एमाओवादी उत्पादन र देश विकास अभियानमा होमियो– प्रभाकर

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 100 Views   ||

दाङ, कार्तिक ५ । एकीकृत नेकपा (माओवादी)का केन्द्रीय सदस्य एवम् रुकुम क्षेत्र नं. २ का उम्मेदवार जनार्दन शर्मा ‘प्रभाकर’ले आफ्नो पार्टी उत्पादन र देश विकासको अभियानमा होमिएको बताउनुभएको छ ।

अरु पार्टीले जस्तो विकासको मुद्दालाई चुनावी नारा बनाएर एमाओवादीले आश्वासन नबाँडेको भन्दै नेता प्रभाकरले आफ्नो पार्टीले हेटौंडा महाधिवेशनबाटै उत्पादन र विकासको कार्यनीति पारित गरेर देशको आर्थिक समृद्धिका लागि होमिसकेको बताउनुभयो ।

मंगलबार पश्चिम दाङको श्रीगाउँमा आयोजित क्षेत्र नं. ५ का पार्टी सदस्यहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पाँच वर्षभित्रमा विकासको जग बसाल्ने, १० वर्षमा मध्यम स्तरको विकास गर्ने र ४० वर्षमा समृद्ध एवम् विकसित देश निर्माण गर्ने पार्टी घोषणा कार्यान्वयनका लागि होमिन कार्यकर्ताहरुलाई निर्देशन गर्नुभयो ।

आफ्नो पार्टीको स्पष्ट बहुमतको सरकार जनअपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका नेता प्रभाकरले अबको निर्वाचनबाट एमाओवादीलाई स्पष्ट बहुमत दिएर पठाउन मतदाताहरुलाई अपील गर्नुभयो ।

केन्द्रीकृत राज्यव्यवस्थाले उत्पीडित, उपेक्षित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायलाई राज्यको पहुँचभन्दा धेरै टाढा राखेको भन्दै उहाँले पहिचान र अपनत्वसहितको संघीय प्रणाली मात्र सबैको सहज पहुँचमा हुने बताउनुभयो ।

आफूहरु सरकारमा रहँदा दाङलगायत राप्ती क्षेत्रको विकासका लागि निकै पहल गरेको भन्दै नेता प्रभाकरले मध्यपहाडी लोकमार्गको शाखा सडकको रुपमा तुलसीपुर–सुर्खेत–दिपायल जोड्ने सडक निर्माणलाई आफ्नो पार्टीले घोषणा पत्रमै उल्लेख गरिसकेको बताउनुभयो ।

०६४ को संविधानसभा निर्वाचनमा पाँचवटै क्षेत्र जितेको एमाओवादीले यसपटक पनि सबै क्षेत्र जित्ने भन्दै नेता प्रभाकरले उच्च मनोबलका साथ कार्यक्षेत्रमा खट्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

प्रशिक्षण कार्यक्रममा एमाओवादी केन्द्रीय सदस्य एवम् थारुवान राज्यसमिति संयोजक जगप्रसाद शर्मा ‘अपार’ले अबको देशको नेतृत्व गर्न एमाओवादीको विकल्प कोही नभएको बताउनुभयो ।

स्थिर सरकार, समावेशी, समानुपातिक सहभागिता एवम् सामाजिक न्याय र देशको आर्थिक समृद्धिका लागि एमाओवादीलाई स्पष्ट बहुमत आवश्यक रहेको भन्दै नेता शर्माले त्यसका लागि एमाओवादीलाई जिताउन आग्रह गर्नुभयो ।

एमाओवादी क्षेत्रीय संयोजक भीमबहादुर ओलीको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नं. ५ का उम्मेदवार धिरज सेर्पालीलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन थारुवान राज्यसमिति सचिवालय सदस्य प्रमोद धितालले गर्नुभएको थियो ।

एमाओवादीमा प्रवेश

यसैबीच विभिन्न पार्टी तथा स्वतन्त्र व्यक्तिहरु एकीकृत नेकपा (माओवादी)मा प्रवेश गरेका छन् । यस क्रममा पवननगरबाट ठाकुर कुमालको नेतृत्वमा ५० जना, पुरन्धारा, गोलटाकुरी र तुलसीपुरबाट कांग्रेस, एमालेलगायतका पार्टीबाट १ सय बढीले एमाओवादीमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई एमाओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’ र क्षेत्र नं. ५ का उम्मेदवार धिरज सेर्पालीले टीका लगाएर स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *