पहिचानसहितको संघीयताका मुद्दामा नतर्सिन आग्रह

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 67 Views   ||

देउखुरी, कात्र्तिक २ । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता कृष्णबहादुर महराले आफ्नो पार्टीले सारेको पहिचानसहितको संघीयतासँग नतर्सिन आग्रह गर्नुभएको छ ।

एकीकृत नेकपा माओवादी दाङ क्षेत्र नं. २ ले शनिबार लालमटियामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्री महराले पहिचानसहितको संघीयताले पछि परेका वर्ग, जाति, लिङ्ग र समुदायको उत्थान हुने हुने बताउनुभयो ।

पहिचानसहितको संघीयताले विवाद होइन एकता कायम गर्ने महराले बताउनुभयो । ‘हामीले उठाउँदै आएको पहिचानसहितको संघीयताबारे कतिपयलाई भ्रम पनि परेको छ, उहाँले भन्नुभयो– त्यस्तो भ्रममा परेर वा जानी जानी देशलाई निकास नदिने कुविचारले अरुलाई भ्रममा पार्ने काम कसैले नगरे हुन्छ ।’

पछिल्लो पटक आफ्नो पार्टीमा आदीवासी तथा जनजाति समुदायका नेता, कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको चर्चा गर्दै नेता महराले आफ्नो पार्टीबाट मात्रै आदिबासी जनजाति तथा पछि पारिएकाहरुको अधिकार स्थापित हुने बताउनुभयो ।

आफ्नो पार्टी सरकारमा रहँदा एकपटक मात्रै आफ्नो नीति तथा कार्यक्रम ल्याउन पाएको चर्चा गर्दै महराले अरु कांग्रेस एमालेले धेरै पटक नीति कार्यक्रम र बजेट ल्याउँदा पनि जनताको पक्षमा निकै कम काम गरेको बताउनुभयो ।

आफूहरु सरकारमा हुँदा अरुले काम गर्न नदिएको भन्दै उहाँले जनताले स्पष्ट बहुमत दिएपछि आफ्नो पार्टीले छोटै समयमा देश विकासमा ठूलो परिवर्तन ल्याउने बताउनुभयो ।

सिसहनिया गाविस अध्यक्ष सूर्यप्रकाश थापाको अध्यक्षतामा भएको कार्यक्रममा एमाओवादी क्षेत्र नं. २ का उम्मेदवार होमबहादुर पुन रोहित, क्षेत्रीय संयोजक लुमबहादुर कार्की बद्रीले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन लालमटिया गाविस अध्यक्ष श्यामेश चौधरीले गर्नुभएको थियो ।

एमाओवादीमा प्रवेश
यसैबीच एमालेका लालमटिया गाविसका निवर्तमान उपाध्यक्ष धर्मराज अधिकारी र स्थानीय युवा ज्ञानु केसीको नेतृत्वमा लालमटिया र सिसहनियाका एमाले, कांग्रेस, वैद्य माओवादीलगायतका विभिन्न पार्टीका १ सय ३९ जना कार्यकर्ताहरु एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरुलाई एमाओवादी नेता कृष्णबहादुर महरा, क्षेत्र नं. २ का उम्मेदवार होमबहादुर पुनलगायतले टीका लगाएर स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *