डुरुवामा एमाओवादीद्वारा विरोध सभा

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 70 Views   ||

दाङ, कार्तिक ३ । पार्टीका जिल्ला सदस्य हरिशचन्द्र चौधरीमाथि भएको गोली प्रहारको विरोधमा एकीकृत नेकपा (माओवादी) दाङले आइतबार विरोध सभा गरेको छ ।

गोली प्रहार भएको ठाउँ डुरुवा–६, धम्कापुर स्कूलमा आयोजित विरोध सभामा एमाओवादी नेताहरुले घटना सुनियोजित भन्दै दोषीमाथि कडा कार्बाही गर्न माग गरेका छन् ।

कार्यक्रममा बोल्दै एकीकृत नेकपा (माओवादी) का केन्द्रीय सदस्य तथा दाङका इन्चार्ज जीवन गौतमले निर्वाचनसँगै एमाओवादीप्रतिको जनलहरबाट अत्तालिएकाहरुले सुनियोजितरुपमा आफ्ना कार्यकर्तालाई मार्ने उद्देश्यले आक्रमण गरेको बताउनुभयो ।

अपराधिक गिरोहले आक्रमण गरेको आवरण देखाएर राजनीतिक प्रतिशोध साँध्ने र एमाओवादीलाई तर्साएर चुनाव जित्ने सपना साँचेकाहरुले आफ्ना कार्यकर्तामाथि गोली प्रहार गरेको भन्दै गौतमले उनीहरुको षड्यन्त्र परास्त गर्न आफूहरु सक्षम रहेको बताउनुभयो ।

चुनाव नजिकिदै गर्दा माओवादीप्रतिको आकर्षणबाट अत्तालिएकाहरुले अरु कुनै उपाय नलागेपछि अपराधिक क्रियाकलापमा उत्रिएको उहाँको भनाइ छ ।

थारुवान राज्यसमिति सदस्य गिरिराज केसीको अध्यक्षता भएको कार्यक्रममा बोल्दै एकीकृत (माओवादी) क्षेत्र नं. ४ का उम्मेदवार रामजी चौधरी ‘मिलन’ले आफ्ना कार्यकर्तामाथि गोली प्रहार गर्नेहरुलाई तत्काल कार्बाही गर्न प्रशासनसमक्ष माग गर्नुभयो ।

विरोध सभामा थारुवान राज्यसमिति सदस्य भीमकुमारी बाँठामगर ‘निशाना’, तुलसी डाँगी ‘मिलन’, वाइसीएल केन्द्रीय सदस्य तथा ५ नं. क्षेत्रीय इन्चार्ज डिल्लीराज खड्का ‘आजाद’, एमाओवादी राज्यसमिति सदस्य ध्रुव आचार्य, शैक्षिक गणतान्त्रिक मञ्च दाङका अध्यक्ष नारायण भण्डारीलगायतले घटनाको भत्र्सना गर्दै दोषीमाथि कडा कार्बाही गर्न माग गर्नुभयो ।

एमाओवादी मानपुर गाविसका अध्यक्ष शिवानन्द डाँगीको सञ्चालनमा भएको कार्यक्रममा डुरुवा गाविसका सचिव शिव सुवेदी स्वागत गर्नुभएको थियो ।

यसैबीच नेपालगञ्जमा उपचार गराइरहनुभएका घाइते चौधरीको अवस्था खतरामुक्त रहेको एमाओवादी क्षेत्र नं. ४ का संयोजक नरबहादुर पुन ‘तारा’ले जनाउनुभयो । खुट्टामा लागेको गोली निकालिसकिएको र क्रमिक सुधार भइरहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *