घोराहीमा उम्मेदवारको घरदैलो

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 94 Views   ||

दाङ, कार्तिक ५ । चुनावी अभियानको क्रममा एमाओवादी क्षेत्र नं. ३ को अभियान टोलीले मंगलबार घोराही बजारमा घरदैलो सञ्चालन गर्नुका साथै वडा नं. १० को ट्राफिकचोकस्थित सुकुम्बासी बस्तीमा भेटघाट कार्यक्रम गरेको छ ।

एमाओवादी क्षेत्र नं.३ का उम्मेदवार निर्मल आचार्य ‘विमल’को नेतृत्वमा गएको टोलीले स्थानीयबासीका समस्या बुझ्नुका साथै संविधानसभा निर्वाचनमा एमाओवादीलाई स्पष्ट बहुमत प्रदान गर्न आग्रह गरेको थियो ।

जभेटघाटका क्रममा उम्मेदवार आचार्यले पछि पारिएका समुदाय, उपेक्षित, उत्पीडित क्षेत्र, दलित, महिला र जनजाति तथा आम गरिब वर्गको पक्षमा संविधान बनाउन एमाओवादीलाई जिताउन आग्रह गर्नुभयो ।

जनपक्षीय संविधान बनाउने र संमग्र देशको विकासका लागि एमाओवादीले स्पष्ट मार्गचित्र तयार पारिसकेको भन्दै उहाँले अब बन्ने संविधान सिमान्तकृत जनताको बन्नेछ भन्नुभयो ।

अबको एमाओबादीको क्रान्ति भनेको आर्थिक क्रान्ति भएका कारण आर्थिक क्रान्तिको एजेन्डा ल्याएर आफुहरु जनताका बिचमा उभिएको बताउनुभयो ।

दाङका पाँचवटै निर्वाचन क्षेत्रमा दलित, महिला, जनजाति मगर, थारु समुदायका नेताहरुलाई एमाओवादीले उम्मेदवार बनाएको भन्दै उहाँले आफ्नो पार्टीले व्यवहारमै काम गरेर देखाउने बताउनुभयो ।

दाङमा अन्तर्राष्ट्रिय विमालस्थलका लागि सर्वे, योजना निर्माण, घोराही–थवाङ सहिदमार्ग, घोराहीको राप्ती उपक्षेत्रीय अस्पताल, तुलसीपुरको अञ्चल अस्पताल, टरिगाउँ विमानस्थलको स्तरोन्नतिजस्ता विकास निर्माणका कार्य एमाओवादीको अगुवाइमा भएको आचार्यले बताउनुभयो ।

कार्यक्रममा भूमि अधिकार मञ्च दाङकी अध्यक्ष निर्मला विक, गाउँ मञ्चकी अध्यक्ष रचना कुमाललगायतले बोल्नुभएको थियो ।

यसैबीच अभियानकै क्रममा उम्मेदवारसहितको टोलीले घोराही–११ भरतपुर, हस्पिटल रोड, गणेशमन्दिर रोड, निमा हल रोडलगायतमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *