स्पष्ट बहुमत नहुँदा संविधान बन्न नसकेको भनाइ

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 76 Views   ||

एकीकृत नेकपा माओवादीका नेता एवं पूर्वशान्तिमन्त्री जनार्दन शर्मा प्रभाकरले विगतको संविधानसभामा जनताले स्पष्ट बहुमत नदिंदा संविधान बन्न नसकेको बताउनुभएको छ ।

संविधान निर्माण गर्न दुई तिहाइ बहुमत चाहिने भए पनि जनताले परिवर्तन वा यथास्थितिवादी कुनै पनि पक्षमा दुई तिहाइ मत नदिएकाले संविधान बन्न नसकेको बताउनुभयो ।

एमाओवादी क्षेत्र नम्बर २ दाड.ले आज बधुवार रामपुर बजारमा गरेको जनसभालाई सम्वोधन गर्दै उहाँले अब जनताले परिवर्तनको पक्षमा दुई तिहाइ मत दिनुपर्ने बताउनुभयो ।

अब परिवर्तन पक्षधर शक्तिहरुलाई दुई तिहाई र माओवादीलाई बहुमत दिएर जनताले अधिकारसहितको संघीयता र देशको आर्थिक समृद्धिका लागि सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

संविधानसभाको यो दोस्रो नभई अन्तिम निर्वाचन भएकाले अब बन्ने संविधानसभाले जसरी पनि संविधान बनाउने नेता शर्माले बताउनुभयो । आफ्नो पार्टीमा मजबुत एकता, जनपक्षीय एजेण्डा, देशब्यापी संगठन, जनसमर्थन र विश्वासयोग्य नेतृत्व भएकाले आफूहरुले चुनाव जित्ने उहाँले बताउनुभयो ।

जनता समृद्ध नभइ देश समृद्ध नहुने र देश समृद्ध नभइ राष्टियता संरक्षण हुननसक्ने भन्दै उहाँले जनताको जीवनस्तर बदल्न र देश बचाउन पनि आर्थिक समृद्धिको बाटोमा अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । हिजो जनयुद्धको बलमा राजतन्त्र अन्त्य भएको उल्लेख गर्दै उहाँले हतियारको होइन समृद्धिको युद्ध लड्नुपर्ने बेला आएको बताउनुभयो ।

एमाओवादी रामपुर गाउँ समिति अध्यक्ष भेषराज थापाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार शुकबहादुर रोका, क्षेत्र नम्बर २ का उम्मेदवार होमबहादुर पुन रोहित, नेपाल बुद्धिजीवी संगठनका बरिष्ठ केन्द्रीय उपाध्यक्ष कुलानन्द गिरीलगायतले बोल्नुभएको थियो ।

गाउँ कमिटी सहसचिव हरि रिजालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सहजीकरण लक्ष्मीपुर गाउँ कमिटी अध्यक्ष वसन्त अधिकारीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *