत गर्दै आक्रमण गर्नेहरुमा पारस हमाल, जगत चौधरीलगायतका अपराधीहरु संलग्न रहेको समेत उल्लेख गरिएको छ ।

यसैबीच एकीकृत नेकपा (माओवादी) क्षेत्र नं. ४ का उम्मेद्वार रामजी चौधरी ‘मिलन’ र क्षेत्रीय संयोजक नरबहादुर पुन ‘तारा’ले संयुक्त विज्ञप्ती जारी गरि घटनाको घोर निन्दा गर्दै दोषीहरुलाई तत्काल पक्राऊ गर्न प्रशासनसमक्ष माग गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *