एमाओवादीद्वारा दोषीमाथि कार्बाही माग

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 71 Views   ||

दाङ, कार्तिक २ । एकीकृत नेकपा (माओवादी) दाङ जिल्ला सदस्य एवम् डुरुवा–६ भोजपुर वुथकेन्द्रका संयोजक हरिशचन्द्र चौधरीमाथि शनिबार दिउँसो भएको सांघातिक आक्रमणको एकीकृत नेकपा (माओवादी) दाङले कडा शब्दमा भत्र्सना गरेको छ ।

एकीकृत नेकपा (माओवादी) दाङका संयोजक निर्मल आचार्य ‘विमल’ले शनिबार एक विज्ञप्ती जारी गरी आफ्ना जिल्ला सदस्यमाथि ज्यान मार्ने उद्देश्यले भएको गोली प्रहारको भत्र्सना गर्नुभएको हो ।

संविधानसभा निर्वाचनको मुखमा पार्टीका सक्रिय कार्यकर्तामाथि भएको गोली प्रहार निर्वाचन विथोल्ने र एमाओवादीलाई कमजोर बनाउने षड्यन्त्रअनुसार भएको भन्दै विज्ञप्तीमा दोषीहरुलाई तत्काल पक्राऊ गरी कडा कार्बाही गर्न प्रशासनसँग माग गर्नुभएको छ ।

गाउँगाउँमा निर्वाचनसम्बन्धी कार्यक्रमहरु चलिरहेको बेला दिनदहाडै भएको आक्रमणप्रति प्रशासनले वेवास्ता गरे त्यसको परिणाम गम्भीर हुने भन्दै आचार्यले एमाओवादीलाई कमजोर नठान्न चेतावनीसमेत दिनुभएको छ ।

एमाओवादी जिल्ला संयोजक निर्मल आचार्य ‘विमल’द्वारा हस्ताक्षरित विज्ञप्तीमा घाइते भएका चौधरीलाई उधृत गर्दै आक्रमण गर्नेहरुमा पारस हमाल, जगत चौधरीलगायतका अपराधीहरु संलग्न रहेको समेत उल्लेख गरिएको छ ।

यसैबीच एकीकृत नेकपा (माओवादी) क्षेत्र नं. ४ का उम्मेद्वार रामजी चौधरी ‘मिलन’ र क्षेत्रीय संयोजक नरबहादुर पुन ‘तारा’ले संयुक्त विज्ञप्ती जारी गरि घटनाको घोर निन्दा गर्दै दोषीहरुलाई तत्काल पक्राऊ गर्न प्रशासनसमक्ष माग गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *