दाङ, कार्तिक ६ । चुनावी अभियानका क्रममा एकीकृत नेकपा (माओवादी) क्षेत्र नं. ३ ले आज बुधबार हापुरका औलडाँडा, बिजौरीडाँडा र गुर्जेमा जनभेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
जसअनुसार हापुर वडा नं. ६ र ७ को शिवपुरमा, वडा नं. १, २ र ५ को बिजौरीडाँडामा र २ र ३ को गुर्जेमा सम्पन्न भएको हो ।
जनभेटघाट तथा जनसभामा एनेकपा (माओवादी) नेता जनार्दन शर्मा ‘प्रभाकर’, क्षेत्र नं. ३ का उम्मेदवार निर्मल आचार्य ‘विमल’लगायतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा नेता प्रभाकरले विगतको संविधानसभामा जनताले स्पष्ट बहुमत नदिंदा संविधान बन्न नसकेको भन्दै अबको निर्वाचनमा एमाओवादीलाई स्पष्ट बहुमत दिन आग्रह गर्नुभयो ।
भेटघाटका क्रममा एमाओवादी केन्द्रीय सदस्य तथा क्षेत्र नं. ३ का उम्मेदवार निर्मल आचार्य ‘विमल’ले देशको नेतृत्व एमाओबादीले मात्र गर्न सक्ने भन्दै स्पष्ट जनमत दिएर अनुमोदन गरिदिन मतदातालाई आग्रह गर्नुभयो ।
चुनावको मुखमा विकासका आश्वासन बाँड्ने नभई आफूहरु पार्टीको कार्यनीति नै उत्पादन र देश विकासमा केन्द्रीत गरेर अघि बढेको बताउनुभयो ।
कार्यक्रमहरुमा थारुवान राज्यसमितिका सदस्य विश्वराज न्यौपाने, तुलसी डाँगी ‘मिलन’, जिल्ला सदस्यहरु हेमराज गौतम, अर्जुन दाहाल, तिलक ओली, शक्तिराम डाँगीलगायतले बोल्नुभएको थियो ।
सबै कार्यक्रमको अध्यक्षता हापुर गाविस अध्यक्ष राजु परियारले गर्नुभएको थियो ।
यसैबीच एमाओवादी नेता प्रभाकर, दाङ ३ का उम्मेदवार निर्मल आचार्यलगायतको टोलीले गत साता निधन हुनुभएका नेकपा–माओवादीका केन्द्रीय सल्लाहकार शिवराज गौतमप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
हापुरस्थित गौतमको घरमा पुगी नेताहरुले उहाँप्रति श्रद्धाञ्जलीका साथै परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको थियो ।